रसुवागढी नाका ठप्प भएपछि चीनतर्फ अड्किएका कन्टेनर फेरि खासा हुँदै तातोपानीतर्फ ‘रि–रुट’ गरिएको छ। तर पहिरोले तातोपानी नाकामा पनि अवरोध हुँदा चाडबाडका लागि भित्र्याइएका सामान कहिले आइपुग्ने टुंगो छैन।
काठमाडौँ– अबिन भण्डारीको व्यस्तता चाडबाडको मुखमा झनै बढ्छ। उनी व्यापार गर्छन्। यसपटक चाडबाड नजिकिँदै गर्दा उनले चीनबाट जुत्ता आयात गर्न लगानी गरेका छन्। तर उनको व्यापारमा यो वर्ष बाढी र पहिरोले अवरोध सिर्जना गरेको छ।
आफू एक्लैले ठूलो पुँजी लगानी गर्न नसक्ने हुँदा साना व्यवसायीसँगको साझेदारीमा उनीहरूले एउटा २० फिटे कन्टेनरमा जुत्ता मगाएका छन्। औसत १५ दिनमा काठमाडौँ आइपुग्ने हुँदा भारतीय बन्दरगाह छाडेर उनीहरूले उत्तरी नाका रसुवागढीबाट जुत्ता आयात गराउँदै थिए।
गत २४ असारमा भोटेकोशीको सहायक खोला ल्हेन्देमा बाढी आउनुअघि जुत्ता बोकेको कन्टेनर रसुवागढी सीमा नजिक आइपुगिसकेको थियो। बाढीले चीन र नेपाल जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाका ठप्प छ। जुत्ता बोकेको उक्त कन्टेनरसहित नेपाली व्यापारीका सामान बोकेका सयौँ कन्टेनर चीनतर्फ नै अड्किएका छन्।
तर चाडबाडअघि नै जुत्ता ल्याउनुपर्ने दबाबका कारण भण्डारी र उनको समूहले विकल्प खोजे। एक महिनापछि उनीहरूले कन्टेर ‘रि–रुट’ गरेका छन्। अब सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै कन्टेनर भित्र्याउन केरुङबाट करिब ३०० किलोमिटरमा पर्ने खासा पुर्याइएको छ।
तातोपानी नाकामा पनि पहिरो
पहिरोका कारण तातोपानी नाकाबाट पनि सामान ल्याउन समस्या छ। कोदारी नजिकको इको भन्ने ठाउँमा आएको पहिरोले करिब ४० मिटर सडकखण्ड नै बगाएपछि यो नाका पनि दुई हप्तादेखि आंशिक मात्र चलेको छ। भरियामार्फत सामान पहिरो कटाएर भन्सार पास गरिरहेको तातोपानीका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुँडाल बताउँछन्।
चीनबाट नेपालतर्फ गाडीहरू प्रवेश गरिसकेपछि भन्सार पुग्नु चार किलोमिटरअघि पहिरोले सडक अवरुद्ध गरेको छ। अहिले बाँसको अस्थायी संरचना बनाएर पैदल आवागमन मात्र सहज बनाइएको चुँडालले जानकारी दिए।
पहिरोपारि फलफूल बोकेका करिब ८० वटा ट्रक छन्। फलफूल बिग्रिने भएकाले पहिला तिनलाई प्राथमिकतामा राखेर भित्र्याउन व्यवसायी र स्थानीय प्रसाशनबीच समझदारी भएको चुँडालले जानकारी दिए। जुत्ता र लत्ताकपडाजस्ता सामान भएका कन्टेनरको पालो त्यसपछि मात्र आउँछ।
डिभिजन सडक कार्यालय, स्थानीय जनप्रतिनिधि र स्थानीय प्रसाशनसँगको समन्वयमा सडकको मर्मत भइरहेको प्रमुख भन्सार अधिकृत चुँडाल बताउँछन्। भौतिक पूर्वाधार मन्त्रालयले सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेको नेतृत्वमा साउन २८ गते पठाएको विज्ञसहितको टोलीले त्यहाँको स्थलगत अध्ययन र सरोकारवालासँग बैठक गरेको थियो।
