पर्सामा उपचारका क्रममा कैदीको मृत्यु: छानबिन समिति गठन

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका साहलाई मंगलबार बिहान छाती दुख्ने र फुल्ने समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा पुर्‍याइएको थियो।

वीरगन्ज– नारायणी अस्पतालमा उपचारका क्रममा कैदीबन्दी राहुल साह तुरहाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन समिति गठन गरेको छ। 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले घटनाबारे विस्तृत छानबिन गरी १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेस गर्ने गरी सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। 

समितिको सदस्यमा पर्सा प्रहरीका सूचना अधिकारी एवं डीएसपी किशोर लम्साल, जनप्रतिनिधि जनदिशसाह तुरहा, मृतकका दाजु मकेशसाह तुरहा, मानवअधिकारकर्मी मनकुमारी लामा, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल र नेपाल चिकित्सक संघका प्रतिनिधि रहेका छन्। 

बैठकले मृतकको शव परीक्षणलगायत अन्य कानूनी प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ। वीरगन्ज कारागारका प्रमुख खिमराज भुसालका अनुसार कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका साहको मंगलबार बिहान छाती दुख्ने र फुल्ने समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा पुर्‍याइएको थियो। 

आफन्तले भने पर्साका प्रजिअले बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नका लागि अनुमति नदिएको आरोप लगाएका छन्। कैदी तुरहाको मृत्युपछि आक्रोशित आफन्तले नारायणी अस्पताल वरपर टायर बालेर विरोध प्रदर्शन गरेका थिए।