झापामा करेन्ट लागेर एक वर्षमा १५ जनाको मृत्यु

करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको छ।

झापा– मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको सोमबार राति करेन्ट लागेर मृत्यु भएको छ। 

बिग्रिएको टेबल पङ्खा मर्मत गर्ने क्रममा साँझ करेन्ट लागेर अचेत भएका उनको आम्दा अस्पताल धुलाबारीमा उपचारका क्रममा मृत्यु भएको हो। गत साउनमा मात्रै झापामा करेन्ट लागेर चार जनाको मृत्यु भएको थियो। 

झापाको ग्रामीण क्षेत्रमा विद्युत्‌को असुरक्षित प्रयोगका कारण करेन्ट लागेर हुने मृत्युको घटना बढेको छ। गत वर्ष मात्रै जिल्लामा करेन्ट लागेर १५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ। 

कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार यसरी मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका बासिन्दा छन्।

करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको उनले बताए। 

“अधिकांश मानिसमा विद्युतीय मोटर कसरी चलाउने भन्ने राम्रो ज्ञान छैन। अपूर्ण ज्ञान र सतर्कताको कमीका कारण करेन्ट लागेर मानिसले अकालमै मृत्युवरण गरिरहेका छन्,” उनी भन्छन्।