दुखाइको उपचार गर्ने भन्दै खुलेका अस्पताल तथा क्लिनिकमा योग्यताबिनाका जनशक्तिले नामअघि 'डाक्टर' लेखेर उपचार गर्दा बिरामीको पैसा मात्र बर्बाद भइरहेको छैन, स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको छ।
काठमाडौँ– कीर्तिपुरका आनन्द महर्जन (५३)लाई लामो समयदेखि गर्दन, जोर्नी र मेरुदण्डको असह्य दुखाइ थियो। हिँडडुल गर्नै नसक्ने अवस्थामा पुगेपछि भने उपचारको खोजीमा लागे। उनले फेसबुकमा सोह्रखुट्टेस्थित ‘स्पार्क हेल्थ होम’को विज्ञापन देखे। त्यहाँ ‘बिनाअपरेसन र साइड इफेक्ट ढाड, कम्मर, घुँडा दुखेको उपचार गरिने’ दाबी गरिएको थियो। उनी हेल्थ होमको कालीमाटी शाखामा पुगे।
त्यहाँ आनन्दलाई ६०० रुपैयाँ लिएर डा. गीता केसीको ओपीडी टिकट थमाइयो। डा. केसीले तत्काल एमआरआई गर्न सुझाइन्। केसीले भनेकै ठाउँमा १२ हजार रुपैयाँ तिरेर उनले एमआरआई गराए।
तर रिपोर्टमा कुनै गम्भीर समस्या देखिएन। त्यैपनि थप उपचार आवश्यक रहेको भन्दै उनलाई विभिन्न थेरापी गराइयो र औषधि लेखियो। एक महिनासम्म चलेको उपचारमा करिब ५० हजार रुपैयाँ खर्च गरे पनि दुखाइ उस्तै थियो।
त्यसपछि, थप सल्लाह र उपचारका लागि उनी ह्याम्स अस्पताल पुगे। त्यहाँ पुगेपछि थाहा पाए– उनले ‘डाक्टर’ ठानेकी गीता केसी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकी चिकित्सक नै होइन रहिछन्। केसीले ‘ब्याचलर अफ नेचुरोप्याथी एन्ड योगिक साइन्स’ पढेकी थिइन्, जसको अर्थ उनी मेडिकल डाक्टर नभएर स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएकी स्वास्थ्य व्यवसायी मात्र हुन्।
केसीको अध्ययनक्षेत्र योग, प्राकृतिक चिकित्सा र विभिन्न थेरापीमा सीमित छ। तर उनले आफ्नो कार्यक्षेत्र बाहिर गएर ढाड, कम्मर, मेरुदण्ड, घुँडा तथा अन्य अंगको दुखाइ भएका बिरामीलाई शुरूमै एमआरआई जस्तो महँगो परीक्षण सिफारिस गर्छिन्।
पछिल्लो समय दुखाइको उपचार गर्ने भन्दै खोलिएका अस्पताल तथा क्लिनिक काठमाडौँ उपत्यकामा प्रशस्तै छन्। धेरैजसोमा योग्य र आधुनिक चिकित्सकको सट्टा आयुर्वेद, नेचुरोप्याथी वा विभिन्न थेरापीको तालिम लिएकाले नामको अघि ‘डा.’ राखेर बिरामी ‘जाँचिरहेका’ छन्।
यस्ता क्लिनिकले बिरामीलाई एमआरआई जस्ता महँगा परीक्षण गराएर कमिसन लिने, अनावश्यक थेरापी सिफारिस गर्ने र एलोपेथिक औषधिसमेत दिने गरेका छन्। यसबाट धेरै बिरामीको पैसा मात्र बर्बाद भइरहेको छैन, स्वास्थ्यमा नकारात्मक असर पनि परेको छ।
यसको अर्की उदाहरण हुन् काठमाडौँकी ४५ वर्षीया एक महिला। उनी ढाड दुख्ने समस्या लिएर त्रिपुरेश्वरस्थित ‘ब्लु लोटस अस्पताल’ पुगेकी थिइन्। त्यहाँ ६०० रुपैयाँ तिरेर डा. सुरज कर्माचार्यलाई जँचाइन्। आयुर्वेदिक चिकित्सक कर्माचार्यले पहिलो भेटमै एमआरआई गराउन लगाए।

