भारतीय विदेशसचिव मिश्रीले लगाएको उपरखुट्टीको अर्थ के हो?

प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा मिश्रीले उपरखुट्टी लगाएर बसेको तस्वीर बाहिरिएपछि सामाजिक सञ्जाल तरंगित बन्यो। भेटघाटका अजेन्डाभन्दा पनि सो तस्वीर नै चर्चा र टीकाटिप्पणीको केन्द्रमा रह्यो।

काठमाडौँ– भारतीय वायुसेनाको विशेष विमानमार्फत आइतबार काठमाडौँ उत्रिएका भारतीय विदेशसचिव विक्रम मिश्री त्यहाँबाट बत्तिसपुतलीस्थित द्वारिकाज होटल पुगे। होटलमा आराम गर्ने उनीसँग समय थिएन।

एकैछिनमा द्वारिकाजबाट निस्किएका मिश्रीले सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरे। लगत्तै राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटे।

सामान्यतया यस्ता उच्चस्तरीय भेटमा के विषयमा छलफल भयो भन्ने सार्वजनिक चासो हुन्छ। तर यसपटक त्यस्तो भएन। बरु प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा मिश्रीले उपरखुट्टी लगाएर बसेको तस्वीर बाहिरिएसँगै सामाजिक सञ्जालमा त्यसैको चर्चा हुन थाल्यो।

राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले यसलाई भारतको हेपाहा प्रवृत्ति र कूटनीतिक मर्यादाविपरीतको गतिविधि भन्दै आलोचना गरे। नेकपा एमालेका सांसद दयालबहादुर शाहीले फेसबुकमा लेखेका छन्, “यस्तो उपरखुट्टी ब्युरोक्रेसी यूएसए र रुसजस्ता महाशक्तिसँग पनि छैन। के भारत युरोप र अमेरिकाभन्दा संस्कारको हिसाबले पनि कंगाल हो त?”

एमाले नेता महेश बस्नेतले पनि मिश्री उपरखुट्टीको सम्मानजनक नभएको टिप्पणी गरेका छन्। “…हाम्रो संस्कृति र कूटनीतिक शिष्टाचारमा यसलाई सम्मानजनक व्यवहार मानिँदैन। प्रधानमन्त्री वा राष्ट्रप्रमुखसँग भेट्दा संयमित आसन, सम्मानयुक्त भंगिमा र मर्यादित व्यवहार अपेक्षित हुन्छ,” बस्नेतले फेसबुकमा लेखेका छन्, “कूटनीतिक सम्बन्धमा आचरण र शिष्टताले नै मित्रताको गहिराइ देखाउँछ भन्ने कुरा नबिर्सौं।”

विदेशसचिव मिश्रीसहितको टोली वायुसेनाको विशेष उडान नम्बर आईएफसी ३१ मा बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको थियो। टोलीमा भरतीय विदेश मन्त्रालयको उत्तरी डेस्कप्रमुख तथा सहसचिव मुनु महावार र अतिरिक्त सचिव तुषारअन्शु शर्मा थिए। उनीहरू प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्न आएका थिए।

null

मिश्री २०८१ साउन २७ गते पनि तत्कालीन नेपाली समकक्षी सेवा लम्सालको निमन्त्रणामा दुई दिनका लागि काठमाडौँ आएका थिए। त्यस बेला पनि परराष्ट्रसचिव तहमा एक घण्टाको औपचारिक वार्ता सकेर बाँकी समय राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, शहरी विकासमन्त्री, गृहमन्त्रीलगायत सरकारी अधिकारी र विपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री लगायतसँग भेट्नमै बिताएको भन्दै उनको आलोचना भएको थियो।

कूटनीतिज्ञ भन्छन्: उपरखुट्टी अपमानजनक ‘जेस्चर’
पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले भारतीय विदेशसचिव मिश्रीले प्रधानमन्त्री ओलीका अगाडि उपरखुट्टी लगाएर बसेकोलाई अशिष्ट शैलीको रूपमा हेरेका छन्। उनका अनुसार आफूभन्दा माथिल्लो दर्जाका व्यक्तित्वका अगाडि उपरखुट्टी लगाएर बस्नुलाई कूटनीतिक मर्यादाविपरीत मानिन्छ।

