नक्कली भुटानी शरणार्थी प्रकरण
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने संगठित अपराधमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले पक्राउ परेपछि प्रहरी हिरासतमा २४ घण्टासम्म मोबाइल फोन प्रयोग गरिरहेका थिए।
काठमाडौँ– पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री र पूर्वगृहसचिवसहितका थुप्रै ‘हाइप्रोफाइल’हरू मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा काठमाडौँ जिल्ला अदालतले अन्तिम सुनुवाइका लागि प्रक्रिया अघि बढाएको छ। यो त्यही मुद्दा हो जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत मुख्य अभियुक्तका रुपमा छन्।
जिल्ला अदालतले यो मुद्दामा अन्तिम सुनुवाइ प्रक्रिया अघि बढाइरहँदा यही मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री खाँणले प्रहरी हिरासतमा रहँदा २४ घण्टासम्म मोबाइल फोन प्रयोग गर्ने सुविधा पाएको तथ्य खुलेको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा सामेल भेटिएपछि खाँणलाई २०८० बेशाख २७ गते बिहान ८ बजे काठमाडौँस्थित घरबाटै प्रहरीले पक्राउ गरेको थियो।
उनलाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोली संयुक्त रूपमा परिचालित थियो। त्यसबेला उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी मनोज केसी र जिल्ला प्रहरी परिसर प्रमुखमा एसएसपी दानबहादुर कार्की थिए। खाँणलाई पक्राउ गरेपछि टेकुमा रहेको तत्कालीन जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो। त्यहीक्रममा खाँणले हिरासत पुगेको २४ घण्टा पछिसम्म आफ्नो मोबाइल फोन प्रयोग गरेको तथ्य फेलापरेको छ।
प्रहरीले कुनै पनि कसुरमा अनुसन्धानका लागि पक्राउ गर्ने व्यक्तिहरूलाई हिरासतमा लिनुअघि नै उनीहरूसँग भएका मोबाइल फोनलगायत सामान नियन्त्रणमा लिइसकेको हुन्छ। त्यसमाथि संगठित अपराध गरेको कसुरमा पक्राउ परेका खाँणले हिरासतमा गइसकेपछि पनि कसरी मोबाइल फोन प्रयोग गर्न पाए त?
हिरासतबाटै उच्चपदस्थसँग फोन संवाद
नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबले पूर्वगृहमन्त्री खाँण पक्राउ पर्दा साथमा रहेको फोनको ल्याब परीक्षण गरेको थियो। त्यसक्रममा फेलापरेको डिजिटल प्रमाण मुद्दा अभियोजनका क्रममा काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ। अदालतमा पेस भएको मिसिल र त्यसमा संलग्न कल डिटेलसहितको प्रमाणमा खाँणले प्रहरी हिरासतमा रहँदा २०८० वैशाख २७ र २८ गते गरेका टेलिफोनको ‘डिटेल्स’ भेटिन्छ।
जसअनुसार खाँणले प्रयोग गर्ने ९८५१०२३*** नम्बरको मोबाइलमा ह्वाट्सएपमा यी दुई दिनमा ६७ वटा फोन कल आदानप्रदान भएको रेकर्ड देखिन्छ। त्यसमा केही कल ‘रिसिभ्ड’ छन्, केही भने ‘नट एन्सर्ड’, ‘मिस्ड’ वा ‘रिजेक्टेड’ सूचीमा देखिन्छन्। यो रेकर्डमा १० वटा नम्बर भने ‘सेभ’ नगरिएका नम्बर छन् जसमा व्यक्तिको नाम खुल्दैन।

खाँण हिरासतमा पुगेलगत्तै वैशाख २७ गते बिहान ९ बजेर २३ सेकेन्डमा उनकै एक आफन्तले भारतीय नम्बरबाट फोन गरेको र १ मिनेट ३९ सेकेन्ड कुराकानी भएको देखिन्छ। त्यसपछि नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवसँग बारम्बार दोहोरो फोन सम्पर्क भएको र कुराकानी भएको देखिन्छ।
कांग्रेसभित्रको संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षबाट सहमहामन्त्री निर्वाचित भएका यादव खाँणका निकटस्थ हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणमाथि अन्याय भएको भन्दै पार्टीका बैठकदेखि सार्वजनिक कार्यक्रममा समेत उनी बोल्दै आएका छन्।
यादवले खाँणसँगको आफ्नो कल रेकर्डबारे आश्चर्य व्यक्त गरे। “उहाँ हिरासतमा भएको बेला म पटक–पटक भेट गर्न गएको थिएँ,” उनले भने, “तर हिरासतभित्र फोनमा कुराकानी गर्ने सुविधा थियो जस्तो लाग्दैन। कसरी मेरो नाम कल–रेकर्डमा आउन सक्छ?”
