वैशाखयता विपद्का दुई हजार ८५३ घटना, १२६ जनाको मृत्यु

वैशाखदेखि साउन ३१ सम्म देशभर बाढीका २१६, पहिरोका ३१७, भारी वर्षाका २२१, चट्याङका २४५, सर्पदंशका ७७ घटना भएका छन्।

काठमाडौँ– वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना भएका छन्। ती घटनामा परेर १२६ जनाको निधन भएको छ। यस्तै ५८५ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका छन्। देशभर बाढीका २१६, पहिरोका ३१७, भारी वर्षाका २२१, चट्याङका २४५, सर्पदंशका ७७ घटना भएका छन् ।

 त्यसैगरी, आगलागीका एक हजार ११४, डढेलोका १५८, हुरीबतासका २७७, जनावर आक्रमणका १७२, लेक लागेको ४६, भूकम्पका पाँच, डुंगा पल्टेर दुई, असिना हुरी र अन्यका एक–एकवटा विपद्का घटना भएका छन्। 

प्राधिकरणका अनुसार साउन ३१ गते मात्र आगलागीका सात, बाढी एक, पहिरोका आठ, अविरल वर्षा चार, जनावर आक्रमणका तीन घटना भएका छन्। अनुमानित क्षति ३८ लाख ४० हजार बराबर भएको छ। विपद्‌बाट प्रभावितको खोज, उद्धार र राहतका लागि १४० प्रहरी परिचालन गरिएको छ।