रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ सिसवाका शिवलाल लोहारले पुर्ख्यौली सीपलाई आधुनिक प्रविधि र औजारसँग जोडेर पेसालाई नयाँ जीवन दिएका छन्।
भैरहवा– रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ सिसवाका शिवलाल लोहारको जीवन पुर्ख्यौली आरनको आगो र फलामको कामसँग जोडिएको छ। तर, उनको आरन अब परम्परागत मात्र छैन। पुर्ख्यौली सीपलाई आधुनिक प्रविधि र औजारसँग जोडेर आफ्नो पेसालाई नयाँ जीवन दिएका छन्। यो कथा शिवलालको पुरानो पेसाप्रतिको सम्मान र नयाँ प्रविधिप्रतिको खुला सोचको एक प्रेरणादायी उदाहरण हो।
उमेरले ३७ वर्ष मात्र पुगेका शिवलालले आफ्ना बुबा र हजुरबुबाबाट फलामको काम सिके। उनको पुस्ताले कोइलाको आगो फुकेर फलामलाई तताउने, अनि घन र हथौडाको सहायताले हँसिया, बन्चरो, खुर्पा, चुलेसीजस्ता औजार बनाउने काम गर्थे। यो कामले धेरै मेहनत र धैर्यको माग गर्थ्यो। एक दिनमा केही औजार मात्र बनाउन सकिन्थ्यो र त्यो पनि निकै थकाइ लाग्ने काम थियो। परिश्रमअनुसारका पारिश्रमिक पनि पाइँदैनथ्यो। आरनको काम गरेबापत तत्कालीन समयमा बाली (जीवका) पाइन्थ्यो।
शिवलालले यो परम्परालाई निरन्तरता दिँदै गर्दा उहाँले केही परिवर्तनको आवश्यकता महसुस गरे। ग्राहकले छिटो र राम्रो काम खोज्न थालेका थिए। बजारमा मेसिनले बनेका सस्तो र आकर्षक औजार आउन थालेपछि परम्परागत आरनको काममा चुनौती थपियो।
“पुर्ख्यौली पेसालाई आधुनिक प्रविधि र औजारको प्रयोगले नयाँ जीवन दिँदै फलामबाट जीविकोपार्जन गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सफल भएँ,” उनी भन्छन्, “अब परम्परागत आरनको धुवाँ र धूलोमा मात्र सीमित हुनुपर्दैन।”
पुस्तौँदेखि लोहार समुदायले गर्दै आएको फलामको कामलाई अहिलेको समय सुहाउँदो बनाउनु नै उनको सफलताको मुख्य कडी हो। परम्परागत आरनमा कोइलाको आगो फुकेर हत्केलाले घन चलाउँदै बनाइने हँसिया, बन्चरो, खुर्पा, चुलेसीजस्ता औजार अहिले बिजुलीबाट चल्ने ग्राइन्डर, वेल्डिङ मेसिन र अन्य आधुनिक उपकरणको सहयोगमा सजिलै छिटो बन्न थालेका छन्। पुरानो आरनमा नयाँ चमक देखिएको छ।
शिवलालले यो काममा हात हालेको धेरै भएको छैन। १८ वर्ष अघि पेसा शुरू गरेका उनले आफ्नो गाउँको पुरानो आरनलाई आधुनिक बनाउने संकल्प लिए। गाउँको पुरानो आरनको ठाउँमा सानो वर्कसप नै स्थापना गरे। “पहिले दिनभर एउटा खुर्पा बनाउन लाग्थ्यो, त्यसमाथि हात पनि पोल्ने डर हुन्थ्यो,” उनी भन्छन्, “अहिले आधुनिक मेसिनको प्रयोगले छोटो समयमै धेरै औजार बनाउन सकिन्छ ”
आधुनिक प्रविधिको प्रयोगले उत्पादनको गुणस्तरमा सुधार आएको छ। यसले गर्दा बजारमा माग पनि बढिरहेको छ। “पहिलेका औजारमा धार छिटो बिग्रने समस्या थियो, तर अहिले मेसिनले गर्दा बनेका औजार अझ टिकाऊ र बलिया भएका छन्,” उनी भन्छन्, “रुपन्देही मात्र नभई काठमाडौँ, विराटनगर, हुम्ला जुम्लासम्म मैले बनाएका औजार पुगेका छन्।”
यसै पेसाले उनले आफ्नो र दिवंगत भाइका सन्तानलाई निजी विद्यालयमा पढाइरहेका छन्। यसैले घरखर्च चल्ने गरेको छ। उनी आफ्नो यो पेसामा पूर्ण सन्तुष्ट देखिन्छन्। नौ जनाको परिवार पनि सन्तुष्ट छ। दैनिक औषतमा ५ हजारसम्मको कारोबार हुने गरेको उनले सुनाए।
