राहुघाट पहिरो : ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

रघुगंगा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँधमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए।

राहुघाट पहिरो : ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो
सन्तोष गौतम/रासस
म्याग्दीको रघुगंगा गाउँपालिका–४ मा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँधमा सोमबार पहिरो खसेर घाइते भएका मजदुरलाई उपचारका लागि एम्बुलेन्समा राखेर पोखरा पठाइँदै।

म्याग्दी– रघुगंगा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा सोमबार दिउँसो पहिरोमा पुरिएर ज्यान गुमाएका र घाइते भएका मजदुरहरूको पहिचान खुलेको छ।

रघुगंगा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको बाँधमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए। बागलुङको तमानखोला गाउँपालिका–१ का २२ वर्षीय सुजन बुढामगर र चितवनका अन्दाजी ४५/४६ वर्षका लालबहादुर सुनारको घटनास्थलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

पहिरोमा पुरिएर घाइते भएका भारतको गोपालगंगाका ५५ वर्षीय धरम कुसहवा, विहार शासाराम जिल्लाका ५५ वर्षीय भैयाराम चौधरी र बाराको निजगड नगरपालिका–७ का ४० वर्षीय कुमार थापामगरलाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ।

सर्लाहीको बागमती नगरपालिका–५ का ३२ वर्षीय गणेशबहादुर मगर र रोल्पाको सुनछहारी गाउँपालिका–३ का ३३ वर्षीय चुमान पुनको बेनी अस्पतालमा उपचार भइरहेको छ। बाँधमा काम गरिरहेको अवस्थामा एक्कासि भिरबाट पहिरो खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको आयोजनाको सिभिल ठेकेदार भारतीय जयप्रकाश एसोसियट्सका मजदुरहरू पहिरोमा पुरिएका हुन्।