साप्ताहिक ब्रिफिङः भिजिट भिसा प्रकरणमा मानव तस्करीको विषय ‘सामसुम’, सीटीईभीटीभित्रकै ‘सेटिङ’मा शैक्षिक कार्यक्रम

यीबाहेक यो साता उकालोमा दुखाइ नियन्त्रण उपचारको बेलगाम धन्दा, सरकारको रूचिका विधेयक ‘फास्ट ट्रयाक’मा, कसले बनाउने नाला हुँदै बनेपा जाने सडक, होमस्टेका नाममा 'गेस्टहाउस' लगायतका स्टोरी चर्चामा रहे।

न्यूजलेटर शुरू गरौँ, भिजिट भिसा प्रकरणको अनुसन्धान भ्रष्टाचारमा सीमित हुँदा मानव तस्करीको विषय ‘सामसुम’ भएको सन्दर्भबाट।

करिब दुई महिनासम्म ‘अन्डरकभर अपरेसन’ चलाएर गत जेठ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाका नाममा नेपालबाट मानवतस्करी कसरी मौलाएको छ भन्ने उजागर गरेको थियो।

त्यो घटनालगत्तै अख्तियारका उच्च स्रोतहरूको हवाला दिएर यसमा राज्य–संयन्त्रहरूको मिलीभगत मात्र होइन, गृहमन्त्री लगायत उच्चपदस्थ नेताहरूको समेत संलग्नता रहेका समाचार तारन्तार आए जसले यो प्रकरणलाई राजनीतिको ‘हटकेक इस्यु’ बनायो। विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा मागेर संसद् ठप्प पारे। संसदीय छानबिन समिति गठनको माग उठ्यो। सार्वजनिक मञ्चदेखि सामाजिक सञ्जाल जताततै भिजिट भिसासँग जोडिएको ‘राजनीतिक नेक्सस’को चर्चा भइरह्यो।

तर बल्लतल्ल पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा यस प्रकरणबारे छानबिन गर्न समिति बनाइयो। समितिले छानबिन गरिरहेको भनिए पनि जानकारहरू यो समिति भिजिट भिसा प्रकरणलाई सामसुम पार्ने खेल मात्र भएको बताउँछन्। यसबारे थप बुझ्न बीपी अनमोलको रिपोर्ट पढ्न सक्नुहुन्छ: भिजिट भिसा प्रकरणः मानव तस्करीको विषय ‘सामसुम’, अनुसन्धान भ्रष्टाचारमा सीमित

यो साता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)भित्रकै सेटिङमा सम्बन्धनबिनाका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेकाबारे उकालोमा  विशेष रिपोर्ट प्रकाशित भयो।

सीटीईभीटीले यो वर्ष पाँच वटा प्राविधिक शिक्षालयमा सञ्चालन भइरहेको स्वास्थ्य कार्यक्रममा विद्यार्थी भर्ना गर्न रोक लगाएको थियो। बुटवलको आम्दा इन्स्टिच्युट अफ हेल्थ साइन्स, पोखराको गण्डकी पोलिटेक्निक इन्स्टिच्युट, सर्लाहीको कालिका पोलिटेक्निकल, दाङको तुलसीपुर बहुप्राविधिक शिक्षालय र सुर्खेतको योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको स्वास्थ्य कार्यक्रममा विद्यार्थी भर्ना रोकियो।

ती शिक्षालयले सम्बन्धन र स्वीकृति नलिएरै शैक्षिक कार्यक्रम सञ्चालन गरेपछि यस वर्षको भर्ना प्रक्रिया नै रोकिएको हो। सम्बन्धन र स्वीकृति नै नलिएका भए ती शिक्षालयले दुई वर्षदेखि कसरी ती कार्यक्रममा विद्यार्थी भर्ना लिइरहेका थिए? अनि अहिले अचानक उनीहरूको भर्ना के कारणले रोकियो? यिनै प्रश्नको उत्तरमा लुकेको छ, सीटीईभीटीका पदाधिकारी र उच्चपदस्थ कर्मचारीले गरिरहेको चलखेल। यसबारे थप बुझ्न पढ्नुहोस् लोकेन्द्र विश्वकर्माको रिपोर्ट :सीटीईभीटीभित्रकै ‘सेटिङ’मा चलाइन्छन् सम्बन्धनबिनाका शैक्षिक कार्यक्रम

