टप एन्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हार

सोमबार भएको खेलमा नेपाल मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो।

काठमाडाैँ– अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल पहिलो खेलमा एनटी स्ट्राइक र दोस्रो खेलमा बांग्लादेश ए सँग पराजित भएको थियो।

सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३१ रनले हराएको हो। मेलबर्न स्टार्स एकेडेमीको दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो।

नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त भएन। उनले ४९ बल खेल्दै ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५३ रन बनाए। कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन जोडे।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ३० रनको साझेदारी गर्दै राम्रो शुरूआत दिलाएका थिए। आक्रामक ब्याटिङ गरेका कुशल भुर्तेल १३ बलमा ४ चौका मदतमा २५ रन बनाएर चौथो ओभरमा आउट भए। लगत्तै भीम शार्की व्यक्तिगत १ रनमा आउट हुँदा  नेपाल ४ ओभरमा ३२–२ को स्थितिमा थियो। त्यसपछि ओपनर आसिफ र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि ८७ रनको साझेदारी गर्दै नेपालको इनिङ्स अघि बढाएका थिए।

नेपालले अब होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहींससँग खेल्नेछ।