एमआरआई रिपोर्ट सामान्य आयो। त्यसपछि पञ्चकर्म र एक्युपञ्चर विधिबाट उपचार गर्न थालियो। लामो समयसम्म नियमित थेरापी गराइन् र डा. कर्माचार्यले लेखिदिएको औषधि पनि सेवन गरिन्।
औषधि खाएको केही समय र थेरापी गरुन्जेल दुखाइ कम हुन्थ्यो, तर समस्या समाधान भएन। अनि उनी एक अस्पतालमा अर्थोपेडिक सर्जनकहाँ पुगिन्। पुराना रिपोर्ट र औषधिको पुर्जा हेरेपछि ती सर्जनले भने, “यहाँ त हरेक दिन खानलाई पेनकिलर (दुखाइ कम गर्ने औषधि) लेखिदिएको रहेछ, त्यसैले औषधि खाउन्जेल मात्र दुख्न कम भएजस्तो भएको हो।”
आयुर्वेदिक चिकित्सकले बिरामीलाई एलोपेथिक औषधि लेख्नु कानूनविपरीत हो। तर दुखाइ नियन्त्रणको नाममा खोलिएका क्लिनिकमा यो अभ्यास सामान्यजस्तै छ।
ब्लु लोटस अस्पतालमै कार्यरत अर्का आयुर्वेदिक चिकित्सक डा. ईश्वरी ज्ञवालीले पनि खुट्टा झमझमाउने समस्या लिएर पुगेका एक ८२ वर्षीय ज्येष्ठ नागरिकलाई शुरूमै एमआरआई, एक्स–रे र रगत जाँच गर्न लगाए। त्यसपछि थेरापी गराएर १५ दिनका लागि एलोपेथिक औषधि ‘पेनकिलर’ लेखिदिएको भेटियो।
समस्या जस्ताको तस्तै रहेपछि उनी पनि अर्थोपेडिक चिकित्सककहाँ पुगे। त्यसपछि थाहा भयो, आफूले खाएको औषधि पेनकिलर रहेछ।
बिरामी तान्न सामाजिक सञ्जालमा विज्ञापन
दुखाइ नियन्त्रणको नाममा खुलेका अस्पताल र क्लिनिकको वास्तविकता बुझ्न उकालोले गरेको स्थलगत रिपोर्टिङमा सामाजिक सञ्जालमार्फत विज्ञापन गरी बिरामी बटुल्ने गरेको पाइएको छ। त्यस्ता ठाउँमा उपचार गराइरहेका धेरै बिरामीले सामाजिक सञ्जालको विज्ञापनमार्फत थाहा पाएर आएको बताए।
कतिपय बिरामीले स्वास्थ्यमा सुधार नभएपछि सल्लाहका लागि मेडिकल डाक्टर भेट्न पुग्दा मात्र आफू ठगिएको थाहा पाएका छन्। “विज्ञापन हेरेर राम्रोसँग नबुझी म यहाँ आएँ। उपचारका नाममा अनेक थेरापी भन्दै मेरो पैसा मात्र सकियो,” स्पार्क हेल्थ होममा उपचार गराएका कीर्तिपुरका आनन्द महर्जन भन्छन्, “उनीहरूले तेल मालिस गरेरै मजस्ता धेरै बिरामीलाई लुटिरहेका छन्।”
ढाड दुख्ने समस्याले सताएपछि भक्तपुरको कौशलटारका निशान कार्की (३०) फेसबुक र टिकटकमा उपचार गर्ने अस्पताल खोज्न थाले। उनले ढाड, घुँडा, गर्दन र मेरुदण्डको नशा च्यापिएको उपचार दाबी गर्ने अनेकौँ क्लिनिक भेटे।
कतिपय विज्ञापनमा ‘बिनासर्जरी उपचार’ गर्ने आकर्षक नारा थियो। भने कुनैमा ‘मसाज तथा थेरापीबाटै रोग चट्टै पार्ने’ दाबी थियो। रोग निको भएको बताउने बिरामीको ‘सफल कथा’ पनि प्रस्तुत गरिन्थ्यो।
यस्तै, विज्ञापनमा विश्वास गरेर निशान पनि कालीमाटीस्थित स्पार्क हेल्थ होम क्लिनिक पुगे। त्यहाँकी डा. गीता केसीले उनलाई पनि शुरूमै एमआरआई सिफारिस गरिन्। एमआरआई र अनेक थेरापी गराउँदा पनि समस्या समाधान भएन। जब उनले एक अर्थोपेडिक डाक्टरलाई भेटे, तब मात्र उनले सामाजिक सञ्जालका विज्ञापनको ‘पासो’ थाहा पाए।
