‘नेप्से एआई’को विज्ञापनबाट ठगी, सचेत रहन सीआईबीको आग्रह

‘नेप्से एआई’ नामक एप्समार्फत ठूलो रकम ठगी भइरहेको भन्दै सीआईबीले यस्ता भ्रामक विज्ञापनबाट सचेत रहन आग्रह गरेको छ।

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सामाजिक सञ्जालको दुरुपयोग गरी ठगीका घटना बढेको भन्दै सचेत रहन आग्रह गरेको छ। ‘नेप्से एआई’ नामक एप्समार्फत ठूलो रकम ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको भन्दै सीआईबीले यस्ता भ्रामक विज्ञापनबाट सचेत रहन सबैलाई आग्रह गरेको हो।

सीआईबीका अनुसार, पछिल्ला केही दिनयता फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालमा नेप्से एआई एप्स डाउनलोड गर्न लगाउने विज्ञापन देखा परिरहेका छन्। यी विज्ञापनमा शेयर बजारको विश्लेषण गरी छोटो समयमा नै धेरै नाफा कमाउन सकिने भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारिन्छ।

सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक युवराज खड्काले यस्ता विज्ञापनबाट प्रभावित भएर एप्स डाउनलोड गर्नेबित्तिकै ठगी शुरू हुने बताए। एप्स इन्स्टल गरेपछि ह्याकरले ‘रिमोट सेसन’ खोलेर प्रयोगकर्ताको डिजिटल डिभाइस (मोबाइल फोन)मा पूर्ण पहुँच प्राप्त गर्छन्। त्यसपछि उनीहरूले क्षणभरमै बैंक खातामा रहेको सम्पूर्ण रकम अन्यत्र ट्रान्सफर गरेर पीडितको मोबाइलबाट सबै डाटा र एप्स मेटाएर प्रमाण नष्ट गरिदिने गरेको उजुरी प्राप्त भएको सीआईबीले जनाएको छ।

सीआईबीले एउटा घटनाको उदाहरणबाट यो ठगीको गम्भीरताबारे सचेत गराउने प्रयास गरेको छ। एक व्यक्तिले फेसबुकमा देखिएको विज्ञापनबाट प्रभावित भएर नेप्से एआई एप्स डाउनलोड गरी ‘इन्स्टल’ गरे। एप्स इन्स्टल गर्नेबित्तिकै रिमोट सेसन खुल्दा उनको मोबाइलको स्क्रिन केही समयका लागि खाली भयो। त्यसपछि उनको विभिन्न बैंक खातामा रहेको २८ लाख ६१ हजार रुपैयाँ अन्यत्र खातामा ट्रान्सफर भयो। यति मात्र नभएर, उनको मोबाइलमा रहेका सम्पूर्ण डाटा र अन्य एप्स पनि हटाइएको भनी सीआईबीमा उजुरी प्राप्त भएको छ।

यस्ता किसिमका ठगी र विगतका ठूला घटनाका उजुरी पनि निरन्तर आइरहेका भन्दै सीआईबीले सर्वसाधारण ठगीमा पर्नबाट बच्नका लागि केही सुझाव दिएको छ।

ठगीबाट कसरी बच्ने?

  1. टु–फ्याक्टर अथेन्टिकेसन कोड प्रयोग गर्ने र सम्भव भएसम्म एसएमएस कोड प्रयोग गर्ने।
  2. आफ्नो पासवर्ड नियमित रूपमा परिवर्तन गरिरहने।
  3. नेप्से एआईलगायत सामाजिक सञ्जाल वा विज्ञापनबाट आएका कुनै पनि अपरिचित लिंक तथा एप्स कहिल्यै पनि डाउनलोड वा इन्स्टल नगर्ने।
  4. कुनै पनि अपरिचित व्यक्तिलाई एनी डेस्क, टिम भ्युअर जस्ता रिमोट पहुँच दिने एप्सको अनुमति नदिने।
  5. मोबाइलका एप्स गुगल प्ले स्टोर वा आइओएस एप स्टोर जस्ता आधिकारिक स्रोतबाट मात्रै इन्स्टल गर्ने।

यसका साथै, कुनै घटना घटेको थाहा पाउनेबित्तिकै सम्बन्धित बैंक, नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तत्काल खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ।