कमला नदीमा १४ वर्षमा पनि बनेन पुल

हुलाकी सडक हुँदै यात्रा गर्नेले नदी पार गर्न डुंगाको प्रयोग गर्नुपर्ने बाध्यता छ। जसमा प्रतिमोटरसाइकल १०० र प्रतिव्यक्ति ५० रुपैयाँ तिर्नुपर्छ।

सिरहा– कमला नदीमा २०६८ सालमा निर्माण शुरू भएको पक्की पुल अझै अधुरो छ। तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिरहा र धनुषाका सर्वसाधारण वर्षायाममा प्रभावित हुने गरेका छन्। उनीहरू डुंगाको भरमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। 

सिरहा नगरपालिका–५ का वासुदेव यादव दैनिक गाईवस्तुलाई घाँसपात गर्न नदीपारि जाने गर्छन्। हरेक वर्षासँगै डराइडराई नदीपार गर्नुपर्ने उनको दैनिकी छ। “पानी बढेपछि डुंगा चढ्न पनि डर लाग्छ, तर विकल्प छैन,” उनले भने।

सामान्यतया वर्षायामबाहेक अरु बेला काठको सानो पुल प्रयोग हुने गरेको थियो। तर बाढीले काठको पुल बगाएपछि अब डुंगामात्रै विकल्प बनेको छ। नदी पार गर्न हुलाकी सडक प्रयोग गर्ने यात्रीलाई डुंगा प्रयोगको प्रतिमोटरसाइकल १०० र प्रतिव्यक्ति ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ।

कमलामा स्थायी पुल अभावको प्रत्यक्ष असर स्वास्थ्य सेवामा पुगेको छ। सिरहा अस्पतालबाट जनकपुर ‘रेफर’ गरिएका बिरामीलाई घुमाउरो बाटो भएर जानुपर्ने बाध्यता छ।

प्रादेशिक अस्पतालका ‘मेडिकल सुपरिटेन्डेन्ट’ डा. सुनिलप्रसाद कुशवाहाका अनुसार पारिपट्टि नदी सिमानाका धनुषावासी बिरामीका लागि नजिक भए पनि उनीहरू जनकपुरसम्म जानुपर्ने बाध्यता छ। नदीवारिका गम्भीर प्रकृतिका बिरामी लामो र घुमाउरो बाटोबाट ढिला गरी लैजाँदा बाटैमा मृत्यु हुनसक्ने सम्भावना छ।

सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार पुल नहुँदा पैदलयात्रीले बाँसको फड्के वा डुंगाबाट नदी पार गर्नुपर्ने अवस्था छ।