पुस्तक समीक्षा
अत्याचार खप्न नसकेका युवा देशमा केही गर्ने चाहना र जाँगर भए पनि विदेश उड्न बाध्य छन्। निर्गमले सत्यको त्यही आँखीझ्याल देखाउन खोजेको छ।
असार तेस्रो साता। एउटा बिहान ब्रह्ममुहूर्त नाघेर धेरै माथि आइसकेको छ। सातामा एक दिन आउने शनिबार पनि म आफ्ना घरायसी दायित्व र जिम्मेवारीमाथि आँखा चिम्लेर उड्दो चरी हुन्छु। बत्तिन्छु, मध्यशहरको कोलाहलतिर। पुतलीसडकस्थित ग्रिन लिफ अर्थात् हरियो पात रेस्टुरेन्टमा नयाँ भुटानको छायाचित्रमाथि विमर्श हुँदै छ। त्यो कृतिमाथि दुई–चार कुरा बोल्नु छ। गुरु गोविन्दराज भट्टराईको यो कृति पाठपछि म हुँडलिएको छु। यसले कति दिनदेखि सुत्न दिएको छैन, न त निदाउन नै सकेको छु। घरीघरी झकाउँछु र बरबराउँदै उठ्छु।
त्यस्तो कृतिमाथि बोल्नु छ तर कसरी? चेतनामा तर्कनाका अनेक लहरा बेरिँदै छन्– ती लहरा हुन वा हावाका हुलाकी! म छुट्ट्याउन सकिरहेको छैन। लाग्छ– ती हाम्रै दाजुभाइका वेदना, चीत्कार र अभिघात कथा हुन्। जो नयाँ भुटानको छायाचित्रको बाटो भएर मेरो मनको ‘पोस्ट बक्स’मा खसेका छन्। त्यो तिनले बाँचेको डायस्पोरीय जीवनको दुखान्त पटकथा हो, जसलाई गुरुले छायांकन गरेर सिनेमाको पर्दामा उतार्नु भएको छ।
म त्यस्तो दुर्लभ कृतिमाथि बोल्न जाँदै छु। ज्यान मोटरसाइकलमाथि र मन हावाको तारमा झुन्डिएर छुट्टाछुट्टै हिँडेका छन्। पुग्ने ठाउँ उही। गर्नुपर्ने काम एउटै तर किन यसरी तन र मनले अलग–अलग बाटो समातेका? दुई बाटा समातेर हिँडेका दुई तत्त्वलाई मैले जसोतसो एउटै विन्दुमा पुर्याएँ। म ग्रिन लिफ अर्थात् ‘हरियो पात’ रेस्टुरेन्टका खुड्किला उक्लिन्छु। भित्र सभाकक्षमा जम्मा हुने, बोल्ने, बोलाउने र खासखुसको समय शुरू भइसकेको हुन्छ।
पछि आउने चोर बिरालोझैँ भरिभराउ हलको दायाँबायाँ घुस्रिन खोज्छु। ठाउँ कतै खाली हुँदैन। खाँदखुँद गरेर बसेका दर्शक, श्रोता र वक्तासँग म सभाकक्षको पछाडि पुगेर भित्तामा ढेसिन्छु। त्यहीँ छन्– साहित्यिक सहेली अनिता पन्थी, मि–रमा र अनिता कोइरालाहरू। आँखा दायाँबायाँ नचाउँदै म कम्मरमुनिको अंग टिकाउने ठाउँ खोजिरहेको छु। खोजाइ सकिएकै होइन, एक प्रौढले मतिर तेर्स्याउँदै बडो कलात्मक ढाँचामा नीलो बोक्रोले ढाकेको चिटिक्कको पुस्तकको ढोका खोले। पातोमुन्तिर निर्गम र तल्लो कान्लामा गोकर्ण मल्ल लेखिएको।
म वाल्ल परेँ। एक त कनीकुथी केही लेख्दै गरेकोलाई कसले स्रष्टा बनायो? अर्को, ती सज्जनले मेरो हुलिया कसरी जाने? दिमाग चलिहाल्यो– यस्तो कर्म अरू कसैले गर्दैन। ती गोविन्द गुरु नै हुन्। समकालीन मात्रै होइन, छोरा र नाति पुस्ताप्रति अविरल प्रेमधारा बगाएर सिर्जनाको मूलधारमा उभ्याउन बूढा मरिमेटिरहेका हुन्छन्। यसो गर्न उनलाई कुन तत्त्वले उचालिरहेको हुन्छ? म चकित पर्छु। पाँच दशकदेखिको कर्म अविश्रान्त छ। कसरी सकेको होला? कसरी भ्याएको होला? अनि त्यो हृदयमा भुलभुलाएको स्नेह कति नरित्तिएको होला?
