‘ए’ डिभिजन लिग : खेल तालिका माघ पहिलो साता सार्वजनिक गरिने

‘ए’ डिभिजन क्लबका प्रतिनिधिसँगको बैठकपछि एन्फाले माघ २ गते खेल तालिका सार्वजनिक गर्ने निर्णय छ।

काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिग २०७९ को खेल तालिका माघ पहिलो साता सार्वजनिक गरिने भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार ‘ए’ डिभिजन क्लबका प्रतिनिधिसँगको बैठकपछि एन्फाले माघ २ गते खेल तालिका सार्वजनिक गर्ने निर्णय गरेको हो।

एन्फाले क्लब दर्ताको समय भने पुस २२ गतेसम्मलाई दिएको छ। दर्ता भएका क्लबलाई माघ १५ गतेसम्म राष्ट्रिय क्लबको मापदण्ड पूरा गरेर लाइसेन्स लिनुपर्ने एन्फाले जनाएको छ।

‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट शुरू हुने छ। डबल राउन्ड रोबिनको आधारमा हुने लिगको विजेताले ७५ लाख पाउने छ। दोस्रो हुनेले ५० र तेस्रो हुनेले २५ लाख पाउने एन्फाले जनाएको छ।

छलफलमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र प्रवक्ता सुरेश शाहको उपस्थिति थियो। यता, हिमालयन शेर्पा क्लबका क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा, संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर, थ्रीस्टार क्लबका अध्यक्ष अरुणमान जोशी, फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा, न्यूरोड टिमका महासचिव नरेन्द्रमान श्रेष्ठलगायत १४ वटै क्लबका प्रतिनिधित्वको पनि उपस्थिति रहेको थियो।