चितवनका ३ जनामा जापानिज इन्सेफलाइटिस

बागमती प्रदेशमा चार जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ। जसमध्ये एक जना सिन्धुली र तीन जना चितवनका छन्।

चितवन– सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस (जेई)को संक्रमण देखिएको छ। जुलाइमा एक र अगस्टमा दुई जनामा यो रोगको संक्रमण देखिएको हो।

स्वास्थ्य निर्देशनालय हेटौँडाका कीट नियन्त्रक उत्तम प्याकुरेलका अनुसार सन् २०२५ यता बागमती प्रदेशमा चार जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ। जसमध्ये एक जना सिन्धुली र तीन जना चितवनका छन्। यो रोगको संक्रमण फेब्रुअरीदेखि देखिने भए पनि हाल संक्रमणको जोखिमको समय शुरू भएको उनले बताए।
 
सन् २०२४ मा बागमती प्रदेशका सात जनामा यो रोगको संक्रमण देखिएको थियो। जसमा चितवनका तीन, सिन्धुलीका दुई  र काठमाडौँका दुई जना थिए । अहिले यो रोगको संक्रमण देखिने समय भएकाले सबैलाई सजग रहन उनले आग्रह गरेका छन्। यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो। यो रोगको भाइरसबाट संक्रमित चराचुरुंगी र सुँगुरलाई टोक्ने लामखुट्टे शुरूमा आफू संक्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा संक्रमण सर्छ।

यस रोगको संक्रमण भएमा अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, शरीर काम्ने, घाँटी अररो हुने, बेहोस हुने लक्षण देखा पर्छ।  यो रोग लागेपछि पक्षघात हुने, अपांगता हुने र अन्त्यमा मृत्युसमेत हुन सक्दछ। यो रोग लागेको कुनै लक्षण देखिनासाथ बिरामीलाई नजिकको अस्पतालमा लगेर उपचार शुरू गर्न जनस्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ।

जापानिज इन्सेफ्लाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, घरवरिपरी पानी जम्ने खाल्डाखुल्डी पुर्ने, बालबालिकालाई यो रोगविरुद्धको खोप लगाउने, सुँगुर, बंगुर, हाँस जस्ता घरपालुवा पशुपक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने गर्नुपर्छ।