पानीको मूल पनि खडेरीमा सुकेर मसिनो हुन्छ। बर्खामा उर्लिन्छ तर यी बूढाको हृदयमा पलाएको प्रेरणादायी भाव र हौसलाको जरुवा बाह्रैकाल एकनासले कल्कलाइहन्छ। उनी विशाल पहराको कप्चेरामा धर्तीको पिँध उक्काएर बगेको स्वच्छ कञ्चन पानीको मूल हुन्। उनको देहले कुनै समय विश्राम लेला तर उनका कृतिमार्फत त्यो स्नेहिल भरोसा कहिल्यै रित्तिँदैन– यो धर्ती आकाश रहँदासम्म।
ठानेँ– मेरा बारे बढाइचढाइ गरेर चिठी पठाउने उनै गुरुबाहेक अरू कोही हुनै सक्दैन। धुरी चढेर चुलीमा उक्लेका कतिले त साहित्यमा जन्मिँदो पुस्तालाई नलीहाड भाँच्चिने गरी हिर्काएर थला पार्छन्। अनि कहिल्यै उभिने आँटै गर्दैनन् तर गोविन्द गुरु त्यस्ता अघोरीका गौँडा थुनेर नवीन सिर्जना हुर्काउन मल–पानी हालिरहेका हुन्छन्।
त्यत्ति सोचेपछि मैले ती प्रौढ सज्जनले दिएको कोसेली हात थापेँ। उनी शिरमा ढाका टोपीको गजुर उभ्याएर अघिदेखि याचक दृष्टिले मतिर दृष्टि लाइरहेका थिए। प्राकृतिकमा थप दुई कृत्रिम आँखा थपेका काका उमेरका मल्लको अनुहारमा अचम्मको विनयशीलता देखेँ। मेरा ओठसम्म हार्दिकता दर्शाउने शब्द आउनै सकेन।
नयाँ भुटानको छायाचित्रको बिहानी उत्सवको बिट मारियो। किसिम–किसिमका तिहुन–तरकारी, चटनीसित स्वादिष्ट मार्सीले पेटको टेम्को भरियो। अनि निर्गम देखाउँदै गुरुलाई प्रश्न गरेँ– यो के गर्ने? उहाँ मुसुक्क हाँस्नुहुन्छ। त्यो मुस्कान मलाई धर्तीको सुरक्षार्थ उभिएको सिंगै पहाड हाँसेजस्तो लाग्छ। यही हाँसो हेरेर धरामा ओइलाएका मुजुरा जुरमुराएर उठ्छन्। ती बढ्दै जान्छन्, हुर्किएर पाउलिन्छन्, वयस्क हुन्छन्, कोपिलाउँछन् र फक्रिन्छन्। कस्तो अद्भुत शक्ति छ, त्यसमा।
‘साउन ३ गते यहीँ यसको यज्ञ हुन्छ, त्यसका लागि वरण गरिएको एक जना पण्डित तपाईं पनि हो। साढे २० मिनेट मच्चिएर बोल्नुपर्छ।’
अब पर्यो फसाद! कहिले त झोक चल्छ– बुढाले ठाउँ न कुठाउँ यसरी भुंग्रामा हाल्दिन्छन्। न त्यो पण्डित्याइँको ल्याकत आफूमा छ, न त त्यो भुंग्रोबाट उम्किन पाइन्छ। यस्तो बेला मलाई ‘जीवनकै कठिन परीक्षा दिँदै छु’ झैँ लाग्छ। अन्ततः जसरीतसरी गुरुले धकेलिदिएको अग्निकुण्डबाट पार हुनैपर्छ, नत्र त त्यहीँ डढेर खरानी। अनि निथ्रिन बाँकी बैँसमै जिन्दगी चिलिम ! त्यस्तो कुण्ड फट्केर, उफ्रेर पल्लो ढिक पुग्न सकियो भने फेरि जीवनले सास फेर्न पाउला। गुरु सुनारको अवतारमा चेला–चपेटालाई सुन ठानेर रातो भुंग्रोमा धकेल्नु हुन्छ। ताकि, खारिएर निस्किउन् र स्फटिकजस्तो चमचमाउन्। सबै किन यस्ता हुन्थे र! तैपनि उहाँ सबैलाई एक नम्बरी सुन बनाउन पसिना निकालिरहनु हुन्छ।
