धरहरा टपरी ममलाई २ लाख जरिबाना, मममा भेटियो धातुको औँठी

काठमाडौँ महानगरले खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको भन्दै सुन्धारास्थित धरहरा टपरी ममलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले खाद्य स्वच्छता मापदण्डको उल्लंघन गरेको भन्दै सुन्धारास्थित धरहरा टपरी ममलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ।

महानगरको कृषि तथा खाद्य विभागले गरेको नियमित अनुगमनका क्रममा उक्त मम पसलले बिक्रीका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको थियो। यो घटनापछि महानगरले ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ को दफा १०, २९ र ३० (१) (ख) बमोजिम कारबाही गरेको हो।

विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार, यो मम पसलले पटक-पटक महानगरको निर्देशनलाई बेवास्ता गर्दै खाद्य स्वच्छता कायम नगरेको पाइएको छ।

महानगरले पसल सञ्चालकलाई सात दिनभित्र जरिबाना रकम बैंकमा जम्मा गरी त्यसको जानकारी महानगरमा पेश गर्न निर्देशन दिएको छ। साथै, आगामी दिनमा खाद्य स्वच्छता र गुणस्तर मापदण्ड पूरा गरेर मात्र उत्पादन र बिक्री-वितरण गर्नसमेत सचेत गराएको छ।