एकीकृत समाजवादी पोलिटब्युरो सदस्यहरूको जोड- वाम शक्तिबीचको एकता

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा सम्पूर्ण पोलिटब्युरो सदस्यहरू एकमत रहेको बताए

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यले वामपन्थी शक्तिबीच एकता गर्नुपर्नेमा जोड दिएका छन्। सोमबारबाट शुरू भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यले वामपन्थी शक्तिबीच एकता गर्नुपर्नेमा जोड दिएका हुन्।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यले वामपन्थीहरूलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेका बताए। त्यस्तै, संगठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सम्पूर्ण सदस्यहरू एकमत रहेको उनले उल्लेख गरे।

"अधिकांशतः आफ्नो पार्टीलाई सबल बनाएर शक्ति सुदृढीकरण गरिसकेपछि मात्रै हामी सबै उपलब्धि प्राप्त गर्न सक्छौँ। आजदेखि अभियान पाँच वर्षसम्म लगातार पार्टी निर्माणको अभियानमा हामी हिँड्नुपर्छ भन्नेमा सबैको एक मत छ", उनले भने "अब वाम एकताबारेमा, वामपन्थीहरूलाई एकताबद्ध बनाउन पहल गर्ने कुरामा सबैको एक मत छ। निर्णय भएको छैन। अरू कतिपय विषयमा विभिन्न प्रकारका छलफल चलिरहेका छन्।"

बैठकमा करिब ३० जना सदस्यले आफ्नो धारणा राखेको प्रवक्ता खतिवडाले जानकारी दिए। उनले वर्तमान सरकारमा जाने सन्दर्भमा औपचारिक प्रस्ताव नै नआएको भन्दै यस सम्बन्धमा छलफल नभएको बताए। बैठकमा सरकारलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा भने छलफल भएको उनको भनाइ छ।

"यो सरकारलाई हेर्ने दृष्टिकोणको बारेमा हामी छलफल गरिरहेका छौँ। सरकारमा जाने कि नजाने भनेर छलफल गरिरहेका छैनौँ", उनले भने, "औपचारिक प्रस्ताव नै नआएको, प्रस्ताव आएपछि त्यो प्रस्ताव लायक छ/छैन, हाम्रा उद्देश्यअनुसार यी सब कुरा हुन्छन्/हुँदैनन्, हाम्रो प्राथमिकतामा त्यो विषय पर्छ कि पर्दैन, त्यसपछाडि गरिने कुरा हो।"