निशानजस्ता धेरै बिरामी यस्तै विज्ञापनको प्रभावमा परिरहेका छन्। उनीहरूले ‘डाक्टर’ मानेका व्यक्ति वास्तवमा फिजियोथेरापिस्ट, नेचुरोप्याथी पढेका स्वास्थ्य व्यवसायी वा केही दिनका तालिम लिएका थेरापिस्ट मात्र भएको उपचारको नाममा हजारौँ खर्च गरिसकेपछि मात्र थाहा पाउँछन्।
आरोग्य सेवा केन्द्रले ‘बिनाऔषधि र बिनाऔजार न्युरोथेरापी’बाट उपचार गर्ने विज्ञापन गर्छ। रचना आयुर्वेदा अर्थो न्युरो रिह्याबिलिटेसन केन्द्रले खिइएको हाडजोर्नी र प्यारालाइसिससमेत प्राकृतिक विधिबाट निको पार्ने दाबी गर्छ। सामाजिक सञ्जालको ‘अल्गोरिदम’ले गर्दा यस्ता समस्याको समाधान खोजिरहेका बिरामीको ‘फिड’मा यस्तै विज्ञापन बारम्बार देखाइदिन्छ।
सामाजिक सञ्जालको विज्ञापनमा आफूलाई ‘वरिष्ठ स्नायु रोग भौतिक चिकित्सक’ दाबी गर्ने राजकुमार गुप्ता कुपण्डोलस्थित ‘मेदान्ता अर्थो न्युरो केयर सेन्टर’मा बस्छन्। उनले पनि बिरामी हेर्नेबित्तिकै एक्स–रे, एमआरआई र रगत जाँच गर्न लगाउँछन्। त्यसपछि थेरापीको नाममा मसाज र ज्यान तन्काउने जस्ता सामान्य अभ्यास गराएर दुखाइ कम गर्ने औषधि लेख्छन्।
आफूलाई ‘भौतिक चिकित्सक’ दाबी गर्ने जयप्रकाश काप्रीका विज्ञापन पनि उत्तिकै भ्रामक छन्। ती विज्ञापनमा उनले बिरामीको शरीरका विभिन्न अंग र जोर्नी तन्काएर र पड्काएर निको पारेको देखाइन्छ।

दुखाइ नियन्त्रणका नाममा खुलेका प्रायः सबै जसो अस्पताल वा क्लिनिकमा पुग्नासाथ महँगो परीक्षण (एमआरआई, एक्स–रे) गराउन लगाउने, रिपोर्ट आएपछि ‘थेरापी’को नाममा तेल मालिस गर्ने, ज्यान तन्काउने वा सामान्य व्यायाम गराउने गरेको यस्ता केन्द्रमा उपचार गराएका बिरामीहरूको भनाइ छ। उनीहरूका अनुसार दुखाइ तत्काल कम भएको भ्रम दिन पेनकिलर लेखिदिने, ‘थेरापीले तत्काल काम गर्दैन, नियमित आउनुपर्छ’ भनेर महिनौँसम्म अल्झाउने गरिएको छ।
उनीहरूका अनुसार यसरी गरिने थेरापीको शुल्क पनि मनपरी छ। कतै एक पटकको एक हजार रुपैयाँ लिइन्छ भने कतै १५ सयदेखि तीन हजार रुपैयाँसम्म असुलिन्छ। यस्ता केन्द्रमा पुग्दा परीक्षण, औषधि र थेरापी गरेर कम्तीमा १० हजारभन्दा बढी खर्च हुने र यो रकम नियमित थेरापीसँगै बढ्दै जान्छ। “उनीहरूले पटक–पटक बोलाएर तेल लगाइदिने र ज्यान तन्काइदिने मात्रै गर्छन्, तर समस्या जहाँको त्यहीँ हुन्छ,” निशान कार्की भन्छन्।
दुखाइ हट्यो भने रोग निको हुन्छ भन्ने भ्रम धेरैलाई भएको ह्याम्स अस्पतालमा कार्यरत अर्थोपेडिक्स सर्जन डा. भास्कर पन्त बताउँछन् । दुखाइ नियन्त्रणका कतिपय औषधि लामो समयसम्म सेवन गर्दा अन्य गम्भीर जटिलताहरू निम्त्याउँछ। मुटु, मिर्गौला वा कलेजोको समस्या भएका, उच्च रक्तचाप वा मधुमेह भएका बिरामीलाई कतिपय औषधिह दिन मिल्दैन। यो सबैको जानकार राम्रो मेडिकल डाक्टर वा एनएमसी वा एनपीसीमा कानूनी रूपमा दर्ता भएको फार्मासिस्ट हुनुपर्ने उनी बताउँछन्।
