कैलाली कारागार झडपः परिवारले बुझे भरत चौधरीको शव

कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा परी मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको शव परिवारले बुझेका छन्।

सुदूरपश्चिम– कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा परी मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको शव परिवारले बुझेका छन्। मृतकका परिवारले राखेका मागहरू सम्बोधनका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारीको प्रतिबद्धतापछि शव बुझ्न सहमत भएको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए।

“मृतक परिवारका केही माग प्रदेश सरकारले सम्बोधन गर्ने भनिसकेको छ। मृतकका बच्चालाई निःशुल्क पढाउनुपर्ने मागबारे प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निकायमा कुरा गर्ने भनेपछि उहाँहरू सहमत हुनुभयो,” उनले भने।

दोषीमाथि कारबाही गर्नुपर्ने र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित मृतकका परिवारले सोमबार बिहानसम्म शव बुझ्न मानेका थिएनन्। सुदूरपश्चिम प्रदेश सरकारले आइतबार साँझ मृतक चौधरीका परिवारलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।

कैदीबन्दीबीच बन्दीगृहमा शुक्रबार राति भएको झडपपछि घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो। उक्त घटनामा घाइते भएका अन्य ४५ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

गम्भीर घाइते कर्ण सलामीमगर र आयुस भट्टको काठमाडौँमा उपचार भइरहेको छ। धनगढीमा उपचाररत अर्का घाइते कल्पेस विष्टलाई थप उपचारका लागि सोमबार काठमाडौँ सिफारिस गरिएको कारागार शाखाका जालान्दर भुसालले जानकारी दिए। घटनापछि कारागार व्यवस्था विभागले भुसाललाई केही समयका लागि दुई दिनअघि कैलाली कारागारमा खटाएको छ।

घटनाको छानबिनका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। कारागारको अवस्था सामान्य बन्दै गएको समितिका सदस्य सचिव एवं प्रशासकीय अधिकृत जोशीले बताए।