अवरुद्ध कालीगण्डकी करिडोर २ दिनपछि सञ्चालन

कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीखण्डको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

गुल्मी– पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ। कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीखण्डको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा पहिरो खसेपछि उक्त सडक दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको थियो।

स्काभेटरको माध्यमबाट सडकमा थुप्रिएको पहिरो पन्छ्याएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए। 

अविरल वर्षाका कारण पहिरो जाँदा बिहीबार बिहानदेखि अवरुद्ध मदन भण्डारी राजमार्ग सडकअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक भने अझै सञ्चालनमा आउन सकेको छैन। उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ स्थित बाख्रे भीरमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो। 

अवरुद्ध सडक सञ्चालनका लागि प्रयास भइरहे पनि पानी पहिरहेको र सडक माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले सडक सञ्चालन गर्न समस्या भएको प्रहरीले जनाएको छ। 

सडक अवरुद्ध बनेपछि अहिले त्यस क्षेत्रमा रुरुक्षेत्र‐३ स्थित पानी ट्यांकीबाट थोर्गा हुँदै सालबिसौनाको वैकल्पिक सडक प्रयोग गरी सवारी साधन सञ्चालन भइरहेका छन्। मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडकखण्डमा समानान्तर जेभी र इलाइट कम्पनीद्वारा २५ किलोमिटर सडक फराकिलो र कालोपत्रको काम भइरहेको छ। 

गुल्मीसहित आसपासका क्षेत्रमा तीन दिनदेखि निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाका कारण बडिगाड खोला र कालीगण्डकी नदी किनारमा पानीको सतह बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ।