गणितीय ओलम्पियाडमा कांस्य विजेता श्रेयश भन्छन्– ‘प्रशिक्षकको मार्गदर्शन पाए अझै उच्चस्तरमा पुग्थ्यौँ’

अन्तर्राष्ट्रिय गणितीय ओलम्पियाडमा कांस्य पदक विजेता श्रेयशले अघिल्ला वर्षमा सहभागी भइसकेका विद्यार्थीबाट सिकेर र युट्युब तथा गुगलजस्ता इन्टरनेटका स्रोतलाई मुख्य आधार बनाएर तयारी गरेका थिए।

गणितीय ओलम्पियाडमा कांस्य विजेता श्रेयश भन्छन्– ‘प्रशिक्षकको मार्गदर्शन पाए अझै उच्चस्तरमा पुग्थ्यौँ’
मनीष पौडेल/उकालो

काठमाडौँ– जुलाई १०–२० मा अस्ट्रेलियामा सम्पन्न विश्व गणितको सर्वोच्च मञ्च, ६६औँ अन्तर्राष्ट्रिय गणितीय ओलम्पियाड (आईएमओ) २०२५ मा नेपालले सहभागिता जनायो। प्रतियोगितामा सहभागी नेपालले पहिलोपटक कांस्य पदक (ब्रोन्ज मेडल) जित्न सफल भयो। यो उपलब्धिले गणितको विश्वव्यापी प्रतिस्पर्धामा नेपालले क्रमशः आफ्नो स्थान बलियो बनाउँदै गएको संकेत दिएको छ।

यसपटक ओलम्पियाडमा सहभागी नेपाली विद्यार्थी श्रेयश शर्मा बास्तोलाले कांस्य पदक जित्न सफल भएका हुन्। यो पदक नेपालले अन्तर्राष्ट्रिय गणितीय ओलम्पियाडमा प्राप्त गरेको पहिलो कांस्य पदक हो। श्रेयशसँगै प्रतियोगितामा सहभागी आयाम आचार्यले भने ‘अनरेबल मेन्सन’ प्राप्त गरेका छन्।

श्रेयशको यो पहिलो प्रयास भने होइन। यसअघि उनी सन् २०२४ मा पनि आईएमओमा सहभागी भई ‘अनरेबल मेन्सन’ प्राप्त गरेका थिए। सोही अनुभवले नै यसपटक कांस्य पदक जित्न सहयोग गरेको उनी बताउँछन्। “ओलम्पियाडमा हामीले पढेको नर्मल म्याथ पनि हुन्छ। तर अरू कुराहरू पनि सोधिन्छ। नम्बर थ्यौँरी र कम्बिनेटरिक्स पनि हुन्छ,” उनी भन्छन्।

null

त्यसो त, नेपालले सन् २०१७ बाट अन्तर्राष्ट्रिय गणितीय ओलम्पियाडमा सहभागिता जनाउन शुरू गरेको थियो। शुरूको वर्ष सहभागिता मात्रै सीमित रह्यो। सन् २०१८ मा ‘अनरेबल मेन्सन’ प्राप्त गरेपछि नेपालको प्रदर्शन क्रमशः बलियो बन्दै गएको देखिन्छ। यस वर्षको कांस्य पदक सोही निरन्तर प्रयासको प्रतिफल हो। यो सफलताले गणित शिक्षामा नेपालको सम्भावनालाई उजागर गरेको छ।

श्रेयश र आयामबाहेक यो प्रतियोगितामा बाराका द्रोण चौधरी, बर्दियाका आयुष ठगुन्ना, मोरङका नमन महेश्वरी र धनुषाका आशिष मिश्र पनि सहभागी थिए।

कांस्य पदक विजेता श्रेयश बुढानीलकण्ठ स्कुलका विद्यार्थी हुन्। ‘अनरेबल मेन्सन’ प्राप्त गर्ने आयामले रातो बंगला स्कुलबाट ए–लेभल सम्पन्न गरेका छन्। दुवैको उमेर १७ वर्ष छ।

श्रेयश आफ्नो सफलताको श्रेय निरन्तर अभ्यास र विशेष तयारीलाई दिन्छन्। तर, उनको अभ्यास र प्रशिक्षण कुनै औपचारिक प्रशिक्षकबाट भएको थिएन।

उनले अघिल्ला वर्ष अन्तर्राष्ट्रिय गणितीय ओलम्पियाडमा सहभागी भइसकेका विद्यार्थीबाट सिके। युट्युब र गुगलजस्ता इन्टरनेटका स्रोतलाई उनले तयारीको मुख्य माध्यम बनाए।