हिरासतमा रहेकै बेला खाँणको कान्छी श्रीमती मन्जु खाँण, कानूनी सल्लाहकार खम्बबहादुर खाती र रेकर्डमा अधिवक्ताका रूपमा चिनाइएका यगराज पोखरेल, लक्ष्मी थापा खड्का तथा तरुण दलका अध्यक्ष विद्वान गुरुङसँग नियमित फोन संवाद भएको देखिन्छ। त्यस्तै, कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवालाई वैशाख २७ गते बिहान ९ बजेर ४५ मिनेटमा खाँणले गरेको फोन ‘रिजेक्टेड’ भएको देखिन्छ भने ९ बजेर ४६ मिनेटमा दोहोर्याएर गरेको फोन रिसिभ नभएको देखिन्छ।
सोही दिन बिहान ९ बजेर ५५ मिनेटमा भानुले समेत खाँणलाई कल गरेको रेकर्डमा उल्लेख छ।
खाँणलाई कपिलवस्तुको सिद्धार्थ नगरपालिकाका मेयर इस्तियाक अहमद खान, तत्कालीन नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकान्ड), नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार तथा नारद गौतमलगायतले पनि मोबाइलमा सम्पर्क गरेको देखिन्छ।
खाँणसँग रहेको मोबाइल वैशाख २८ गते बिहान ९ बजेर ४९ मिनेटसम्म ‘अन’ रहेको र त्यो दिन बिहान तत्कालीन एसपी राजेन्द्र रेग्मी, चन्द्र भाटलगायतले सम्पर्क गरेको (तर कुराकानी नभएको) रेकर्डमा देखिन्छ।
यो तथ्यले उब्जाएको प्रश्न हो– फौजदारी कसुरमा पक्राउ परेका व्यक्तिले हिरासतमा रहँदा थुनुवा कक्षमा मोबाइल फोन प्रयोग गर्न पाउँछन्? नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा अभियोजन गर्ने तत्कालीन जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीका अनुसार कोही व्यक्ति पक्राउ परेलगत्तै घरपरिवारलाई जानकारी दिन सम्पर्क गराउन चाहिँ सकिन्छ, तर हिरासतमा गइसकेपछि आफ्नै फोन प्रयोग गर्न मिल्दैन।
“हिरासतमा प्रहरीले जथाभावी फोन राख्न दिँदैन, जथाभावी अरूलाई फोन गर्न पनि मिल्दैन। फोन दिएपछि चलखेल र प्रमाण नष्ट गर्ने काम हुनसक्छ। त्यो बेलामा फोन सुविधा लिएर कसैलाई फोन गर्ने भन्ने हुँदैन,” खत्रीले उकालोसँग भने।
त्यसो हो भने खाँणले हिरासतमा लिइएको २४ घण्टा पछिसम्म पनि कसरी आफ्नै मोबाइल प्रयोग गरे? त्यतिबेला खाँणलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीका एक सदस्यले खाँण पक्राउ परेको दोस्रो दिन मात्र प्रहरीले उनको फोन नियन्त्रणमा लिएको दाबी गरे। नाम नबताउने शर्तमा ती अधिकृतले भने, “पक्राउ गरेर ल्याइसकेपछि उहाँ हिरासतमै हुनुहुन्थ्यो। पूर्वगृहमन्त्री जस्तो मान्छे, खानतलासी र मुचुल्का लगायतको काम भइसकेपछि उहाँबाट दोस्रो दिन फोन बरामद भएको हो।”
खाँणलाई पक्राउ गर्न संयुक्त टोली पठाएका उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी र जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीलाई यो कुरा थाहा थिएन त? तत्कालीन जिल्ला परिसर प्रमुख (हाल एआईजी) कार्कीले खाँणलाई पक्राउ गर्दा उनको साथबाट मोबाइल बरामद भए/नभएको आफूलाई अहिले सम्झना नभएको बताए।
खाँण पक्राउ परेपछि प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदन र त्यसकै आधारमा अदालतमा दायर अभियोग–पत्रमा उल्लेख गरिएको खानतलासी (बरामदी मुचुल्का सम्बन्धी) विवरणमा खाँणले बोक्ने गरेको मोबाइल फोनका विषयमा उल्लेख छैन। काठमाडौँ महानगरपालिका–७, मैजुबहालस्थित श्यामजंग सिंजापतिको घरमा भाडामा बस्ने खाँणको कोठा खानतलासी गर्दा कोठामा खैरो रङको नोट बुक थान १, कालो रङको डायरी थान ३, आइप्याड थान २, सम्पत्ति विवरण फारम पाना ३८, च्यातिएर तीन टुक्रा पारिएको कागज जोड्दा नरेन्द्रजीसमेत भनी लेखिएको कागजको टुक्रा मात्रै फेला परेको उल्लेख छ।

