बिक्न छाडे सारंगी, सुनिन छाड्यो धुन

सारंगी बाजाको संरक्षण गर्दै, यसलाई व्यावसायिक बनाउन सके, कला संस्कृतिको संरक्षणसँगै रोजगारीको अवसर सिर्जना गर्नसमेत टेवा पुग्ने स्थानीयोको भनाइ छ।

घोराही– गन्धर्व समुदायमा सारंगी बजाएर जीविकोपार्जन गर्नेको संख्या घट्दै गएको छ। नयाँ पुस्तामा सारंगी बाजाप्रति रुचि नभएका कारण संख्या घट्दै गएको हो।

गाउँमा सारंगी बाजा बजाउने मानिस नहुँदा बनाएका सारंगी बिक्रीमा पनि समस्या भइरहेको घोराही उपमहानगरपालिका–११ नयाँबस्तीका डाइवर गन्धर्वले बताए। 

करिब तीन दशक बढी समयदेखि सारंगी बाजा बनाउँदै आएका डाइवर पछिल्लो समय आफ्नो पेसा संकटमा परेको बताउँछन्। सारंगी बजाउने मानिस कम हुँदै जाँदा बिक्री पनि हुन छाडेको उनले सुनाए। “पहिले सारंगी बिक्ने हुँदा राम्रै आम्दानी हुन्थ्यो, तर अहिले सारंगी बिक्नै छाडिसकेको छ। अब त कोठामा सजाएर राख्ने मात्र भएको छ,” उनले भने।

डाइवर गन्धर्वका अनुसार समय परिवर्तनसँगै गन्धर्वहरूले गीत गाउन र सारंगी बजाउन छाड्दै जाँदा यो पेसा नै ओरालो लागेको छ। पहिलेजस्तै सबैले गीत गाउने र सारंगी बनाउने गरे त राम्रै हुन्थ्यो होला तर अहिले गाउँमा सारंगी बजाउन जान्ने सीमित मानिस मात्र छन्। 

गाउँमा सारंगी बजाउने मानिस नहुँदा बिक्री पनि हुन छाडेको उनले बताए। “गाउँमा सारंगी बजाउने कोही भए पो बनाएका सारंगी बिक्थे। अहिले बजाउने मान्छे नै छैनन्, त्यही भएर बिक्री पनि हुँदैनन्। बनाएका नबिक्दा थप नयाँ बनाउन पनि मन लाग्दैन,” उनले भने। पहिले महिनामा सात–आठवटा सारंगी बिक्री हुने गरे पनि अहिले दुई–तीनवटा मात्र बिक्री हुने गरेको छ।

 त्यसैगरी, सारंगी बनाउने कलामात्र संकटमा परेको होइन, आवश्यक सामग्रीको अभाव पनि मुख्य समस्या बनेको छ। सारंगी बनाउन राम्रो काठ चाहिने भए पनि पछिल्लो समय खमारी पाउनै समस्या भएको छ। जिल्लामै सारंगी बनाउने आफूमात्र भएको उनी बताउँछन्। “आफ्नो मौलिक बाजा बजाउन र बनाउन नयाँ पुस्ताले चासो नदिने हो भने आफ्नो पहिचान नै हराउने जोखिम छ,” उनले भने।

सामुदायिक वनका कारण जंगलमा जान नपाइने र चिनेका काष्ठ उद्योगबाट खमारी काठ ल्याएर सारंगी बनाउने गरेको उनले बताए। साना आकारका सारंगी रु चार हजारदेखि पाँच हजारसम्म बिक्री हुने गरेका छन्। ठूला र आकर्षक डिजाइनका सारंगी ९ देखि १० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको डाइवरले बताए।  

सारंगीको महत्व घट्दै जाँदा सारंगी बजाएरै जीविका चलाउनेलाई चिन्ता लाग्न थालेको छ। सारंगी बाजाको संरक्षण गर्दै, यसलाई व्यावसायिक बनाउन सके, कला संस्कृतिको संरक्षण र रोजगारीको अवसर सृजना हुने गन्धर्व समुदायका मानिस बताउँछन्।