पल्सर स्पोर्ट्स अवार्डको ‘पिपुल्स च्वाइस’ मनोनयन सार्वजनिक

पिपुल्स चोइस अवार्डका लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक भएको छ।

काठमाडौँ– २२औँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ अन्तर्गत पिपुल्स च्वाइस विधाका पाँच खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल मनोनयनमा परेको जानकारी दिइयो।

त्यस्तै, नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई खल्तीबीच आइतबार नै भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता पनि भएको थियो। नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष नीरञ्जन अधिकारी र आईएमई खल्तीका चिफ कमर्सियल अफिसर आशिस गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे।

मनोनयनमा परेकी रेखाले पिपुल्स च्वाइसको मनोनयनमा पर्दा एकदम खुशी लागेको र आफ्नो एक सपना पूरा भएको बताइन्। यसैगरी उसु विधाका खेलाडी विजयले उसु खेल अन्य खेलजस्तै लोकप्रिय नभए पनि आफूले यस खेललाई चर्चित बनाइराख्न मिहिनेत गरिरहेको बताए।

पिपुल्स च्वाइस विधाका विजेता चयन आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आईएमई खल्तीमा प्राप्त मतका आधारमा हुनेछ।

५० प्रतिशत मतभार रहने डिजिटल वालेट आईएमई खल्तीमा भोटिङ आजबाट नै शुरू भइसकेको छ। यसैगरी सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्नेछ), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र नेपाल खेलकुद पत्रकार (मञ्च)का सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ।

यो विधाका विजेताले पल्सर मोटर बाइक जित्नेछ। गत वर्ष सर्वाधिक मत ल्याएर पिपुल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन्। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा कुल १० विधामा अवार्ड प्रदान गरिने छ।

जसमा पिपुल्स च्वाइससँगै वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन्। पल्सर स्पोर्टस् अवार्ड यही भदौ २९ गते पोखरामा हुँदैछ।