चुच्चो परेका, चोसो निस्केका, पिँध फुटेका, चिरा परेका, फुटेर अणुमा रूपान्तरण भइसकेका सबै खालका सुनका प्रकारलाई गुरु चम्काउने प्रयत्न गर्नु हुन्छ। नमिलेको चुच्चो मिलाउनु हुन्छ। पिँध टाल्नु हुन्छ। जोडजाड, ठोकठाक पारेर आकर्षक पार्न खटिइरहनु हुन्छ। म यसरी छेउकुनो मिलाएर, छाँटेर, जोडेर, घोटेर देख्न हुने पारिएको अनुहार मध्येको हुँ। त्यसैले उहाँको फराकिलो राजमार्गमा बेगिएर निर्गम म समक्ष आयो।
म निर्गम हेरिरहेको छु– बाहिर गाढा नीलोमसीले अलग्गै क्यानभास बनाएको छ; बीचमा अग्लो हिमचुली उभिएको। त्यो चुलीको बाटो हुँदै जहाज उडेको छ। सायद त्यो दूरदेश जाँदै छ, अभावको भकारी भर्ने चाहनाका अनगिन्ती आफन्तको सम्झना बोकेर।
चिनारीको देउराली
कृतिधनी सेवानिवृत सहप्राध्यापक हुन्। दशकौँ प्राध्यापनमा जीवन अर्पण गरिसकेको व्यक्तिको परिचय खोतल्नु उसको अपमानजस्तै लाग्छ। यसअघि उनका दुई कृति प्रकाशित भइसकेका रहेछन्– सिउँडीको फूल कवितासंग्रह र शुभारम्भका पाइलाहरू उपन्यास। यसैले उनी नेपाली साहित्यको देउराली चढिसकेका छन्। डाँडामा उभिएर घोक हाल्नुको के अर्थ? कृतिको भूमिकामै गोविन्द गुरु लेख्नुहुन्छ– यस उमेरमा आइपुगेर पनि साहित्य चिन्तन गर्नु नै ईश्वर चिन्तनको एक रूप हो जस्तो लाग्छ। यो वाक्यले नै एक कृति बराबरको अर्थ बोकिसकेको छ। कृतिकारको सबैभन्दा गहन चिन्तन पनि यही हो।
दृष्टिपात
पाठकीय दृष्टिमा निर्गम एक सामाजिक प्रेमकथाको उपज हो; जो गोरखा जिल्लाको ग्रामीण परिवेश वरिपरि, चितवन, काठमाडौँ र अमेरिकासम्म डुल्न भ्याएको छ। उपन्यासको नायक शिवनाथ पढ्छ, उच्च शिक्षार्जन गर्न अमेरिका पुग्छ। त्यहाँ उसको सतिभासँग प्रेम हुन्छ। फर्केर नेपाल आउँछ। नेपालमा जीवन धान्न अनेक सम्भावना खोज्छ। अवसर नभेटेर वा पहिल्याउन नसकेर हो, ऊ पुनः बिदेसिन्छ। कृतिको सार यत्ति हो। तथापि, यसभित्रका केही विषय अत्यन्त गहन छन्। तिनले नेपाली जनजीवन, बेरोजगारी समस्या, निराशावाद, राजनीतिक दलालीकरणको विचित्र चित्र, मुगलानिनुपर्ने बाध्यताका छायाचित्र कोरेका छन्। त्योभन्दा पर यस कृतिमा समाजशास्त्रीय चिन्तन मीमांसा छ।
ग्रामीण जनजीवन
कृतिमा गोरखाको खाप्दी भन्ज्याङ, चौतारी, वनपाखा, देउराली, तरेली परेका खेतबारीले पटक–पटक गाउँ पुर्याउँछन्। कृति गाउँले जीवन बोकेर थुम्कोमा उभिइरहेको छ। भर्खर–भर्खर सडकको पहुँच पुगेको ठाउँको परिवेश उतारिएको छ। ती कच्ची मोटरबाटा, गाडी चालक र सहचालकको रैथाने लवजले अर्धविकसित गाउँको सपाट चित्र उतारेको छ।
हरेक वर्ष आउने भीषण बाढी–पहिरो, त्यसको असर र विस्थापित हुनुपर्ने पीडा उम्लेर आएको छ। घाटे जोगीको कथाले विपद्को कहालीलाग्दो अवस्था दर्शाएको छ। साथै, ग्रामीण परिवेशसँगै कतिपय सन्दर्भमा आञ्चलिक भाषिकाको स्वाद पाइन्छ। जस्तै: काठमाडौँ जान बस चढ्ने क्रममा कृतिकी पात्र पार्वती भन्छे,... यसै बसमा जाम। सिट खाली भएसी तँ नै पहिला बस्लास् नि त ... (पृ.५)। ... यति धेरै समय कस्काँ के गर्न बसिस् (पृ.३७)?
