नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धनका लागि ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’

नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यसहित ललितपुरमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ आयोजना गरिएको छ।​​​​​​​

ललितपुर– नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यसहित यहाँ ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ आयोजना गरिएको छ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित एकदिवसीय कन्क्लेभले डिजिटल पूर्वाधार र सम्पर्कमा सुधार, डिजिटल साक्षरता, सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन, नवप्रवर्तन र उद्यमशीलता प्रोत्साहन, डिजिटल प्रविधिको फाइदा र पारदर्शिताप्रति जनचेतना वृद्धि गर्ने अभिप्राय राखेको जनाइएको छ।

कन्क्लेभमा डिजिटल पद्दतिमा आधारित शासन, सार्वजनिक पूर्वाधार, स्वास्थ्य सेवा, अर्थतन्त्र, सूचना प्रविधि उद्योग संवाद, शक्ति संवादलगायत विषयमा आधारित सत्रहरू छन्।

फाउन्डेसनका अध्यक्ष राजन लम्सालले कन्क्लेभले डिजिटल नेपाल सिर्जनामा समावेशिता, नवप्रवर्तन र साझेदारीलाई प्राथमिकता दिएको बताए।

कार्यक्रममा सरकार, निजी क्षेत्र, नीति निर्माता, विद्यार्थी, समाजसेवी, उद्यमी र प्राविधिक, विज्ञहरू गरी ५०० भन्दाबढीको सहभागी रहेको छ। यहाँ १५ भन्दाबढी डिजिटल नयाँ परियोजना प्रदर्शनीमा राखिएका छन् भने अनुसन्धानपत्रहरू प्रस्तुतिका लागि वातावरण तयार गरिएको अध्यक्ष लम्सालको भनाइ छ।

अल्पास टेक्नोलोजी प्रालिका संस्थापक युजेस मलेकु श्रेष्ठले यस किसिमको कन्क्लेभले नवप्रवर्तनका क्षेत्रमा क्रियाशील युवालाई प्रोत्साहन मिल्ने भन्दै सरकारीस्तरबाट हरेक वर्ष यस्ता बृहत् कार्यक्रम आवश्यक रहेको बताए।

“विसं २०७५ देखि सूचना प्रविधिका क्षेत्रमा क्रियाशील छु, साथीहरूमा विदेश जाने लहर चलेका बेला नेपालमा नै केही सिर्जनात्मक काम गरौँ भन्ने लाग्यो। शुरूमा त गाह्रो भयो, निरन्तर मेहनत गर्दा स्वदेशी तथा विदेशी सङ्घसंस्थाका लागि २० वटाभन्दा बढी एपहरू बनाएर सेवा दिएका छौँ। ललितपुर महानगरले प्रयोगमा ल्याएको एलएमसी अलर्ट हामीले नै बनाएका हौँ,” उनले भने।

श्रेष्ठले यस्ता कन्क्लेभले नयाँनयाँ प्रविधिको जानकारी दिन, सूचना प्रविधिको विकासबारे बहस र पैरवी गर्नाका साथै सञ्जाल विस्तार गर्न सहयोग पुर्‍याउने बताए।

कन्क्लेभको उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग व्यास मिडिया नेटवर्कका प्रतिनिधि सञ्जय सिल्वाल गुप्ताले डिजिटल प्रविधिका क्षेत्रमा सरकारले गरिरहेको काम र नीतिगत व्यवस्थाका बारेमा अन्तरसंवाद गरेका थिए।