एकथरीले डा. रामेशलाई नियुक्त नगर्ने सरकारको आलोचना गरे, परराष्ट्रमन्त्री श्रीमती देउवालाई गाली गरे, छिःछिः दूरदूर नै गरे। अनि, मन नपराउनेहरू रमाए, खुच्चिङ त काखीले मात्रै नपुगेर घुँडा मर्काएर गरे।
‘देश, पेसा, जीवन र भूमिकाः अब सब फरक’ लेख्दै डा. रामेश कोइराला वाशिंटन डलस अन्तर्राष्ट्रिय विमानस्थलमा सपरिवार खिचिएको ताजा तस्वीर साउन २८ को बिहान सामाजिक सञ्जालमा पोस्ट गर्छन्। अघिल्लो साँझ मात्रै कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेका थिए, चारमध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रामेश पनि प्रतिस्पर्धी थिए।
त्यति मात्र नभई, बीपी कोइरालामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कुलपतिसमक्ष सिफारिस गरेका तीन जनामा रामेशको नामसमेत थियो। आखिरमा त्यही भयो, जसको संकेत केहीअघि नै पाइसकिएको थियो; कुनै हालतमा रामेशलाई रोक्ने परराष्ट्रमन्त्री डा. आरजुको अडान एकचोटि फेरि सफल भयो।
रामेशको फेसबुक पोस्टमा शुरूशुरूमा आएका कमेन्टहरू अमेरिकामा स्वागत, शुभयात्रा आदि नै छन्। यही पोस्टको स्क्रिनसट एक्स (ट्विटर) मा घुम्न थालेपछि चाहिँ रामेशले अमेरिका बसाइँसराइ गरेकै ठोकुवा गरी टीकाटिप्पणी शुरू हुन्छ। उनीजस्ता किन्तु–परन्तु नगरी सामाजिक सञ्जालमा बेधडक आफ्ना विचार, टिप्पणी लेख्नेका प्रशंसक हुन्छन् नै, घृणाको हदमा पुग्नेहरूको पनि कमी हुँदैन। र भयो त्यस्तै। एकथरीले उनलाई नियुक्त नगर्ने सरकारको आलोचना गरे, परराष्ट्रमन्त्री श्रीमती देउवालाई गाली गरे, छिःछिः दूरदूर नै गरे। व्यवस्थाकै विरोधीले गणतन्त्रको विरोध गर्ने मौका छोपे। मन नपराउनेहरू रमाए। खुच्चिङ त काखीले मात्रै नपुगेर घुँडा मर्काएर गरे।
फेसबुकमा पोस्ट गरेको तीन घण्टापछि अब डा. रामेश एक्स (ट्विटर) मा गंगालाल हृदयरोग केन्द्रबाटै राजीनामा दिएको घोषणा गर्छन्। “र म तपाईंको खुच्चिङ रमाइरहेको छु। एक्कासि सीप, देश, पेसा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्यूँदै छ। र म योबेला शायद सर्जन नहुँला...” लेखेर राजीनामा पत्रै सार्वजनिक गरेपछि सञ्जाल प्रयोगकर्ताहरूलाई डाक्सापले देशै छाडेको ठोकुवा गर्न झन् सजिलो हुन्छ। अनलाइन पोर्टलहरूले डा. रामेशले देश छाडेको तात्तातै समाचार पस्किन थालिहाल्छन्। सञ्जाल (खासगरीकन एक्स) मा उनलाई मन पराउनेले आँसु पोख्छन्, मन नपराउने अट्टहास गर्छन्।
सामाजिक सञ्जाल भीडभाडयुक्त थलो हो, जहाँ मान्छे आग्रह–पूर्वाग्रहअनुसार कसैउपर ताली त कसैउपर गाली बर्साउँछन्। अनियन्त्रित भीडतुल्य यहाँ एकैसाथ फूल र जुत्ता बर्सिन्छन्। भीडले विवेक पुर्याउने ग्यारेन्टी हुँदैन, ‘लिञ्चिङ’मा उत्रिदिन्छ। जाति/समुदायविरोधी दंगाफसाद गराउन उद्दत हुन्छ। दलीय आधारमा ध्रुवीकरण त उत्पातै हुन्छ।
मिडिया त भीड होइन। पत्रकारलाई सामाजिक सञ्जाल प्रयोगकर्ता झैँ भावुक भई समाचार बनाउने वा समाचारमा भावुक बन्ने सुविधा हुँदैन। रामेशको कथित बसाइँसराइ (चलनचल्तीमा पलायन प्रयोग भइरहे पनि बिदेसिनुलाई पलायन उपयुक्त शब्द लाग्दैन) समाचारका लागि परिपक्व थिएन।
फेसबुकमा ‘देश, पेसा, जीवन र भूमिकाः अब सब फरक’ अनि एक्समा ‘एक्कासि सीप, देश, पेसा छाड्दा मन अमिलो त भो’ लेखिसकेपछि देश छाडेको लेख्न किन कुर्नपर्ने तर्क गरिएला। सामाजिक सञ्जालमा लेख्ने बेला व्यक्तिको मनस्थिति, प्रयोग गरेका शब्दहरूको अर्थ आदिमा स्पष्ट हुन पनि ‘भेरिफाई’ त गर्नपर्ने हुन्छ। हाम्रो मिडिया यहाँ चुकेको देखियो। लाइक्स/भ्युजका लागि जेपनि गर्नसक्नेहरू भएका भए अनदेखा गर्न सकिन्थ्यो, विश्वसनीय ठानिएकाहरूले नै ‘रामेशको पलायन’ लेख्न हतार गर्दिए।
“युट्युबमा तालीगाली, जे गरे पनि उसले दिने पारिश्रमिक उही हो, अर्थात् वैश्य युगमा मैले बनाएको भिडिओको प्रभाव मेरो सरोकारको विषय हुँदै होइन, सरोकारको विषय त भिडिओहरूले ‘भ्युज’ बटुले कि बटुलेनन् भन्ने हो। जबसम्म मेरा भिडिओहरूले मानिसको ध्यानाकृष्ट गर्दै युट्युबमार्फत ‘मनिटाइजेसन’ गरिरहन्छन्, मेरो खाताको मिटर घुमिरहन्छ” भनेर पत्रकार विजयकुमारले सामाजिक सञ्जालमा लेखेका पंक्ति उद्धरण गर्दै हालै उत्तमबावु श्रेष्ठले लेखेका छन्, “आश्चर्य त त्यो भएको छ, संसारका सबैभन्दा उन्नत दिमाग भएका भनिएका, उत्कृष्ट विश्वविद्यालय पढेका, प्रविधिका संसारका मानिसहरूको ऊर्जा, क्षमता र समय मानव खुशी, उन्नति र भलाइमा खर्चिनुभन्दा मानिसको ध्यानलाई जति सक्यो आफूतिर तान्ने र बेच्ने उपायको खोजीमा खर्च भइरहेको छ।”
विजयकुमार जस्तो ‘मनिटाइजेसन’को चरणमा नरहे पनि रामेशले अरूको ध्यान केन्द्रित गर्न खोजेको हो कि भन्ने शंका त पत्रकारहरूले गर्नपर्ने हो। आखिर पत्रकार शंकालु हुनैपर्छ।
मिडियामा आउनकै लागि अनेक उट्पट्याङ हर्कत गर्ने भारतीय मोडल पुनम पाण्डेले डेढ वर्षअघि (३ फेब्रुअरी २०२४) मा हद गर्दिइन्। ‘सर्भिकल क्यान्सर’सँग बहादुरीपूर्वक लड्दालड्दै उनको जीवन समाप्त भएको सूचना उनकै इन्स्टाग्राम अकाउन्टबाट जारी भयो। परिवारकै तर्फबाट जारी भएको भनिएको सूचनाउपर ‘फ्याक्ट चेक’ गर्न जरुरी नसम्झी श्रद्धाञ्जली दिइयो। उनको अन्तर्वार्ता लिएका मिडियाले अर्काइभ खोतले, रिपोस्ट गरे।
भोलिपल्ट सर्भिकल क्यान्सरविरुद्ध सचेतनाका लागि आफूले त्यस्तो ‘स्टन्ट’ गर्नपरेको भन्दै इन्स्टाग्राममै प्रकट भइन्। मान्छेहरूले दुत्कारे, छिःछिः दूरदूर गरे। (चर्चामा आउनकै लागि ‘भारतले विश्वकप क्रिकेट जिते नाङ्गै सडकमा दौडिन्छु’ भनेर घोषणा गर्ने पुनमसँग चिकित्सा पेसामा अब्बल हुनुका साथै लेखन आदिमा सिद्धहस्त हरफनमौला डा. रामेशको तुलना गरेको चाहिँ नठानियोस्।) पाण्डेको घटनाले पनि हामी पत्रकारलाई आधिकारिक अकाउन्टबाट पोस्ट गरिएका सूचनाहरूलाई पनि पुष्टि गर्न बाध्य पार्छ।
सन् १९९६ मा पहिलोचोटि भेट भएका रामेश एउटा कालखण्ड बाक्लै भेटघाट/उठबस हुने साथी भएका कारण उनी अमेरिका किन गए, कहिले फर्किने आदि विस्तृत विवरण मलाईजस्तै अरू साथीहरूलाई थाहा नहुनु स्वभाविकै भयो। यता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिअघि नै उनी वाशिंटन ओर्लिसकेको पनि थाहा हुने कुरा भएन। तर बसाइँसराइ रातारात कार्यान्वयन भैहाल्ने विषय होइन भन्ने त थाहा हुने कुरा हो।
मान्छेलाई कुनै घटनाले भावुक बनाएको हुनसक्छ, सामाजिक सञ्जालमा त्यो पोखिएको हुनसक्छ। यस्तोमा उसले सामाजिक सञ्जालमा लेख्यो भन्दैमा भेरिफाई नगरी समाचार बनाइहाल्नु व्यावसायिक होला र? अमेरिकै पुगे पनि ह्वाट्सएपमा यहीँको नम्बरमा फोन गरेर भेरिफाई गर्ने सुविधा हुँदाहुँदै प्रकाशन गर्नुअघि संवाद गर्नपर्ने त हो।
