१ वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना, बिजुलीका पोलमा धेरै

सबैभन्दा बढी बिजुलीको पोल र ट्रान्सफर्मर तथा घर/कोठा र मिटरबक्समा विद्युत् ‘सट’, भएर आगलागी भएका छन्।

फाइल तस्वीर: गत बैशाखमा काठमाडाैँको मखनटोलमा भएको आगलागी।

काठमाडौँ– पछिल्लो एक वर्षको अवधिमा काठमाडौँ जिल्लामा दुई हजार ७०० भन्दा बढी आगलागीका घटना भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँमा गत आर्थिक वर्ष २०८१/८२ मा कुल दुई हजार ७२२ वटा आगलागीका घटना दर्ता भएका छन्। त्यसमध्ये सबैभन्दा बढी बिजुलीको पोल र ट्रान्सफर्मर तथा घर/कोठा र मिटरबक्समा विद्युत् ‘सट’, भएर आगलागी भएका छन्। एक वर्षको अवधिमा बिजुलीका पोल र ट्रान्सफर्मर आगलागीका एक हजार ८७६ र घरमा ४०७ वटा आगलागी भएको काठमाडौँ परिसरले जनाएको छ।

यस्तै, ग्यास चुहावट भएर ४५, वन जंगलमा ६८ र अन्य कारणबाट ३२६ वटा आगजनीको घटना भएको परिसरका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। आगलागीको जानकारी पाउनासाथ तत्काल अन्य निकायसँग समन्वय गरेर प्रतिकार्यमा प्रहरी जनशक्ति खटिइएको उनको भनाइ छ।