पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका २ मजदुरको मृत्यु, ५ घाइते

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ मा पहिरो जाँदा दुई मजदुरको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रवेशमार्ग (अडिट नम्बर १) मा पहिरो जाँदा सोमबार दुई मजदुरको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

रघुगंगा–५ दग्नामको फेदीमा आयोजनाको अडिटमाथिबाट खसेको पहिरोले मजदुरहरू पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइते भएका पाँच जनालाई उपचारका लागि अस्पताल लगिएको छ।

“घटनास्थलमा प्रहरीको टोली पुग्दैछ। त्यहाँ काम गर्ने नेपाली कामदारले एक नेपाली र एक विदेशी नागरिकको शव भेटिएको जानकारी दिएका छन्। मृतक र घाइतेको पहिचान भने खुलिसकेको छैन,” उनले भने।