“साधारणतया प्रोटोकलअनुसार यसलाई अशिष्टताको परिचय मानिन्छ। फेरि कतिको बानी नै हुन्छ त्यसरी बस्ने,” श्रेष्ठ भन्छन्, “हामीकहाँ प्राय: भारतीयले यस्तै अशिष्टता देखाएका छन्। उपरखुट्टी लगाएर केही संकेत नगरे पनि औपचारिक रूपमा यसलाई सभ्य मानिँदैन। आफूभन्दा अग्रजसँग बस्दा अदबका साथ बस्नुपर्छ।”

परराष्ट्र मामिलाका जानकार एवं कूटनीतिक शिष्टाचार र प्रोटोकलबारे दस्ताबेज लेखेका डमरुवल्लभ पौडेल पनि कूटनीतिक भेटवार्तामा उपरखुट्टी स्वीकार्य नहुने बताउँछन्। उनका अनुसार कूटनीतिक भेटघाटमा उपरखुट्टीले अपमान र अभद्रताको अर्थ दिन्छ। उनले दस्ताबेजमा लेखेका छन्, “औपचारिक बैठकमा खुट्टा फराकिलो पार्नु, उपरखुट्टी लगाएर बस्दा जुत्ता देखाउनु र फर्निचरतिर ढल्किनु अनादर र हेपेको महसुस गराउनु हो।”

पूर्व शिष्टाचार महापाल तथा पूर्वराजदूत मधुवन पौडेलले भने यसलाई अन्यथा लिन नहुने तर्क गर्छन्। कुनै कूटनीतिज्ञले नियतवश उपरखुट्टी लगाएर नबस्दा यसलाई सामान्य रूपमै लिनुपर्ने उनी बताउँछन्। “कहिलेकाहीँ खुट्टा दुखेर पनि उपरखुट्टी लगाएको हुनसक्छ। यसलाई अपमानजनक व्यवहारको रूपमा लिनुहुँदैन,” पौडेल भन्छन्, “तर कूटनीतिक मापदण्डमा यसलाई शोभनीय मानिँदैन।”

एक पूर्व परराष्ट्रसचिवका अनुसार तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादव, मुख्यसचिव माधव घिमिरे र परराष्ट्रसचिव मदन भट्टराईका पालामा कूटनीतिक आचारसंहिता बनाइएको थियो। तर कूटनीतिक संयन्त्र र सरकारकै चासो नहुँदा आचारसंहिताको फाइल मन्त्रालयको दराजमै थन्किएको छ। 

null

विगतमा पनि आलोचना
भारतीय कूटनीतिज्ञले प्रधानमन्त्री ओलीका अगाडि उपरखुट्टी लगाएर भेटवार्ता गरेको यो पहिलो घटना होइन। २०७२ सालमा नयाँ संविधान बनेसँगै पहिलो पटक प्रधानमन्त्री बन्दा पनि ओलीलाई भेट्न पुगेका तत्कालीन भारतीय राजदूत रञ्जित रेले उपरखुट्टी लगाएका थिए। उक्त भेटवार्ता ओली र रेबीच प्रधानमन्त्री कार्यालयमा नभई कुनै गोप्य कोठामा भएको थियो। त्यति बेला बैठकको मुख्य उद्देश्य भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण थियो। 

२०६७ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसँग भारतीय राजदूत राकेश सुद पनि उपरखुट्टी लगाएर संवाद गरिरहेको तस्वीर बाहिरिएको थियो। त्यति बेला सुदले राजदूतकै हैसियतमा नेपाललाई हेपेको भन्दै उनको आलोचना भएको थियो।

गत वैशाख २५ गते भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) उपाध्यक्ष भगत सिंह कोश्यारी पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनकै निवासमा भएको भेटमा खुट्टामाथि खुट्टा चढाएर बसेका थिए।