गैर-चिकित्सकहरूले निदान गर्ने र औषधि लेख्ने काम गैरकानूनी भएको डा. पन्तको भनाइ छ। “यसको अनुगमन गर्न सक्रिय नियामक प्रणाली छैन। औषधिहरू वास्तविक, राम्रोसँग नियमन गरिएको हुनुपर्छ। तर काठमाडौँजस्तो शहरमै दिनहुँ बिरामीहरू ठगिरहेका छन्,” उनी भन्छन्।
कानूनी छिद्र
यो समस्याको जड हो— नियामक निकायको कमजोरी र अस्पष्ट कानूनी व्यवस्था। नेपाल मेडिकल काउन्सिल ऐनले स्पष्ट रूपमा ‘चिकित्सक’ भन्नाले मान्यताप्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणालीअन्तर्गत चिकित्सा शास्त्रमा स्नातक तह (एमबीबीएस वा सोसरह)को उपाधि प्राप्त गरी काउन्सिलमा दर्ता भएको व्यक्तिलाई मात्र चिन्दछ। यस्ता व्यक्तिले मात्र आफ्नो नामको अगाडि ‘डाक्टर’ लेख्न पाउँछन्।
तर, अहिले आँखाका टेक्निसियन, ल्याब टेक्निसियन, फिजियोथेरापिस्ट र नेचुरोप्याथी पढेकाले समेत खुलेआम ‘डाक्टर’ लेखेर बिरामी झुक्क्याइरहेका छन्। यो समस्या बढेपछि नेपाल मेडिकल काउन्सिलले २०७८ कात्तिक १० गते सूचना जारी गरी काउन्सिलले नदिएको उपाधि लेख्नेलाई कडा कारबाही हुने चेतावनी दिएको थियो।
काउन्सिलका तत्कालीन रजिस्ट्रार डा. कृष्ण अधिकारीका अनुसार, त्यतिबेला उपचार बिग्रेको भन्दै काउन्सिलमा परेका उजुरीको अध्ययन गर्दा अधिकांश घटनामा काउन्सिलमा दर्ता नभएका व्यक्तिहरूले ‘डाक्टर’ लेखेर उपचार गरेको पाइएको थियो। “स्वास्थ्य संस्थामा काम गर्ने सबैले डाक्टर लेख्न मिल्दैन भनेर बुझाउनुपर्ने अवस्था आउनु दुःखद् हो,” डा. अधिकारीले भने, “यसरी बिरामीलाई झुक्क्याउन पाइँदैन भनेर हामीले सूचना जारी गरेका थियौँ।”
नेपालमा स्वास्थ्य जनशक्तिको नियमन गर्न तीन वटा परिषद् छन्। नेपाल मेडिकल काउन्सिलले आधुनिक चिकित्सक (मेडिकल डाक्टर)हरूको नियमन गर्छ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले फिजियोथेरापिस्ट, नेचुरोप्याथ, ल्याब टेक्निसियनजस्ता नर्स र डाक्टरबाहेकका अन्य स्वास्थ्य व्यवसायीको नियमन गर्छ। नेपाल आयुर्वेद चिकित्सा परिषद्ले आयुर्वेदिक चिकित्सकको नियमन गर्छ।
आयुर्वेद र मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले कानूनअनुसार नामको अगाडि डाक्टर लेख्न पाउँछन्। तर, स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएकाले डाक्टर लेख्न पाउने वा नपाउने भन्ने विषयमा ऐन नै मौन छ। कानूनी अस्पष्टता र नियामक निकायको निष्क्रियताको फाइदा उठाउँदै स्वास्थ्य व्यवसायीले आफूलाई ‘डाक्टर’ दाबी गरेर बिरामीको विश्वास जित्ने र आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर उपचार गरिरहेको देखिन्छ।