मितेरी साइनो
नेपाली समाजभित्र अत्यन्त महत्त्व र प्रेमका साथ जोडिने सम्बन्ध हो, मितेरी साइनो। यो सामाजिक र सांस्कृतिक संरचनाको एउटा अंशसमेत हो; जुन आज करिब मेटिइसकेको छ। समाज र समयको स्मृतिमा गइसकेको साइनोलाई कृतिकारले पुनर्जीवन दिएका छन्। कतिपय सन्दर्भमा यो साइनो रगतको नाताभन्दा पनि गाढा र हार्दिकतापूर्ण मानिन्छ।
कथाराम्भदेखि जोडिएर आएको शिवनाथको मित श्यामसुन्दर श्रेष्ठले अन्त्यसम्म साथ छोड्दैन। शिवनाथका हरेक सुख दुःख, अप्ठ्यारा, व्यवहारिक पाटामा उसले साथ दिइरहन्छ। निराश हुँदा सम्झाउँछ, पारिवारिक व्यवहार बुझाउँछ र आशाको प्रदीप्त बालिरहेकै हुन्छ। शिवनाथको मितबुवा परिवर्तनशील छन्। उनमा ‘समयानुसार चल्नुपर्छ’ भन्ने आधुनिक चेत छ; जसले छोराहरूको निराशामा आशाको सञ्चार गरेको छ। जीवनका अनेक अप्ठ्यारासँग जुध्दै संघर्ष गर्नु र आशावादी भइरहनु यसको बलियो सन्देश हो।
यहाँ मितेरी साइनो के हो? कति महत्त्वपूर्ण हुन्छ? कुनै पात्रबाट खुलाएको भए आजको पुस्ताले बुझ्न सक्थ्यो। त्यो पाटो भने खट्केको महसुस हुन्छ।
प्राकृतिक जीवन
आजको शहरिया मानिस योग, साधना, ध्यान र अध्यात्मतिर केन्द्रित हुँदै गएको छ। ओशो तथा सद्गुरुका प्रवचन सुन्ने, तिनकै ध्यान साधनामा लीन हुने वा जीवन–विज्ञानका अनेक प्राकृतिक जीवनशैली अपनाउनतर्फ एकोहोरिएको पाइन्छ। शहरको अत्यासलाग्दो जंगलबाट मुक्त हुन खोजेको संकेत पनि हो, यो। यसलाई निर्गमले कहीँ न कहीँ जोड्ने कोसिस गरेको छ।
आधुनिकभन्दा प्राकृतिक उपचार पद्धतितिर मानिसलाई तान्ने कोसिस छ। ज्यादुल खोलामा बगेको शिवनाथलाई जोगीले उद्धार गर्नु, जंगली जडीबुटीबाट उसको उपचार गर्नु र घोड्टाप्रे, वनमारा, घोट्सारे जस्ता घरेलु बुटीका नाम उल्लेख गर्नु त्यसका उदाहरण हुन्। वन–पाखा, खोल्सा–खाल्सी र भीर–टाकुरामा पाइने वनौसधीको उत्तम प्रयोग गर्न जानेमा त्यो आधुनिक उपचार पद्धतिभन्दा कम नरहेको अर्थ पनि यसबाट बुझ्न सकिन्छ। कृत्रिम जीवन बाँचिरहेको मानिसलाई प्राकृतिक लय नबिर्सिन संकेत गरिएको छ। जुन आध्यात्मिक जीवनदर्शन पनि हो।
पारिवारिक कचिंगल
निर्गमले उठाएको अर्को पाटो हो– अर्धविकसित सामाजिक संरचनाभित्रको पारिवारिक कलह। जहाँ छोराछोरीप्रति बाबुआमाको दृष्टिकोणमा भिन्नता छ। घरमा नारी अर्थात् आमाको हैकम र पितालाई कमजोर देखाइएको छ। सम्पत्ति, अंशबन्डाले ल्याउने कचिङलले पुरानो समाजको झल्को दिन्छ। हुन त, नयाँ सामाजिक संरचनाभित्र पनि यी पक्ष जिउँदै छन्। परिवारले हुनेखाने र सबल सन्तानको पक्ष लिने र सद्भाव राख्ने संस्कार आज पनि छ।
