अचेत अवस्थामा बसबाट झारिएका एक वृद्धको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बनकेवाचोकमा अचेत अवस्थामा बसबाट झारिएका एक वृद्धको मृत्यु भएको छ।

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एक वृद्धको मृत्यु भएको छ। बसबाट अचेत अवस्थामा झारिएका ती वृद्धलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार, मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२, मालागिरिका करिब ७० वर्षीय गुञ्जबहादुर विक हुन्। उनी कास्कीको गगनगौंडाबाट तनहुँको दुलेगौंडातर्फ आइरहेको बसमा अचेत अवस्थामा भेटिएका थिए।

प्रहरीले उद्धार गरी उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र पुर्‍याए पनि उनलाई बचाउन नसकिएको हो। प्रहरी निरीक्षक पोषण थापाले दिएको जानकारीअनुसार, विक शुक्लागण्डकी नगरपालिका–६, वयामस्थित छोरीको घरमा बस्दै आएका थिए।

गगनगौंडाबाट उनी बन्केवाचोकका लागि बस चढेका थिए। बसमा यात्रा गर्दा उनले केही पटक बान्ता गरेको प्रत्यक्षदर्शीले बताएका छन्।