तर नेपाल मेडिकल काउन्सिलका पूर्वरजिस्ट्रार अधिकारी स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएका व्यक्तिले आफ्नो नामको अगाडि डाक्टर लेख्न नपाउने बताउँछन्। यो विवाद स्वास्थ्य व्यवसायी परिषद् मेडिकल काउन्सिलको ऐन पढ्दा स्पष्ट हुने उनको भनाइ छ। उनका अनुसार, अस्पतालमा काम गर्ने वा स्वास्थ्यसम्बन्धी काम गर्ने सबै व्यक्तिहरू डाक्टर हुँदैनन्। “सामाजिक प्रतिष्ठा पाउन र बिरामी आकर्षित गर्न धेरैले आफूलाई डाक्टर दाबी गरिरहेका छन्, जुन सरासर गलत हो,” उनले भने।
तर परिषद्का रजिस्ट्रार लीलानाथ भण्डारी विधा र कामको प्रकृतिअनुसार केहीले डाक्टर लेख्न मिल्ने दाबी गर्छन्। यो कुरा ऐन वा नियमावलीमा कतै स्पष्ट नभए पनि डाक्टर लेख्न पाउने/नपाउने विवादको विषय नभएको उनको भनाइ छ। “उनीहरूले गरेको उपचारविरुद्ध उजुरी परे कारबाही गर्छौं। उनीहरूले आफ्नो योग्यताअनुसार काम गर्न पाउँछन्,” उनले भने।
तर, परिषद्ले आफूकहाँ दर्ता भएका व्यवसायीले योग्यताअनुसार काम गरे/नगरेको विषयमा प्रभावकारी अनुगमन गरेको देखिँदैन। यसका लागि निर्देशिकासमेत बनेको देखिँदैन। “हामीकहाँ दर्ता भएका जनशक्तिले के गर्न पाउने, के नपाउने र कसले के लेख्न पाउने भन्ने विषयमा निर्देशिका बनाउँदैछौँ, अहिले तयार भएको छैन,” भण्डारीले स्वीकारे।
कमिसनको खेल
डाक्टर को हो र को होइन भन्ने विवाद एकातिर छ भने अर्कोतिर कुन योग्यताको स्वास्थ्यकर्मीले कस्तो परीक्षण लेख्न पाउँछ भन्नेमा पनि स्पष्टता छैन। यही अस्पष्टताको फाइदा उठाउँदै प्राकृतिक चिकित्सा वा फिजियोथेरापी गर्नेले पनि बिरामी आउनासाथ एमआरआई, सिटी स्क्यान जस्ता महँगा परीक्षण गर्न सिफारिस गर्छन्। यस पछिको कारण हो— कमिसन।
काठमाडौँका केही प्रयोगशाला सञ्चालकहरूको दाबी छ, स्वास्थ्यकर्मी वा चिकित्सकले परीक्षण सिफारिस गरेबापत मोटो रकम कमिसनको रूपमा लिन्छन्। उनीहरूका अनुसार, एक हजार रुपैयाँको परीक्षण सिफारिस गरेबापत काठमाडौँका मुख्य शहरमा २५० देखि ३०० रुपैयाँ (२५–३० प्रतिशतसम्म) कमिसन दिइन्छ। शहरभन्दा बाहिर वा भित्री गल्लीमा रहेका क्लिनिकले ५०० देखि ७०० रुपैयाँ (५०–७०प्रतिशतसम्म) कमिसन लिन्छन्। नयाँ खुलेका प्रयोगशालाले बजारमा आफूलाई टिकाइराख्न कम्तीमा ४० प्रतिशतसम्म कमिसन दिने गरेको एक प्रयोगशाला सञ्चालक बताउँछन्।
उनका अनुसार बिरामी चिकित्सकले सिफारिस गरेकै प्रयोगशालामा जान बाध्य हुन्छन्, किनभने अन्य ठाउँको रिपोर्ट ल्याएमा चिकित्सकले हेर्न नमान्ने वा बहाना बनाउने गर्छन्। “कमिसनका कारण कतिपय डाक्टर मालामाल छन् भने बिरामी र हामीजस्ता प्रयोगशाला सञ्चालक मारमा छौँ,” ती प्रयोगशाला सञ्चालक भन्छन्, “उनीहरूलाई कमिसन नदिने हो भने प्रयोगशाला नै चलाउन सकिँदैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