शिवनाथको मित अर्थात् श्यामसुन्दरको पारिवारिक विवेचनामा यी कुरा जोडिएका छन्। शैक्षिक र आर्थिक रूपले कमजोर सन्तानप्रति लचिलो हुनुपर्ने प्राकृतिक नियमविपरित बाबुआमा कठोर देखिन्छन्। अझ आमाले त्यस्ता सन्तानलाई घृणा र तिरस्कार गर्ने गरेको समयको चित्र उतारिएको छ। आर्थिक हिसाबले सम्पन्न छोराछोरीको पक्ष लिनु धनप्रतिको मोह र मानवीय स्वार्थ हो। यो दृश्य पनि निर्गमले कोतर्ने कोसिस गरेको छ।
अनमेल र अन्तरदेशीय प्रेम
कृतिभित्र अनमेल र अन्तरदेशीय प्रेम छ। शिवनाथ र पार्वती एकै गाउँका बालसखा हुन्। यहाँ पार्वतीले शिवनाथलाई औधी प्रेम गर्छे तर उसले त्यसको मर्म बुझ्दैन। शिव आफूलाई पढेलेखेको, उन्नत र शहरिया भनाउन रुचाउँछ। यसैले आफूसँग पार्वती दाँजिन नसुहाउने उसको तर्क हुन्छ। शिवनाथले जहिल्यै तिरस्कार गरेपछि उसले मन मार्छे। जब शिवनाथ पार्वतीप्रति विवाह गर्न सकारात्मक हुन्छ, तब ऊ अमेरिका उड्छे। यसलाई एकोहोरो वा अनमेल प्रेमको अंश मान्न सकिन्छ।
त्यस्तै, अमेरिका पढ्न गएको शिव र सतिभाबीच प्रेम हुन्छ। यसले देखाउँछ– विश्व अब एउटै गाउँ भयो। यताको मान्छे उता जानु वा उताको यता आउनु सामान्य हो। विदेशी नागरिक (सतिभा) को नेपाली भाषा, संस्कृति र प्रकृतिप्रति गहिरो अनुराग छ। यो आफूले माया गरेको मानिस तथा सम्बन्धित भूगोल, संस्कृति र माटोलाई समेत आत्मसाथ गर्नु हो; प्रेमप्रतिको समर्पण पनि। कृतिले प्रेमभन्दा माथि जात, धर्म र भूगोल हुँदैन भन्ने सन्देश बोकेको छ।
नेपाल प्राकृतिक रूपले सुन्दर छ। सम्भावना नदेख्नेका लागि यहाँ प्रशस्त अवसर पनि देखाइएको छ।
विश्वग्रामीकरण र बसाइँसराइ
कृतिभित्र पहाडमा सम्भावना सकिँदै गएको, अवसर खोज्दै मानिस मधेश वा शहरतिर बसाइँ सर्दै गएको चित्र छ। पहाडबाट बसाइँ जानुमा पहिलो त सुखी र उन्नत जीवनको मनोकामना हो। दोस्रो प्राकृतिक प्रकोपको सास्ती, अवसर र सम्भावनाको खोजीमा मानिस हिँडिरहेको छ। गाउँबाट बजार, शहर, मधेश वा विदेश सरिरहेको छ। निर्गममा बूढीगण्डकी जलविद्युत् आयोजना विकास हुने चर्चा छ। यसले जग्गा अधिग्रहण गर्दा त्यहाँबाट मानिस वरपर वा चितवनतिर बसाइँ गएका छन्। कतिपय पूर्वाधार विकासले पनि त्यो पाटोलाई बल पुर्याएको हुन्छ। यो मानवीय जीवनवृत्ति चक्र हो।
अवसर र ज्ञानआर्जन गर्न जहाँ गए पनि हुन्छ। त्यो गलत होइन। विश्व ग्रामीकरणको विशेषता नै यही हो। नेपालबाट पुनः अमेरिका उड्दै गर्दा शिवनाथले पनि बाबुआमा समक्ष यही कुरा दर्शाएको छ,... यो पृथ्वी सानो गाउँ जस्तो भइसक्यो पिर नगर्नुस् बुबाआमा र दाजुभाउजू (पृ.१६५)। यो उत्तरचेतनाको कुरा हो।