अभियोग–पत्र अनुसार खानतलासी/बरामदी मुचुल्का वैशाख २८ मा गरिएको उल्लेख छ। जबकि खाँणलाई त्यसको एक दिन पहिले, वैशाख २७ गते बिहानै पक्राउ गरिएको थियो। यसले खाँणले प्रहरी नियन्त्रणमा पुगिसकेपछि पनि अनुसन्धानलाई प्रभावित गर्ने उद्देश्यले विभिन्न व्यक्तिहरूलाई फोन गरेर चलखेल गर्दा प्रहरीले त्यसलाई सामान्य रूपमा लिएको देखाउँछ।
“उहाँले विभिन्न माध्यमबाट चलखेल गर्न खोजे पनि प्रहरीले पक्राउ गरिसकेपछि अनुसन्धान नसकेर छाड्ने प्रश्नै थिएन। मोबाइल फोन उहाँसँग भए पनि प्रहरी निगरानीमै भएकाले दायाँबायाँ गर्ने अवस्था थिएन। आफू समस्यामा परेपछि कसैलाई फोन गर्नुभयो होला, त्यसले अनुसन्धानमा कुनै प्रभाव पार्ने अवस्था भएन,” त्यसबेला अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, “हाम्रै हिरासतमा भएका बेला उहाँले आफू पक्राउ परेको जानकारी दिन फोन गर्नुभएको हो। यसलाई सहज रूपमै लिनुपर्छ।”
१२ दिन पहिल्यै गरेका थिए मोबाइलको ‘फ्याक्ट्री रिसेट’
खाँण २०८० वैशाख २७ गते मैजुबहालस्थित निवासबाट पक्राउ पर्दा उनका निजी सहायक नरेन्द्र केसीलाई सम्बोधन गर्दै लेखिएको चिर्कटो च्यातिएको अवस्थामा भेटिएको थियो। केसी पनि त्यसदिन खाँण निवासबाटै पक्राउ परेका थिए। टुक्राहरू जोडेपछि त्यो चिर्कटोमा ‘नरेन्द्रजी, ओली बा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीका मुख्य प्रतिवादीलाई मात्र मुद्दा दायर गर्ने र अन्य आरोपित व्यक्तिलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रूप लिन्छ, नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ’ लेखिएको भेटियो।
त्यसलाई प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गर्दा टेकनारायण पाण्डे (पूर्वगृहसचिव) को रहेको खुल्यो। पाण्डे त्यसको सात दिनअघि, वैशाख २० गते नै पक्राउ परेका थिए। हिरासतमा रहेका पाण्डेले केसीमार्फत् खाँणलाई ध्यानाकर्षण गराउन यो चिर्कटो पठाएका थिए। पछि प्रहरीसँगको बयानमा पाण्डेले ‘आफूले उक्त कुरा हतास मनस्थितिमा लेखेको’ उल्लेख गरेका थिए। काठमाडौँ जिल्ला अदालतमा खाँणका कानून व्यवसायी मणिराम उपाध्यायले त्यसलाई ‘अन्यत्रबाट बरामद गर्दै मुचुल्कामा थपिएको’ जिरह पेस गरेका छन्।
खाँणले पक्राउ पर्नुभन्दा १२ दिन पहिल्यै, २०८० वैशाख १५ गते आफ्नो मोबाइलको ‘फ्याक्ट्री–रिसेट’ गरेको भेटिएको छ। पक्राउ परेपछि मोबाइलको फ्याक्ट्री–रिसेटबारे सोध्दा उनले प्रहरीलाई ‘मोबाइल नम्बर मेरो हो, फ्याक्ट्री–रिसेट कसरी भयो, थाहा भएन’ भन्ने जवाफ दिएका थिए।
नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबले फ्याक्ट्री–रिसेट गरिएको फोनको कल–रेकर्डसमेत निकालेको छ। जसअनुसार भुटानी शरणार्थीको पुनः नाम दर्तासम्बन्धी जिल्ला प्रशासन कार्यालय झापाका सूचनाहरू उनले कांग्रेस सांसद रामहरि खतिवडा, कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, उदयशमशेर राणा र सुरेन्द्र पाण्डे तथा आफ्ना प्रेस संयोजक मधुसुदन भट्टराई, कानूनी सल्लाहकार अनिता शर्मा, निजी सहयोगी नरेन्द्र केसीलगायतलाई आदानप्रदान गरेको प्रहरीको अनुसन्धान मिसिलमा उल्लेख गरिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका खाँणलाई उच्च अदालत पाटनले २०८० मंसिर २८ गते धरौटीमा छाड्न आदेश दिएको थियो। अनौठो के भने, न्यायप्रणालीमा चलिआएको अभ्यासअनुसार महान्यायाधिवक्ताको कार्यालयले त्यसविरुद्ध माथिल्लो (सर्वोच्च) अदालतमा ७३ नम्बरको (पुनरावेदन) निवेदन नदिने निर्णय गर्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
बीपी अनमोल