बीपी कोइरालामा दुइचोटि र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत गरी तीनचोटि उपकुलपतिका लागि आवेदन (त्योपनि उनका लागि प्रयत्न गर्दिनेहरूसँग सल्लाह गरेरै) दिनुका साथै आफैले दशकौँ बिताएको ठाउँको प्रमुख बन्ने इच्छा एकै व्यक्तिको कारण (२०७३ सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति बन्ने प्रयत्न विफल पार्ने डा. आरजु होइनन्) पूरा नहुँदा मान्छे मर्माहत हुनु स्वाभाविक हुनजान्छ। आफू सक्रिय रहेको सामाजिक सञ्जाल प्लेटफर्म नै समर्थक र आलोचकमा विभाजित भएको व्यक्ति तीन–तीनचोटि दरखास्त हालेर हिस्स पर्दा आत्मसम्मानमा ठेस पुग्छ नै। तीन जनामै नपार्न उर्दी जारी गरेर ‘त्यसले त तीन जनामा पर्न पनि मसमक्ष आएर माफी माग्नपर्छ’ भनेको थाहा पाएको व्यक्तिको मनस्थिति अनुमान गर्न सकिन्छ।
तर यस्तोमा भावुक भई उनले लेखेको कुरामा बग्नुअघि हामी पत्रकारले त सोच्नैपर्छ कोही पेसाकर्मीले आफ्नो पेसामै अवरोध भई देश छाड्दा र कुनै नियुक्ति (चलनचल्तीको भाषामा आकर्षक) कारणले देश छाड्नु एकै हो र? फेरि उनले प्रतिस्पर्धा गरेको ठाउँमा नियुक्ति पाउनेबारे पनि त सोधखोज गर्नपर्ला। अनि आफैप्रति आलोचनात्मक चेतले लबालब व्यक्तिलाई नियुक्ति नदिने यहाँकी ‘भाउजू’ अपवाद हुन् कि, संसारमा अन्यत्र आलोचकलाई नियुक्ति दिन अघि सर्ने अपवाद कति होलान् पनि सोच्नपर्ला नि।
“मैले पत्रमै लेख्देको छु त १६ अक्टोबरपछि नेपाल नै आइपुग्छु भनेर,” अमेरिकाबासी गिरिश पोखरेलले एक्सको ताजा पोस्टमा रामेशसहितको फोटो राखेर लेखेका छन्, “परिवारै यता दाइसँग दशैँ मनाएर फर्कने भने।” हो, अत्यन्त महत्वपूर्ण पारिवारिक कार्यक्रमका लागि अमेरिका नगई नहुने भएपछि घुमघाम र दाजुको परिवारसँग दशैँसमेत मनाई फर्किने योजनासाथ गएका उनी फर्किने छन्।
केपी ढुंगानाले लेखेको ‘शेरबहादुर देउवा वा आरजुलगायतलाई यो देशमा रामेश रहनु र नरहनुको अर्थ छैन। उनीहरूको उपचारका लागि न गंगालाल प्राथमिकतामा पर्यो, न बीपीको उपकुलपतिमा रामेश भएको भए पर्ने थियो। सामान्य फलोअपका लागि समेत बैंकक र जापान जाने हैसियत छ उनीहरूको। नङमा चोट लागे पनि उतै जान्छन्। गम्भीर उपचारका लागि पारि रक्सौल पनि जान नसक्ने हजारौँ नेपालीहरूका लागि रामेश नेपालमै चाहिने चिकित्सक हुन्’ नै वास्तविकता हो।
गंगालालभन्दा महँगा ठाउँमा मुटुको अपरेसन गर्न नसक्नेहरू मात्रै होइन, त्यो वर्गको चिन्ता गर्नेहरूका लागि उनी त्यहाँबाट बाहिरिनु नै चिन्ताको विषय हो। मिडियाको पलायनवाला खबरहरूले चाहिँ उनी राजीनामाबाट पछि फर्किने केही सम्भावना थियो भने पनि झनै कम गरिदिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

ए सुजितजी, 'देस,.....,..., पेशा: अब सब फरक।' पढ्दा जागिर छाडेको बुझिने देस छाडेको नबुझिने कसोरी हुन्छ हौ? तिमीहरूको झोलागिरी पनि......!?? थैट्!!!
अनिल मिश्र
2 months, 4 weeks ago
ए सुजितजी, 'देस,.....,..., पेशा: अब सब फरक।' पढ्दा जागिर छाडेको बुझिने देस छाडेको नबुझिने कसोरी हुन्छ हौ? तिमीहरूको झोलागिरी पनि......!?? थैट्!!!
अनिल मिश्र
2 months, 4 weeks ago