शिवलालको यो प्रयासले लोहार समुदायका अन्य युवालाई पनि प्रेरणा दिएको छ। उनीहरू पनि आधुनिक मेसिन चलाउन सिक्न उत्साहित छन्। लोहार समुदायको परम्परागत सीपलाई आधुनिक प्रविधिले नयाँ ढंगबाट संरक्षण गरेको यो उदाहरणले अन्य पेसाकर्मीलाई पनि आफ्नो काममा नयाँपन ल्याउन प्रोत्साहन मिलेको छ।
“मेरो यो प्रयासले फलामको कामलाई केवल परम्परागत पेसाको रूपमा मात्र नभई आधुनिक र सम्मानित पेसाको रूपमा स्थापित गर्न मद्दत गर्नेछ,” उनी भन्छन्। यसले युवालाई बिदेसिनुभन्दा आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ।
आफ्नो आरनमा पहिलोपटक बिजुलीबाट चल्ने ग्राइन्डर र वेल्डिङ मेसिन भित्र्याउँदा शिवलाल दृढ थिए कि, यसले राम्रो प्रतिफल दिन्छ भनेर। उनले नयाँ प्रविधिको प्रयोगबाट काम कति सजिलो र छिटो हुन्छ भन्ने कुरा देखाउने निर्णय गरे र यसमा सफल पनि भए।
ग्राइन्डरले फलामलाई छोटो समयमै आकार दिन र धार लगाउन मद्दत गर्यो। पहिला हत्केलाले घन चलाउँदै धेरै बेर लगाएर मिलाउने काम अब केही मिनेटमै हुने भयो। बेल्डिङ मेसिनको प्रयोगले फलामका टुक्रा जोड्न र औजारको मर्मत गर्न निकै सजिलो भयो। यसले समय र श्रम दुवै बचायो।
यी आधुनिक औजारको प्रयोगले शिवलालको कामको गुणस्तर पनि बढ्यो। बनेको औजार अझ राम्रो र फिनिसिङ भएका देखिन थाले। यसले ग्राहकलाई आकर्षित गर्यो र उनले बजारमा आफ्नो छुट्टै पहिचान बनाए।
कामको माग बढेपछि शिवलालले काममा सहयोग गर्न चार जना कामदार पनि राखे। आफ्ना कामदारलाई पनि आधुनिक औजार चलाउन सिकाए। अब उनीहरू सबै मिलेर काम गर्दा कामको गति झनै बढ्यो। यसले गाउँका अरू मानिसलाई पनि रोजगारी मिल्यो।
नयाँ प्रविधि अपनाउनु शिवलालको लागि भने त्यति सजिलो थिएन। सुरूमा औजार चलाउन केही गाह्रो भयो। बिजुलीको बिल पनि बढ्यो। तर, हार मानेनन्। बिस्तारै–बिस्तारै औजार चलाउनमा दक्षता बढाए। कामबाट हुने आम्दानी बढेपछि बिजुलीको बिल पनि त्यति ठूलो समस्या लागेन।
शिवलाल भन्छन्, “परम्परागत सीपको जगमा नयाँ प्रविधिको घर बनाउँदा नै दिगो विकास सम्भव हुँदो रहेछ। मैले पुर्खाले सिकाएको सीपलाई बिर्सिनँ, तर समयसँगै परिवर्तन हुनुपर्छ भन्ने कुरा पनि बुझेँ।” पेसागत कामप्रति स्थानीय सरकारको अपनत्व हुनुपर्ने भए पनि त्यसो नभएको उनको छ। “अन्य पालिकामा यसै पेसामा लागेकालाई पालिकाले औजारहरू दिएर पेसा सञ्चालन गरेको थाहा पाउँछु,” लोहारले भने, “तर हाम्रो पालिकामा त्यस्तो केही सहयोग पाइएको छैन।”
शिवलाल लोहारको कथा ग्रामीण क्षेत्रमा रहेका परम्परागत पेसाकर्मीका लागि एक प्रेरणाको स्रोत बनेको छ। उनले परम्परागत पेसालाई लोप हुनबाट जोगाउन र यसलाई अझै पनि जीवन्त राख्न आधुनिक प्रविधिको प्रयोग अपरिहार्य छ भन्ने प्रमाणित गरेका छन्। यो सफलताले नयाँ पुस्तालाई पनि यो पेसा अँगाल्न प्रेरित गर्न सक्छ।
शिवलालको आरनमा आज पनि कोइलाको आगो दन्किन्छ, तर त्यसको छेउमा ग्राइन्डरको आवाज पनि सुनिन्छ। यो दुवैको संयोजनले आरनलाई नयाँ जीवन दिएको छ। आफ्नो पेसामा पूर्ण रूपमा सन्तुष्ट छन् र यसबाटै आफ्नो परिवार र गाउँको भविष्य उज्यालो बनाउन लागि परेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
