भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

आर्थिक वर्ष २०७७/७८ मा ५९१ वटा उद्योग दर्ता भएकामा गत आर्थिक वर्षमा ११० वटा मात्र दर्ता भएको कार्यालयले जनाएको छ।

भोजपुर– भोजपुरमा घरेलु उद्योग दर्ताको संख्या घट्दै गएको छ। घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि क्रमिक रूपमा घरेलु तथा साना उद्योग दर्ता घटेको हो।

आर्थिक वर्ष २०७७/७८ मा ५९१ वटा उद्योग दर्ता भएकामा गत आवको असार मसान्तसम्म ११० वटा मात्र दर्ता भएको कार्यालयले जनाएको छ।

उद्योग दर्ता बर्सेनि घट्दो र खारेजीको संख्या बढ्दो क्रममा रहेको कार्यालयको भनाइ छ। कार्यालयको तथ्यांकअनुसार आव २०७७/७८ मा ५९१, आव २०७८/७९ मा ४०४, आव २०७९/८० मा २६४, आव २०८०/८१ मा १३३ र आव २०८१/८२ मा ११० वटा उद्योग दर्ता भएका छन्।

पछिल्ला वर्षहरूमा उद्योग खारेजीको संख्या पनि बढेको छ। गत आवमा मात्र ८९ वटा उद्योग र २३ वटा वाणिज्य फर्म गरी ११२ वटा खारेजी भएको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेश ढकालले जानकारी दिए। “भोजपुरमा घरेलु उद्योग र वाणिज्य फर्मको दर्ता बर्सेनि घट्दो क्रममा छ, गत आवमा ११० वटामात्र उद्योग दर्ता भएका छन् भने ११२ वटा उद्योग तथा फर्म खारेजी भएका छन्,” निमित्त प्रमुख ढकालले भने।

भोजपुरमा उद्योगतर्फ तीन हजार ६६३ र वाणिज्यतर्फ एक हजार ८३ गरी जम्मा चार हजार ७४६ उद्योग तथा फर्म दर्ता रहेको उनको भनाइ छ। तीमध्ये करिब ५० प्रतिशत हाराहारीमा निष्क्रिय अवस्थामा रहेको कार्यालयले जनाएको छ।

कार्यालयले उद्योगको प्रवर्द्धन तथा विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि दर्ताको संख्या भने बर्सेनि घट्दो क्रममा रहेको जानकारी दिइएको छ। गत आवमा कार्यालयले उद्यमीको प्रोत्साहनका लागि मागका आधारमा ९१ वटा उपयुक्त प्रविधि हस्तान्तरण गरेको जनाएको छ।

कार्यालयले लघु, घरेलु तथा साना उद्योगको माध्यमबाट स्थानीय कच्चा पदार्थ, स्रोत र श्रमको उपयोग जोड दिएको जनाएको छ। स्थानीयस्तरमा उद्योग स्थापना गर्न, स्वरोजगार बन्न तथा रोजगारीका अवसर सिर्जना गर्न प्रयासरत रहेको कार्यालयको भनाइ छ।