देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुनेछ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा देशभर मनसुन सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर पूर्णतया बदली हुने छ। 

महाशाखाका अनुसार अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। 

कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा पूर्णतया बदली रहनेछ। गण्डकी र कर्णालीका पहाडी तथा लुम्बिनी  र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ । 

सुदूरपश्चिमका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ। लुम्बिनी, गण्डकी  र कर्णालीका एक–दुई स्थानमा भारी वर्षा हुनेछ।