विच्छ्या खोलामा बाढी: बाजुराको १० वटा घरमा क्षति

लगातारको वर्षापछि विछ्या खोलामा आएको बाढीले हिमाली गाउँपालिका–१ को बस्ती जोखिममा परेको छ। बाढीले एउटा झोलुंगे पुलसमेत बगाएको छ।

विच्छ्या खोलामा बाढी: बाजुराको १० वटा घरमा क्षति
फाइल तस्वीर।

बाजुरा– बाजुराको पूर्वोत्तर भेगमा बग्ने विच्छ्या खोलाको बाढीले हिमाली गाउँपालिका–१ को बस्ती जोखिममा परेको छ।

बुधबार रातिदेखिको लगातारको वर्षाले गाउँ जलमग्न हुने जोखिम बढाएको स्थानीय साजन थापाले बताए। उक्त खोलाको एउटा झोलुंगे पुलसहित केही घर बगाएको उनको भनाइ छ। 

हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार अहिलेसम्म १० वटा घरमा क्षति भएको छ। क्षतिको मूल्यांकन गर्न पालिकाबाट टोली परिचालन भएको छ। 

प्रहरीको टोली पनि प्रभावित क्षेत्रमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीबाट मानवीय क्षति भएको छैन। बाढीले उक्त क्षेत्रमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ। 

जिल्ला प्रशासन कार्यालयले वर्षा जारी रहेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।