बैठकमा अवरुद्ध बाटो खुलाउने विषयमा नै छलफल भएको थियो। तातोपानी प्रमुख भन्सार अधिकृत चुँडाल भन्छन्, “भदौ १५ गतेभन्दा अगाडि नै बाटो खुलाउन सकिन्छ कि भन्ने तहमा कुरा भएको छ। कसको के भूमिका रहन्छ भन्ने विषयमा छलफल भयो।”
नाका ठप्प हुँदा मूल्य प्रभावित
रसुवागढीमा आएको असार २४ को बाढीले २३ वटा मालवाहक कन्टेनर, ६ वटा मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन बगाएको थियो। अहिले त्यहाँ बेलिबृज बनाएर नाका सुचारु गर्ने प्रयास भइरहेको रसुवा भन्सारका सूचना अधिकारी राजेन्द्रप्रसाद प्याकुरेलले जानकारी दिए। चिनियाँ पक्षले बेलिबृज बनाउने तयारी गरे पनि पटकपटकको बाढीले निर्माणमा बाधा भइरहेको प्याकुरेलको भनाइ छ।
रसुवागढी नाका ठप्प भएपछि ‘रि–रुट’ गरिएको कन्टेनर जुत्ता लिएर अर्को हप्तासम्म काठमाडौँ आइपुग्ने आशा पलाएको व्यवसायी भण्डारी बताउँछन्। तर जुत्ताको आयात लागत भने धेरै गुणा बढेको उनको भनाइ छ। अब नाफाभन्दा लगानी उठाउने लक्ष्य भएको उनले बताए।
नाकामा कन्टेनर फसेपछि फलफूल व्यापारीलाई सबैभन्दा धेरै घाटा भएको नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधर बताउँछन्। लत्ताकपडा, मेसिनरीलगायत सामग्रीमा पनि रि–रुटका कारण लागत बढेको उनको भनाइ छ।
रसुवा नाका बन्द भएपछि त्यहाँका ३०० भन्दा बढी कन्टेनरलाई तातोपानी भएर ल्याउनेतिर ध्यान केन्द्रित गरेको नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली बताउँछन्। उत्तरी नाकामा अहिले चाडबाड लक्षित सामान नै धेरै भएको उनले बताए।
चाडबाडको मुखमा सामान नाकामै अड्किँदा र रि–रुटका सामान ढिलो आउँदा व्यापार चक्र नै बिथोलिएको पराजुलीको भनाइ छ। कपडा आउन ढिला हुँदा सिजन सकिने र फेसन आउट हुने समस्या हुन्छ। “व्यापारचक्र बिग्रिँदा व्यापारीहरूले बेलैमा बैंकको पैसा तिर्न असहज हुन्छ। यसको असर महँगीको रूपमा पनि देखा पर्छ,” उनी भन्छन्।
केरुङबाट रि–रुट गरेर तातोपानी नाकाबाट ल्याउँदा प्रतिकन्टेनर करिब ३ लाख ९० हजार रुपैयाँ थप भाडा लाग्ने पराजुलीको भनाइ छ। अहिलेसम्म करिब २०० कन्टेनर रि–रुट भइसकेका छन्। १०० भन्दा बढी कन्टेनर रि–रुट हुने क्रममा रहेको उनले बताए। यदि, ३०० कन्टेनर रि–रुट गरिए नेपाली व्यापारीले भाडाबापत थप करिब ११ करोड ६८ लाख रुपैयाँ तिर्नुपर्छ।
चीन नेपालको लागि दोस्रो सबभन्दा ठूलो व्यापारिक साझेदार हो। गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले कुल आयातमध्ये करिब १९ प्रतिशत मालवस्तु चीनबाट ल्याएको थियो। भारतबाट नेपालले ६२.५७ प्रतिशत र तेस्रो मुलुकबाट ३७.४३ प्रतिशत आयात गरेको थियो। तेस्रो मुलुकबाट आयात गरेकोमध्ये चीनबाट आएको वस्तु ५०.०१ प्रतिशत हो।
चीनबाट आउने मालवस्तु पनि धेरैजसो भारतीय बन्दरगाह भएर भित्रिन्छ। पछिल्लो समय व्यापारीहरूले खासगरी उपभोग्य वस्तु उत्तरी नाकाबाट सिधै भित्र्याउन चाहेका छन्। तर यसका लागि कहिले चिनियाँ पक्षको अनिच्छा र कहिले प्राकृतिक घटना बाधक भइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
