खोटाङमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ स्थित सापातेलमा मृत फेला परेका दुई बालबालिकाको शव चिहानबाट निकालेर प्रहरीले अनुसन्धान शुरू गरेको छ।

खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान शुरू  गरेको छ।

साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र ६ वर्षीय छोरा मेगराज जंगलमा मृत भेटिएका थिए। यसबारे प्रहरीलाई जानकारी नै नदिएर दाहसंस्कार गरिएपछि प्रहरीले घटनाको अनुसन्धान शुरू गरेको हो। 

यसै क्रममा आइतबार दाहसंस्कार गरिएको स्थानबाट शव उत्खनन् गरेर प्रहरीले अनुसन्धान शुरू गरेको वडा नम्बर ३ का पूर्ववडाध्यक्ष इन्द्रबहादुर बस्नेतले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले दुई जनाको मृत्यु हुने गरी भएको घटनाबारे प्रहरी प्रशासनलाई जानकारी नै नदिएको विषय थाहा पाएपछि अनुसन्धानका लागि शव उत्खनन् गरिएको बताए। 

“सापातेलमा भएको घटनाबारे शव अन्त्येष्टि गरिसकेपछि मात्रै प्रहरीमा जानकारी प्राप्त भयो। दुर्घटना तथा आत्महत्याका घटनामा ज्यान गुमाएका मृतकको शव परीक्षणपछि मात्रै कानूनी प्रक्रिया पूरा गरेर दाहसंस्कार गर्नुपर्ने प्रावधान छ”, उनले भने। 

गत बिहीबार बस्नेतका तीन छोराछोरीसहित ६ जना बालबालिका सम्पर्कविहीन भएका थिए। सोही दिन खोजी गर्ने क्रममा साँझ अन्य चार जना नजिकैको ओडारमा सकुशल पाइए पनि दुई जना मृत भेटिएका थिए।