उकालोमा चर्चामा रहेको अर्को समाचार योग्यताबिनाका जनशक्तिले डाक्टर लेखेर गर्ने उपचारको धन्दाको हो। दुखाइको उपचार गर्ने भन्दै खुलेका अस्पताल तथा क्लिनिकमा योग्यताबिनाका जनशक्तिले नामअघि 'डाक्टर' लेखेर उपचार गर्दा बिरामीको पैसा मात्र बर्बाद भइरहेको छैन, स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको छ।

पछिल्लो समय दुखाइको उपचार गर्ने भन्दै खोलिएका अस्पताल तथा क्लिनिक काठमाडौँ उपत्यकामा प्रशस्तै छन्। धेरैजसोमा योग्य र आधुनिक चिकित्सकको सट्टा आयुर्वेद, नेचुरोप्याथी वा विभिन्न थेरापीको तालिम लिएकाले नामको अघि ‘डा.’ राखेर बिरामी ‘जाँचिरहेका’ छन्।

यस्ता क्लिनिकले बिरामीलाई एमआरआई जस्ता महँगा परीक्षण गराएर कमिसन लिने, अनावश्यक थेरापी सिफारिस गर्ने र एलोपेथिक औषधिसमेत दिने गरेका छन्। यसबाट धेरै बिरामीको पैसा मात्र बर्बाद भइरहेको छैन, स्वास्थ्यमा नकारात्मक असर पनि परेको छ। दुखाइ नियन्त्रण उपचारका नाममा भइरहेको धन्दाबारे सागर बुढाथोकीको यो रिपोर्ट पढ्नुहोस् : दुखाइ नियन्त्रण उपचारको बेलगाम धन्दा

यीबाहेक यो साता उकालोमा प्रकाशित भएका प्रमुख समाचार यस्ता छन्:

देश-समाज

सरकारको रुचिका विधेयक ‘फास्ट ट्रयाक’मा, अरू अड्काएको अड्कायै
प्रधानमन्त्रीको चासोको भूमि विधेयक फटाफट पारित गर्ने प्रक्रियामा थियो, यद्यपि अन्तिममा रोकियो। तर विद्यालय शिक्षा विधेयकमा सरकारले चाहेका प्रावधान नराखिँदा लामो समय अड्काइयो। यस्ता उदाहरण धेरै छन्।

नदी किनाराको खाली क्षेत्रः शहरलाई सास फेर्ने ठाउँ
काठमाडौँ उपत्यकामा बढ्दो जनघनत्वका कारण खुला स्थानको अभाव छ। पछिल्लो समय बागमती किनाराको सौन्दर्यीकरणले त्यहाँका पार्क र संरक्षित स्थान शहरबासीलाई ‘सास फेर्ने ठाउँ’ भएका छन्।

कसले बनाउने नाला हुँदै बनेपा जाने सडक?
सूर्यविनायक–बनेपा खण्ड स्तरोन्नति भइरहँदा कमलविनायकबाट नाला हुँदै बनेपा निस्कने वैकल्पिक सडकमा सवारीसाधनको चाप छ। तर यो सडक मर्मतमा तीन तहले नै जिम्मेवारी नलिँदा दुर्घटनाको जोखिम बढेको छ।

विचार-टिप्पणी

हवाई दुर्घटना अनुसन्धानका लागि अलग्गै स्वायत्त निकाय
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको प्रमुख सिफारिसमध्ये एक हो दुर्घटना अनुसन्धान निकायको स्वतन्त्रता। उड्डयन सुरक्षामा गरिने लगानीलाई अनावश्यक खर्चका रूपमा नभई दीर्घकालीन लाभका रूपमा हेर्नुपर्छ।

गाईपछि कुकुर: निमुखालाई सधैँ अत्याचार
ढुंगामाटो हटाएझैँ शहरबाट केही हप्तामै लाखौँ कुकुर हटाउन अदालत आदेश दिन्छ। त्यस्तो आदेश दिने देश/समाजका धेरै मान्छे पशुपंक्षीलाई ढुंगामाटोझैँ नै ठान्छन्।

गीत गाएरै संसार घुमौँला भन्ने कहिल्यै सोचेको थिइनँ: अमृत गुरुङ 
‘द्वन्द्वका बेला गाउँबाट मानिससँगै लोकसंगीतको श्रुति परम्परासमेत विस्थापित भइगए। अर्को एउटा जेनेरेसनले त्यो सुन्न–सुनाउनै पाएन। यो ‘ग्याप’ अब कहिल्यै पूर्ति हुन्छ जस्तो मलाई लाग्दैन।’

