मधेशमा धान रोपाइँ २० प्रतिशतले घट्यो, देशभर ७ प्रतिशत कम

मधेश प्रदेशमा गत वर्ष यस अवधिमा ९७ प्रतिशत रोपाइँ सकिएकोमा यस वर्ष ७६.५४ प्रतिशत मात्रै रोपाइँ भएको छ।

मधेशमा धान रोपाइँ २० प्रतिशतले घट्यो, देशभर ७ प्रतिशत कम
अमरेन्द्रकुमार यादव/रासस
हर्दिनाथ आसपासको क्षेत्रमा हरियाली देखिएको धान खेतको फाँट।

काठमाडौँ– यस वर्ष मधेश प्रदेशमा धान रोपाइँमा ठूलो गिरावट आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार, साउन २५ सम्म मधेशमा गत वर्षको तुलनामा २०.४६ प्रतिशत कम धान रोपाइँ भएको छ। यो गिरावटले यस प्रदेशको कृषि उत्पादनमा नकारात्मक असर पर्न सक्ने देखिएको छ।

गत वर्ष यसै अवधिसम्म मधेशमा ९७ प्रतिशत रोपाइँ सकिएको थियो। तर, यस वर्ष ७६.५४ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। देशभर भने गत वर्षको तुलनामा यस वर्ष हालसम्म ७ प्रतिशत कम धान रोपाइँ भएको छ। देशभर १३ लाख ७८ हजार ९६६ हेक्टर जमिनमा धानखेती हुने गरेकामा हालसम्म १२ लाख ५४ हजार ८८६ हेक्टरमा मात्र रोपाइँ सकिएको छ।

मधेशको तुलनामा अन्य प्रदेशमा भने धान रोपाइँ सन्तोषजनक नै देखिएको छ। सुदूरपश्चिम प्रदेशमा यस वर्ष शतप्रतिशत धान रोपाइँ सकिएको छ। यस प्रदेशमा एक लाख ७५ हजार ६५२ हेक्टर जमिनमा धानखेती हुन्छ।

लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको यसै अवधिको ९८ प्रतिशतसँग लगभग बराबर हो। कर्णाली प्रदेशमा ९८.४ प्रतिशत रोपाइँ सकिएको छ, जुन गत वर्षको ९९ प्रतिशतको हाराहारीमा छ। 

बाँकी प्रदेशहरूमा भने गत वर्षभन्दा केही कम रोपाइँ भएको छ। कोशी प्रदेशमा ९४.४२ प्रतिशत रोपाइँ भएको छ। गत वर्षको यहाँ ९८ प्रतिशत रोपाइँ भएको थियो। बागमती प्रदेशमा ९३.५६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, जबकि गत वर्ष ९९ प्रतिशत थियो। गण्डकी प्रदेशमा ९२.७७ प्रतिशत रोपाइँ सकिएको छ, जुन गत वर्षको ९७ प्रतिशतभन्दा कम हो।