युद्ध साहित्य पुरस्कार २०८२ ‘बारुदले कोरेका अक्षरहरु’लाई

युद्ध साहित्य पुरस्कार कोष बेलायतले प्रत्येक तीन वर्षभित्र प्रकाशित भएका नेपाली युद्ध साहित्यका कृतिमध्येबाट एक कृतिलाई युद्ध साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।

काठमाडौँ– भीम विरही राईको युद्ध कवितासंग्रह  ‘बारुदले कोरेका अक्षरहरु’ लाई युद्ध साहित्य पुरस्कार २०८२ प्रदान गरिने भएको छ। 

युद्ध साहित्य पुरस्कार कोष बेलायतले प्रत्येक तीन वर्षभित्र प्रकाशित भएका नेपाली युद्ध साहित्यका कृतिमध्येबाट एक कृतिलाई युद्ध साहित्य पुरस्कार प्रदान गर्दै आएको छ। पुरस्कारको राशि ५० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ। 

अन्तर्राष्ट्रिय परदेशी साहित्य समूहले प्रकाशन गरेको बारुदले कोरेका अक्षरहरुमा ३८ कविता संग्रहित छन्। यी

कविता मुख्य गरी सैनिक जीवन, सेनामा सेवारत रहँदा देखे–भोगेका युद्धका विभीषिका र तिनले निम्त्याउने मानवताको विनाश, गोर्खाली सेनाको इतिहास, प्रेम, पीडा आशा, संघर्ष र परिवारसँगको बिछोड आदि विषयमा लेखिएका छन्।

राईका ‘विदेशी सिपाही’ (उपन्यास, २०५९) र  ‘दबिएका आवाजहरु ’ (कवितासंग्रह, २०६४) प्रकाशित छन्। राई सेवानिवृत भारतीय गोर्खा सैनिक हुन्। हाल अन्तर्राष्ट्रिय परदेशी साहित्य समूहका उपाध्यक्ष तथा विश्व नेपाली साहित्य महासंगका केन्द्रीय सदस्य छन्।

युद्ध साहित्य पुरस्कार २०७८ सालमा पहिलोपटक केदार संकेतको उपन्यास ‘अफगानी रणमैदान’लाई प्रदान गरिएको थियो। युद्ध साहित्यका अभियन्ता गणेश राई, काङमाङ नरेश राई र अप्जसे कान्छाले युद्ध साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले २०७८ सालमा पुरस्कारको स्थापना गरेका हुन्।