यद्यपि, आजको युवा देशभित्र सम्भावना नै देख्दैन। त्यसप्रति दिलचस्मी राख्दैन। विदेशमा मात्रै अवसरका रुख हुर्केका छन् भन्ने मनोलोकको विकास भएको छ। विदेशै जान खोज्ने शिवनाथलाई आमाले सम्झाएकी छन्,... अरू विदेशतिर लागे भन्दैमा तिमीले गाउँ छोडेर नै जानुपर्छ त?... बुंकोटमा पार्वतीले झैँ शिक्षक हुनतिर लागे हुन्न र (प.१६)? यो देशमै सम्भावना खोज्न प्रेरित गरिरहेको भाव हो। धैर्यता र विवेकपूर्ण खोजले देशमै पनि अवसर छन् भन्ने देखाइएको छ। कतिपय अवस्थामा ती सुसुप्तावस्थामा हुन सक्छन्।
राजनीति र नातावाद
विदेश गएर पढेर फर्किनु गलत होइन तर कमजोर राजनीतिक चेतनाले यसलाई गलत अर्थ्याएको छ,... अमेरिकामा पढेको केटो धेरै समय बस्दैन भनेर गाउँ प्रमुखको भान्जालाई छनोट गरेछ (पृ.९६)...। गाउँमा भागबण्डाको राजनीति व्याप्त छ। जग्गा दलालको खेल छ। आज जहाँ पनि गरिखाने अनुहार निरुत्साहित छ। बिचौलियाको बिगबिगी छ। हुनेखानेकै हात माथि, जागिर खान सास्ती छ। भनसुन, गनसुन र चानचुनको सुनुवाइ छ। विकृत हुँदै गएको राजनीतिक अवस्था र घुसतन्त्रको खेल छ।
शिवनाथका दाजुभाइ गाउँमै कुखुरा फार्म खोल्न जग्गा भाडामा खोज्दै जान्छन् तर पाउँदैनन्। यो वा त्यो नाममा कसैले जग्गा दिँदैन। कसैले अर्कैलाई बेचेको हुन्छ। कसैले १५ वर्ष बोर्डिङ स्कुललाई जग्गा भाडामा दिन्छ। गाउँमा बोर्डिङ खुलेका छन्। केही भए पनि आधुनिक शिक्षा पुगेको त छ तर यस्ता स्कुल पनि विदेश पठाउने पुल होलान्। हाम्रो मौलिक शिक्षा पद्धति मर्दै छ। कृतिले खुलेर नभने पनि यसभित्र पीडा लुकेको पाइन्छ।
मान्छे उता अमेरिका, अस्ट्रेलिया उडेका छन्। तथापि, गाउँमा जग्गादेखि मान्छे किनबेचका दलाल स्याउँस्याउँती छन्। एउटा कुखुरा फार्मका लागि जग्गा भाडामा मिलाउन सर्वदलीय बैठक बस्ने सम्मको कुरा हुन्छ। हाम्रो राजनीतिक व्यवस्था कतिसम्म विकृत भइसकेको छ भन्ने देखाइएको छ।
अर्कोतर्फ, गाउँका जग्गा भाडामा लागेका छन्। किन्ने–बेच्नेको चहलपहल छ। बस्ने–बसाउने, रम्ने–रमाउनेको समूह छ। एउटा समुदाय आज पनि गाउँमै अवसर खोजिरहेको छ। तथापि, राजनीतिक भागबन्डा, बिचौलिया र दलालको फन्दामा छन्। तिनले गाउँको जीवन निखार्दै छन्। यसबाट कोही उत्रिन सकेको छैन। यही विषमताभित्र पनि सम्भावना खोज्ने प्रयास गरिएको छ।
अपत्यारिला सन्दर्भ
कृतिभित्रका केही विषय पाठकलाई अपत्यारिला लाग्छन्।
