पहिरोले केचना–कञ्चनजंघा सडकको इलामखण्ड अवरुद्ध

इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा मंगलबार राति खसेको पहिरोले सडक अवरुद्ध भएको हो।

फिक्कल– केचना–कञ्चनजंघा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा मंगलबार राति खसेको पहिरोले सडक अवरुद्ध भएको हो।

पहिरोले सडक अवरुद्ध भएपछि इलामको गोलाखर्क हुँदै झापा जाने सडक पनि अवरुद्ध भएको छ। सो सडक अवरुद्ध भएपछि लामो दूरीको मेची राजमार्गबाट नै सवारीसाधन सञ्चालन गर्न व्यवसायी बाध्य भएका छन्। 

सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार नेपाल प्रहरी, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी, यातायात व्यवसायी र स्थानीयको सक्रियतामा पहिरो पन्छाउने क्रम जारी छ। 

यसैबीच, कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। चट्टानसहितको भीषण पहिरोले बागलुङ बजारलाई दक्षिणी क्षेत्रसँग जोड्ने बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध भएको छ।