देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना

अहिले काठमाडाैँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ।

काठमाडाैँ– अहिले काठमाडाैँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसले गर्दा देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ।

सोमबार दिनभर देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै, राति पनि देशभर साधारणतया बदली रहनेछ। मधेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभाग तथा मधेश प्रदेशलगायत कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।