पारिश्रमिक नपाएको भन्दै टसमै गएनन् विराटनगर र काठमाडौँका कप्तान, नेपाल टी२० लिग अन्योलमा

खेलाडीहरूले पारिश्रमिक नपाएको भन्दै विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सका कप्तानले नेपाल टी२० लिगको २१औँ खेलमा टस गर्न अस्वीकार गरेका छन्।

काठमाडौँ- विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सका कप्तानले नेपाल टी२० लिगको २१औँ खेलमा टस गर्न अस्वीकार गरेका छन्। दुवै टोलीका खेलाडीहरू त्रिवि मैदान पुगे पनि पारिश्रमिक नपाएको भन्दै दुवै कप्तानले टस गर्न अस्वीकार गरेका हुन्।

नेपाल क्रिकेट संघ (क्यान)को खेल तालिका अनुसार मंगलबारको पहिलो खेल बिहान ९ बजेबाट शुरू हुनुपर्ने थियो। त्यसका लागि बिहान ८:३० मा टस हुनुपर्ने हो। तर, दुवै टोलीका कप्तानहरूले खेलाडीले पारिश्रमिक नपाएको भन्दै टस गर्न मैदान नउत्रिएका हुन्।

विराटनगरका कप्तान एन्ड्र्यु माकार्थी छन्। उनी जमैकन खेलाडी हुन्। पछिल्लो समय विराटनगरको कप्तानी रोहित पौडेलले गरिरहेका छन्। काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्ल छन्। नेपाल टी२० लिग आयोजनाको जिम्मा क्यानले भारतीय कम्पनी सेभेन थ्रि स्पोर्टसलाई दिएको छ।

क्यानले नेपाली टी–२० लिगका आयोजक सोमबारदेखि सम्पर्कमा नआएको जनाएको छ। आयोजकहरू नै सम्पर्कबाहिर भएपछि लिग जारी रहने वा नरहने अन्योल भएको छ।

लिगका ३४ मध्ये २० खेल भएका छन्। अंक तालिकमा लुम्बिनी अलस्टार १२ अंकसहित शीर्ष स्थानमा छ। मंगलबार पहिलो खेलको तालिका भएका काठमाडौँ ६ अंकसहित तेस्रो र विराटनगर ४ अंकसहित पाँचौँ स्थानमा छन्।