कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थान दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ।

तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा भारी बर्षा हुने महाशाखाले जनाएको छ।

राति, कोशी र गण्डकीका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशभरका पहाडी भूभागका थोरै र तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशीको पहाडी र तराई भूभागमा भारी वर्षाको सम्भावना रहेको छ।