“यदि हामीसँग ओलम्पियाडका लागि तालिमप्राप्त प्रशिक्षक भएको भए अझ राम्रो हुने थियो,” श्रेयश भन्छन्, “त्यहाँ हुने कोचहरूजस्तै मार्गदर्शन पाउने अवसर पाएको भए अझै उच्च स्तरमा पुग्थ्यौँ।”

nullआयामको अनुभव भने केही फरक छ। उनका अनुसार ओलम्पियाडमा धेरै सिद्धान्त (थ्योरी)को आवश्यकता पर्दैन। “जस्तो हामी स्कुलमा क्यालकुलस पढ्छौँ, तर अन्तर्राष्ट्रिय गणितीय ओलम्पियाडमा यसको आवश्यकता हुँदैन,” उनी भन्छन्, “त्यहाँका अवधारणा हाइस्कुल स्तरका हुन्छन्, तर समस्या भने अत्यन्तै जटिल हुन्छन्।”

उनका अनुसार स्कुलमा पढाइने गणितमा कुन प्रकारका प्रश्न आउँछन् भन्ने पहिल्यै थाहा हुन्छ। कक्षामा पढेका कुरा सम्झेर हल गर्न सकिन्छ। “तर ओलम्पियाडमा भने ‘प्रुफ–बेस्ड’ प्रश्नहरू हुन्छन्, जसमा नयाँ र रचनात्मक विचार उत्पादन गर्ने क्षमतामा जोड दिइन्छ,” उनी भन्छन्। ओलम्पियाडमा क्रेटिभ आईडी बढी चाहिने आयामको भनाइ छ।

यस वर्षको ओलम्पियाडमा चीनले शीर्ष स्थान हासिल गर्‍यो। म्याथ सोसाइटीका अनुसार चेतले २३१ अंक प्राप्त गरेको हो। चीनका सबै सहभागी विद्यार्थीले स्वर्ण पदक जितेका थिए। यो वर्षको प्रतियोगिता जितेको चीनमा अर्को वर्ष गणितीय ओलम्पियाड आयोजना हुनेछ।

२१६ अंकसहित संयुक्त राज्य अमेरिका दोस्रो स्थानमा रह्यो। उसले पाँच स्वर्ण र एक रजत पदक जित्यो।

त्यस्तै, चार स्वर्ण र दुई रजतसहित दक्षिण कोरिया तेस्रो स्थानमा रह्यो। जापान, पोल्यान्ड, इजरायल, भारत, सिंगापुर, भियतनाम र तुर्किए क्रमशः शीर्ष १० देशमा परे। नेपाल पनि यो प्रतियोगितामा विस्तारै अगाडि बढिरहेको नेपाली प्रतिनिधिहरूको भनाइ छ।

“यी सफल देशका विद्यार्थी पनि हामीजस्तै सामान्य मानिस हुन्। फरक के हो भने, उनीहरूलाई एक वर्ष पहिलेदेखि नै अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षित गरिन्छ,” आयाम भन्छन्, “उनीहरूको क्षमता विकासका लागि देश नै लागेको हुन्छ।”

null

नेपालमा भने, विद्यार्थीलाई ओलम्पियाडसम्म पुर्‍याउने काम म्याथम्याटिकल एसोसिएसन अफ नेपाल (म्यान)ले गर्छ। यसले जिल्ला, प्रदेश र राष्ट्रियस्तरमा विद्यार्थी छनोट गरी ओलम्पियाडमा सहभागी गराउँछ।

म्याथम्याटिकल एसोसिएसन अफ नेपालका अध्यक्ष विनोदप्रसाद पन्तका अनुसार नेपालले क्रमशः प्रगति गर्दै गइरहेको छ। गणितीय ओलम्पियाडका लागि सरकारले चासो देखाउनु आवश्यक छ।

“जहाँसम्म हाम्रा स्रोत–साधनले भ्याएसम्म ओलम्पियाडमा नेपालको प्रतिनिधित्वलाई अझ दृढ बनाउने प्रयास जारी रहनेछ। निरन्तर प्रयास गरेपछि हामी कांस्य पदक ल्याउन सफल भयौँ,” पन्त भन्छन्, “अब यसलाई अझै माथि पुर्‍याउन विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको तालिम दिनुपर्ने हुन्छ। हामीकहाँ यसैमा समस्या छ।”