भूमिहीनको व्यवस्थापनमा ‘बाधक’ वन ऐन
राजनीतिक सहमतिबाट भूमिहीनका समस्या समाधानका लागि सकारात्मक पहल गरिएन भने फेरि पनि भूमिहीनका समस्या समाधान ओझेलमा पर्ने निश्चित देखिन्छ।

अर्थ बजार

होमस्टेका नाममा होटल र गेस्ट हाउसः अन्धाधुन्ध दर्ता गरिदिन्छन् वडा कार्यालय
दर्तामा सहज हुने र राजस्व पनि कम लाग्ने कारण काठमाडौँ महानगरमा होमस्टेका नाममा धमाधम खुलेका होटल र गेस्ट हाउसलाई वडा कार्यालयहरूले सहजै दर्ता गरिदिने गरेका छन्।

जीवनशैली 

अर्बौंको व्यापार गरिरहेको विचित्रको खेलौना– लाबुबु
खेलौनाको विश्वबजारमा प्रचलित मान्यताभन्दा फरक रूप, रङ र हाउभाउको ‘लाबुबु’लाई कतिपयले आकर्षक मान्छन्, कतिलाई दानवजस्तो लाग्छ। तर विश्वव्यापी रूपमा भइरहेको यसको व्यापार भने चकित पार्ने खालको छ।​​​​​​​

खेल

एशिया कप छनोट: उत्तर कोरियासँग पराजित भएसँगै बाहिरियो नेपाल 

एएफसी यू२० महिला एशियन कप छनोटमा नेपाल, उत्तर कोरियासँग ११-० को फराकिलो अन्तरले पराजित भएको छ। आइतबार भुटानको थिम्पुमा भएको खेलमा एकपक्षीय रूपमा हाबी हुँदै उत्तर कोरियाले लगातार तेस्रो जित दर्ता गरेको हो।

यो जितसँगै ९ अंक जोडेर उत्तर कोरिया समूह ‘ए’को विजेता बन्दै सन् २०२६ मा थाइल्यान्डमा हुने यू२० वुमेन्स एशिया कपका लागि छनोट भएको छ। तीनपल्टको विश्व र दुईपल्टको एशियाली च्याम्पियन उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५-० र भुटानलाई १०-० ले हराएको थियो।

नेपालले पहिलो हाफमा पाँच गोल र दोस्रो हाफमा ६ गोल खाएको थियो। खेलको तेस्रो मिनेटबाटै गोल गर्न शुरू भएको थियो। यो पराजयसँगै नेपालको एशिया कपमा छनोट हुने यात्रा समाप्त भएको छ। 

विश्व

युक्रेन शान्तिका लागि ट्रम्प–पुटिनको अलास्का भेट कति प्रभावकारी होला?

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज राति अमेरिकाको अलास्का राज्यमा भेटवार्ता हुँदैछ। यस भेटवार्ताको मुख्य उद्देश्य सन् २०२२ को फेब्रुअरीदेखि चलिरहेको युक्रेन युद्ध अन्त्यका लागि मार्ग प्रशस्त गर्नु हो।​​​​​​​ यस भेटवार्तालाई युक्रेन युद्ध अन्त्य गर्ने महत्त्वपूर्ण पहलका रूपमा हेरिए पनि, युक्रेनको सहभागिताबिना र रुसका शर्तहरूले शान्ति स्थापनामा चुनौती रहेको देखिन्छ।

काश्मीरमा भीषण बाढी : ३४ जनाको मृत्यु, दर्जनौँ घाइते

भारत-शासित जम्मू-काश्मीरको किष्टवार जिल्लामा भीषण वर्षापछि आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बिहीबार बिहान ‘क्लाउड ब्रस्ट’ पछि आएको बाढीका कारण कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

किष्टवारका जिल्ला आयुक्त पंकज कुमार शर्माले दिएको जानकारीअनुसार, उद्धार टोलीले हालसम्म ३४ शव फेला पारेको र ३५ जना घाइतेको उद्धार गरेको छ। अझै केही मानिस हराइरहेकोले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। अहिले बाढी प्रभावित व्यक्तिहरूको उद्धार प्रयास जारी रहेको छ।