अछाममा करेन्ट लागेर १ जनाको मृत्यु, ५ घाइते

कृष्ण जन्माष्टमीको तयारीका क्रममा राष्ट्रिय झन्डा फहराउँदै गर्दा करेन्ट लागेर अछाममा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

प्रतीकात्मक तस्वीर

अछाम– झण्डा फहराउने क्रममा अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–१ जयगढ बजारस्थित बर्दादेवी मन्दिरनजिक कृष्ण जन्माष्टमीका अवसरमा लाग्ने मेलाको तयारी स्वरूप नेपालको राष्ट्रिय झन्डा गाड्ने क्रममा उक्त फलामे झन्डाले बिजुलीको तारमा छुँदा उनीहरूलाई करेन्ट लागेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालका अनुसार, करेन्ट लागेर घाइते भएका १६ वर्षीय रोहित साउदको उपचारका क्रममा बयालपाटा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

यसैगरी, सोही दुर्घटनामा घाइते भएका पाँच जनाको पनि बयालपाटा प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। 

घाइते हुनेहरूमा बान्निगढी जयगढ–६ का १८ वर्षीय समीर शाह, १७ वर्षीय विनोद रावत, २० वर्षीय बम शाह, साँफेबगर–४ का १६ वर्षीय लवशन सुनार र रामारोशन–६ का १६ वर्षीय शमशेर साउद रहेका छन्। 

घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।