लागु औषध मुद्दामा निसीखाेला गाउँपालिका अध्यक्षलाई तीन वर्ष कैद

बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले साेमबार तीन वर्ष छ महिना कैद र ५० हजार रुपैयाँ जरिबानाकाे फैसला गरेको हो।

गलकोट– बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागु औषध कारोबारमा तीन वर्ष छ महिना कैद र ५० हजार रुपैयाँ जरिबानाको फैसला भएको छ। 

बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले साेमबार उक्त फैसला गरेको अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए।

घर्ती निसीखोला–६ को वडाध्यक्ष रहेका बेला २०७७ असारमा ८० किलो गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए। उनीमाथि लागेको कसुर २०७९ पुस ३ गते ठहर भएको थियो। 

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो। तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो। फैसलाको पूर्णपाठ आउन बाँकी रहेको भण्डारीले बताए।