गाजामा स्वास्थ्य सेवा चरम संकटमा, ५० प्रतिशत अस्पताल मात्रै सञ्चालनमा

डब्लूएचओले गाजाको स्वास्थ्य संकटलाई ‘विपत्तिपूर्ण’ भन्दै इजरायललाई गाजा सिटीमा सम्भावित आक्रमण गर्नुअघि महत्त्वपूर्ण चिकित्सा सामग्री भण्डारण गर्न अनुमति दिन आग्रह गरेको छ।

गाजामा स्वास्थ्य सेवा चरम संकटमा, ५० प्रतिशत अस्पताल मात्रै सञ्चालनमा
रिजेक अब्देलजवाद/सिन्ह्वा

संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गाजाको स्वास्थ्य संकटलाई ‘विपत्तिपूर्ण’ भन्दै इजरायललाई गाजा सिटीमा सम्भावित आक्रमण गर्नुअघि महत्त्वपूर्ण चिकित्सा सामग्री भण्डारण गर्न अनुमति दिन आग्रह गरेको छ।

डब्लूएचओका प्यालेस्टिनी क्षेत्र प्रतिनिधि रिक पीपरकोर्नका अनुसार, गाजामा हाल मात्र ५० प्रतिशत अस्पताल र ३८ प्रतिशत प्राथमिक स्वास्थ्य केन्द्र आंशिक रूपमा सञ्चालनमा छन्। यति हुँदाहुँदै पनि उत्तरी गाजाका अल–शिफा र अल–आहली जस्ता अस्पताल क्रमशः २४० प्रतिशत र ३०० प्रतिशत शैय्या क्षमतामा चलिरहेका छन्।

इजरायलले सहयोग आपूर्तिमा गरेको कडा प्रतिबन्धका कारण गाजामा स्वास्थ्य सामग्रीको चरम अभाव छ। पीपरकोर्नले हाल ५२ प्रतिशत औषधिको भण्डारण शून्य अवस्थामा रहेको र पर्याप्त मानवीय सहायता भित्रिन नसकेको बताए। इजरायली पक्षले धेरै सामग्रीलाई प्रवेश गर्न नदिएको उनको भनाइ छ।

यसको सिधा असर भोकमरी र कुपोषणमा देखिएको छ। अगस्ट ५ सम्मको तथ्यांकअनुसार, कुपोषणका कारण यो वर्ष १४८ जनाको ज्यान गइसकेको छ। गत जुलाईमा मात्र ५ वर्षमुनिका करिब १२ हजार बालबालिका तीव्र कुपोषणबाट ग्रस्त भेटिएका थिए, जुन गाजामा एकै महिनामा देखिएको सबैभन्दा उच्च संख्या हो। तीमध्ये दुई हजार ५६२ जना बालबालिका गम्भीर कुपोषणबाट पीडित छन्।

इजरायलले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सुरक्षा मन्त्रिपरिषद्को स्वीकृतिअनुसार गाजा सिटी नियन्त्रणमा लिने योजना अघि बढाउने बताएपछि डब्लूएचओले चिन्ता व्यक्त गरेको छ। “हामी सम्भावित आक्रमणअघि नै अस्पतालमा शीघ्र रूपमा आपूर्ति पुर्‍याउन चाहन्छौँ, तर अहिलेको अवस्थामा त्यो सम्भव भएको छैन,” उनले भने।