रवि लामिछाने रुपन्देहीबाट नख्खु कारागार सारिए

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई शनिबार रुपन्देही जिल्ला कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा सारिएको छ।

रवि लामिछाने रुपन्देहीबाट नख्खु कारागार सारिए
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार रुपन्देही जिल्ला कारागारबाट ललितपुरको नख्खु कारागारमा सारिएको छ। शनिबार अपराह्न बुद्ध एयरको विमानबाट उनलाई काठमाडौँ ल्याइएको हो।‍

कडा सुरक्षाबीच रुपन्देही कारागारबाट भैरहवाको गौतमबुद्ध विमानस्थल पुर्‍याइएका लामिछानेलाई काठमाडौँ आइपुग्दा पनि गोप्य तरिकाले निकालियो। उनलाई स्वागत गर्न विमानस्थलको मुख्य गेटमा भेला भएका रास्वपाका नेता र कार्यकर्ताहरूलाई भेट्ने मौका दिइएन। प्रहरीले उनलाई नेपाल आयल निगमको बाटो प्रयोग गरी सिधै नख्खु कारागार पठाएको थियो। कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीकाअनुसार, लामिछानेलाई साँझ जहाजमार्फत त्रिभुवन विमानस्थल ल्याइएको र त्यहाँबाट नख्खु कारागार लगिएको हो।

लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा पुर्पक्षका लागि थुनामा थिए। उनले आफूलाई नख्खु कारागार सार्न पाऊँ भन्दै गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए। अदालतले जेठ १६ गते नै स्थानान्तरणका लागि अनुमति दिए पनि ७९ दिनपछि मात्रै कारागार व्यवस्थापन विभागले सार्ने निर्णय गरेको हो।

लामिछानेलाई भैरहवा कारागारबाट विमानस्थल लैजाने बेला त्यहाँ पुगेका रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारले ढिलाइ गरे पनि चौतर्फी दबाबका कारण अहिले स्थानान्तरण सम्भव भएको बताए। लामिछानेलाई सार्ने खबर पाएपछि शनिबार दिउँसो भैरहवा कारागार, भैरहवा विमानस्थलका साथै काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा रास्वपाका कार्यकर्ताको ठूलो भीड लागेको थियो।