– खाप्दी भन्ज्याङबाट काठमाडौँ सिता पाइलासम्मको दूरी कति हो? पार्वती र शिवनाथ उभिएरै काठमाडौँ आए? शिवनाथ शान्तिनगर मितको घर जान किन ठूलो भर्याङ पुग्यो? कलंकी नै झरेर जान सक्थ्यो ? (पृ.६)
– एक्लो जोगीले उर्लेको भेलबाट शिवनाथलाई उद्धार गरेको पनि पत्यारिलो लाग्दैन। (पृ.५३)
– ... बालुवाको घर बनाएर भुल्नतिर लागेँ (पृ.४१)। लक्का जवान शिवनाथ बालबालिकाले जस्तो बालुवाको घर बनाउनतिर लाग्दैन होला।
पाठकलाई अस्वाभाविक लाग्ने अरू पनि अमिल्दा र अपत्यारिला धेरै सन्दर्भ छन्। तिनले पठनलाई खल्लो बनाउन मद्दत पुर्याउँछन्।
भाषाशैली
कृतिको भाषाशैली र वाक्य संरचना परम्परागत छ। वाक्यहरू लामा–लामा छन्; जसले आख्यान लेखनको पुरानो शैली झल्काउँछ। लेखनशैली, हिज्जे वा वर्णविन्यास चम्काउन सकेको भए बढी पाठकमैत्री हुन्थ्यो। अचेल पाठक रोजा भइसके। धेरै पाठक यस्तो शैलीसँग गाँसिन गाह्रो मान्छन्। औपन्यासिक कथावस्तु नयाँ छैन, नवीनता दिने कोसिस छ तर शैलीविन्यास पुरानै। यो लेखकको उमेर र उसले बाँचेको समयबोध पनि हुन सक्छ।
कृतिमा प्रशस्त अंग्रेजी शब्द वा वाक्य मिसाइएको छ। अंग्रेजी अनुच्छेद नराखेको भए हुन्थ्यो वा यसलाई रोमन वा नेपालीमै उल्था गर्नु पर्थ्यो। यसले पठनलाई असजिलो मात्र बनाएको छैन, आँखासमेत बिझाएको अनुभूत हुन्छ।
विषयवस्तु कतै कृतिकारको उमेरको परिवेशतिर घुम्छ, कतै छोरा–नाति पुस्तामा आइपुग्छ। कति ठाउँमा समय र परिवेशजन्य एकरूपता पाइँदैन। पठनको अन्त्यसम्म नै बासमती चामलको भात खाँदा गाँसैपिच्छे दर्शनढुंगा टोके जस्तो अनुभूत हुन्छ।
अन्त्यमा
मुलुकभित्र भ्रष्टाचार, हिंसा र अत्याचार व्याप्त छ। राजनीतिले सही दिशा समातेको छैन। यो सत्य हो तर देश बस्नै नसक्ने भएको हो? उसो त यतिका नागरिक कसरी बसिरहेका छन्? तिनलाई कुन चिजले टिकाइरहेको छ। कि ती बिदेसिन नसकेर बसेका हुन्? यी अनेक विसंगतिका बीच पनि केही राम्रा सम्भावनाले युवालाई खोजिरहेको छ भन्ने देखाइदिएको भए जाति हुन्थ्यो। अर्को संस्करणमा यसतर्फ कृतिकारको नजर पुगोस्।
कृतिकारतिर तीखा प्रश्न सोझ्याए पनि मुलुकको आकाशमा राक्षस नाचिरहेकै छन्। आफ्नै नागरिक बेच्नेहरू घर वरिपरि राँकेभूतझैँ डुलिरहेका छन्। छोरीचेलीका बलात्कारी खित्का छोडिरहेका छन्। यी अत्याचार खप्न नसकेका युवा देशमा केही गर्ने चाहना र जाँगर भए पनि विदेशै उडेका छन्। निर्गमले त्यही सत्यको आँखीझ्याल देखाउन खोजेको छ। सेवानिवृत जीवनमा समेत घोटिएर साहित्य साधनामा लीन आख्यानकारबाट भावी पुस्ताले लेखनकर्मको प्रेरणा लिन सकोस्। उनमा सिर्जनाको भावगंगा अविराम बगिरहोस्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
