इसाकको बाल्यकाल कठिन थियो। रक्सीको लतले गर्दा अन्ततः उनी घरबारविहीन भए। तर ८ किलोमिटर दाैडिने निर्णयले उनको जीवनमा नयाँ मोड ल्याइदियो।
रक्सीको ह्यांगओभर उतार्न ८ किलोमिटर दाैडेका व्यक्तिको जीवन नै बदलियो। तर कसरी?
यो कथा हो ब्राजिलका एक घरबारविहीन व्यक्ति ३१ वर्षका इसाक डोस सान्तोस पिन्होको। रक्सीको ह्यांगओभर उतार्न चप्पल लगाएरै दौडमा प्रतिस्पर्धा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले अन्तर्राष्ट्रिय ध्यान खिचेका हुन्।
इसाक जुलाई २७ मा आफ्नो गृहनगर गाराफाओ डो नोर्टेमा ८ किलोमिटर दौड प्रतियोगितामा सहभागी भए। उनले त्यतिबेला मदिरा सेवन गरेका थिए र दौडेपछि ह्यांगओभर निको होला भन्ने ठाने। त्यसैले प्रतियोगिताको लागि तोकिएको ड्रेस र जुत्ताको सट्टा चप्पल लगाएरै उनी दाैडमा सहभागी टोलीमा घुसे।
टोलीबाट शुरूमा बाहिरिए पनि तर पछि उनी फेरि दाैडिन थाले। दाैडलाई निरीक्षण गरिरहेको ड्रोनले त्यो क्षण क्यामेरामा कैद गर्यो, मादक पदार्थ सेवन गरेको, चप्पल लगाएको व्यक्तिले अन्य खेलाडीले झैं दाैडिरहेको फुटेजले तुरुन्तै सामाजिक सञ्जालमा मानिसहरूलाई उत्सुक बनायो।
इसाकले पूरा ८ किलोमिटरको गति कायम राख्न नसके पनि दौड भने पूरा गरे। प्रतियोगिताका लागि नाम दर्ता नभएको भए पनि आयोजकले उनलाई पूरक पदक दिए। दौडमा प्रतिस्पर्धा गरेको उनको भिडियो अनलाइनमा भाइरल भएपछि मानिसहरू उनको बारेमा उत्सुक भए र पत्रकारहरू चाँडै नै ढोका ढकढक्याउन आए।
"म पिइरहेको थिएँ र जब मैले त्यो भीड देखेँ, मैले सोचेँ म मेरो ह्याङओभरबाट बच्न दौडिन्छु," इसाकले एक अन्तर्वार्तामा भने। उनलाई अहिले 'इसाक द रनर' का नामले चिनिन थालिएको छ। उनी ब्राजिलका मिडियामा राष्ट्रिय हेडलाइन बने।
इसाकको बाल्यकाल संघर्षमै बित्यो। बुवाले सानैमा त्यागेपछि उनकी आमा एक्लैले हुर्काइन्। कठिन बाल्यकालले उनलाई जड्याहा बनायो। जसले गर्दा अन्ततः उनी घरबारविहीन भए। तर इसाकको दाैडिने यो निर्णयले उनको जीवनमा नयाँ मोड ल्याइदियो।
सामाजिक सञ्जालमा भाइरल भिडियो पोस्ट गर्ने महिला एस्टेला लारिज्जिएरीको सहयोगमा अनलाइन प्रोफाइल बनाएपछि इसाकले दौडने जुत्ता, लुगा, विशेष खाले चस्मा र पेशेवर धावकहरूसँग तालिम लिन निमन्त्रणाहरू पनि प्राप्त गर्न थालेका छन्। गाराफाओ डो नोर्टे नगरपालिकाले उनलाई सम्पर्क गर्यो, भविष्यका दौड कार्यक्रमहरूमा निमन्त्रणा प्रदान गरेको छ।
"चप्पलमै ८ किलोमिटर दौड पूरा गरेपछि, इसाक ब्राजिलभरि गुन्जिए। उनी अब हाम्रो शहरका सडकहरूमा प्रशिक्षण गरिरहेको देखिन्छन्। हामी यो कथाबाट हर्षित छौं र आशा गर्छौं कि यो क्षणले इसाकको जीवनमा सुन्दर परिवर्तन ल्याउनेछ," नगरपालिकाले आफ्नो वेबसाइटमा लेखेको छ।
अधिकारकर्मीहरूले घरबारविहीन इसाकलाई सडकबाट हटाएर सेल्टरमा राखेका छन् र चाँडै उनको लागि घर बनाइदिने तयारी थालेका छन्। इसाकलाई पनि व्यक्तिगत रूपमा त्यो दाैडले ठूलो परिवर्तन ल्याएको छ।
ब्राजिलका मिडियासँगको कुराकानीमा उनले भने, "मैले त्यो प्रतियोगिता दौडेकोले रक्सी पिउन छोडें। मेरो जीवन परिवर्तन भयो र म यसलाई अझ धेरै परिवर्तन गर्न चाहन्छु। म कहिल्यै हार मान्ने छैन।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
