लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एक घर मात्र छ। चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नाति नातिनीसँग बस्दै आएका छन्।
गोरखा– ढिलो गरी वर्षा भएका कारण किसानलाई अझै माना रोपेर मुरी उब्जाउने चटारो छ। कोही धानको रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा। गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षका चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा मकै सुक्ला भन्ने पिर। आफूजस्तै दिनरात श्रम गरेर खाने दौतरीहरूसँग उनको समय बित्छ।
लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एक घर मात्र छ। चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नाति नातिनीसँग बस्दै आएका छन्। घरले चर्चेको बाहेक कति पनि जग्गा नभएका उनलाई असार, साउन आए पो के, कात्तिक, मंसिर आए पो के।
“थुक्ने जग्गा पनि आफ्नो छैन,” उनी भन्छन्, “सम्पत्ति भने पनि जे भने पनि यही अरूले दिएको जग्गामा सरकारले बनाइदिएको सानो घर र दुई/चार वटा कुखुरा छन्। त्यत्ति हो। कुखुरा पनि थुनेर पाल्छौँ। नत्र अरूको जग्गामा गइहाल्छ।”
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसंख्या २५६ रहेको छ। तीमध्ये गोरखाका चेतबहादुरको आठ सदस्य पनि विगत ४५ वर्षदेखि यही बसोबास गर्दै आएको छ। उनी २०३८ सालमा आफ्नी आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आएका थिए। आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको चेतबहादुर बताउँछन्।
‘‘१० वर्षको हुँदा बा बित्नुभयो, भोकले लखतरान हुँदै जुठो बारेको याद छ। बा’को काजकिरिया सकेपछि आमाले खोप्लाङमा भएको झिटी आठ हजारमा बेचेर यहाँ आएका हौँ,” उनले भने, “यहाँ पनि बिरालोले बच्चा सारेजस्तो, कहिले यता, कहिले उता। सायद यो तेह्रकिलो बजारमा हामी नबसेको घरै छैन। अब अरूको घरमा भाडा गरेर बसेपछि ‘छोड्दे, अन्तै जा’ भनेपछि जानै पर्यो।”
उनका दिदीबहिनी दुवैले तेह्रकिलो बजारमा बिहे गरेकाले आफूहरू पनि दिदीबहिनी नजिकै बस्न आएको उनले बताए। “दुवै जनाले क्षेत्रीसँग बिहे गरेछन्। दिदीको बुढा गाडी चालक थिए, हामी पनि दिदीकै रेखदेखमा यहीँ बस्न आयौँ। यहाँ आएको केही समय म पनि भेनाकै पछि लागेर सवारी सहयोगीको काम गरेँ,” उनले भने।
खोप्लाङ छोडेर तेह्रकिलो झरेको केही समयपछि आफूहरू नवलपरासी पनि पुगेको उनी बताउँछन्। “यहाँ बस्न आएको केही समयपछि आमाले कताबाट त्यहाँ सरकारी जग्गा मिल्छ भन्ने सुनेपछि हामी आमा छोरा नवलपरासी पनि झर्यौँ। जग्गा त केको मिल्थ्यो बरु उल्टै दुःख मिल्यो। आमाले अरूको घरमा काम गर्नुहुन्थ्यो। सानो झुप्रो हालेर बसेका थियौँ। मलाई भने त्यहाँ खासै बस्न मन लागेन, अनि एक वर्षपछि तेह्रकिलोमै फर्कियौँ । म यहाँ आको केही वर्षपछि आमा पनि फर्किनुभयो,” उनले भने।
चेतबहादुरले २०–२२ वर्षको उमेरमा नजिकैको पन्ध्रकिलो बस्ने कमला घर्तीसँग बिहे गरे। बिहेपछि पैसा कमाउने लालसाले दुईपटक कतार र एकपटक साउदी पनि पुगे। चेतबहादुर र कमलाको दुई छोरा र एक छोरी छन्। उनीहरूको जेठो छोरो अनिल अर्काको गाडी चलाउँछन्। छोरी अनिता तेह्रकिलोकै मगर परिवारमा बिहे गरेर गएकी छिन् भने कान्छो छोरो अशोक हाल वैदेशिक रोजगारीमा छन्। हाल उनको परिवारमा दुई छोरा, बुहारीहरू, तीन जना नाति र एक नातिनी छन्।
हाल बस्दै आएको एकपाखे घर पनि जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएको उनले बताए। उनलाई न कुसुन्डाको भाषा थाहा छ, न रीतिरिवाज, न त वेशभूषा नै। न उनले अन्यत्रका कुसुन्डा समुदायसँग चिनजान, आउजाउ गरेका छन्। गोरखा दरबार संग्रहालयमा आफ्नो जातिको डमी राखेको देखेर भने उनी खुशी छन्।
“अन्ततिरको कुसुन्डाहरूले त आफ्नै भाषा बोल्छन् रे भन्ने सुनेको छु। अब हामीलाई त केही थाहा छैन। बाउबाजेसँग संगत भएको भए पो आफ्नो जात, धर्म, संस्कृतिको बारेमा केही थाहा हुन्थ्यो होला,” उनले भने। आफूहरूले अरू हिन्दूहरूसरह नै सबै चाडपर्व मनाउँदै आएको चेतबहादुरले बताए।
“दसैँ, तिहार सबै मनाउँछौँ। अरूहरूले सरह नै हरेक वर्ष वायु पूजा, कुलायन पूजा पनि गर्छौं। हाम्रो कुलायन पूजामा चाहिँ भाले चढाउनु पर्छ,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
