मधेश प्रदेशमा ‘छोरी शिक्षा बीमा कार्यक्रम’ स्थगित

मधेश प्रदेश सरकारले विगत सात वर्षदेखि सञ्चालन गर्दै आएको 'बेटी पढाऊ बेटी बचाऊ' योजनाअन्तर्गतको छोरी शिक्षा बीमा कार्यक्रम स्थगित गरेको छ।

धनुषा – मधेश प्रदेश सरकारले विगत सात वर्षदेखि सञ्चालन गर्दै आएको 'बेटी पढाऊ बेटी बचाऊ' योजनाअन्तर्गतको छोरी शिक्षा बीमा कार्यक्रम स्थगित गरेको छ।

शिक्षा विकास निर्देशनालयका अनुसार, चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा यस कार्यक्रमका लागि रकम विनियोजन नगरिएकाले यो कार्यक्रम रोकिएको हो।

कार्यक्रम संयोजक प्रियंका यादवका अनुसार बजेटको अभावका कारण यो कार्यक्रम हाल स्थगित भएको छ। हालसम्म कुल १४ हजार ४५३ जना छोरीको बीमा गरिएको थियो। तीमध्ये आर्थिक वर्ष २०७५/७६ मा ५,६६६ जना, २०७८/७९ मा १,७०२ जना, २०७९/८० मा ३,३०२ जना र २०८०/८१ मा ३,७८३ जनाको बीमा गरिएको थियो।

अहिले १० हजार छोरीको बीमाको प्रिमियम तिर्न बाँकी रहेको बताइएको छ। एक जनाको बीमा गर्नका लागि ३७ हजार ४५७ रुपैयाँ ३७ पैसा प्रिमियम शुल्क लाग्ने गरेको छ।