इलाम नगरपालिकाले सञ्चालन गरेको सामुदायिक आँखा अस्पताल बन्द

नगरपालिका आफैँले लाखौँ रुपैयाँको लगानीमा निर्माण गरी सञ्चालन गरेको अस्पताल बन्द भएपछि नगरवासीले नगरपालिका नेतृत्वको आलोचना गरेका छन्।

फिक्कल– इलाम नगरपालिकाले विगत चार वर्षदेखि सञ्चालन गरेको ‘इलाम सामुदायिक आँखा अस्पताल’ बन्द भएको छ। स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पतालको रूपमा इलाम नगरपालिका–९ सिंहबाहिनीमा सञ्चालित अस्पताल नयाँ आर्थिक वर्षको शुरूआतसँगै बन्द भएको हो।

विसं २०७८ पुस ७ गते उद्घाटन गरी चार वर्षसम्म सञ्चालन भएको आँखा अस्पताल नगरपालिकाले नै बन्द गरेको हो। बजारदेखि अस्पताल टाढा भएकाले सेवाग्राहीलाई अस्पताल पुग्न समस्या भएको भन्दै नगरपालिकाले अस्पताल बन्द गरेको हो।

सो अस्पतालमा शल्यक्रियाबाहेकको सबै सेवा प्रवाह भइरहेको थियो। अस्पतालमा सातौँ तहका एक जना नेत्र विशेषज्ञ, पाँचौँ तहको एक जना नेत्र सहायक, एक जना फार्मेसिस्ट र एक जना चस्मा बनाउने प्राविधिक कार्यरत थिए।

नगरपालिका आफैँले सञ्चालन गरेको ‘इलाम सामुदायिक आँखा अस्पताल’ बन्द गरेपछि नगरवासीले नेतृत्वको तीव्र आलोचना गर्दै पुनः अस्पताल सञ्चालन गर्न माग गरेका छन्। इलाम नगरपालिका–५ का निवर्तमान वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले अस्पताल बन्द गरिएको समाचारले नागरिकमा गलत सन्देश प्रवाह भएको भन्दै पुनः अस्पताल सञ्चालन गर्नुपर्ने माग गरे।

“अघिल्लो कार्यकालमा आँखासम्बन्धी रोगको सहज र सरल रूपमा उपचार पाउन भन्ने उद्देश्यले लाखौँको उपकरणको व्यवस्थापन गरी सञ्चालन गरिएको सामुदायिक आँखा अस्पताल अहिले बन्द हुनु दुःखद कुरा हो,” श्रेष्ठले भने, “यसले आम नागरिकहरूमा असुविधा प्रदान गरेको थियो, बाहिर सन्देश पनि राम्रो गएको छैन, त्यसैले तत्काल अस्पताल सञ्चालन गरी सेवा प्रवाह गर्न नगरपालिकालाई अनुरोध गर्दछु।”

इलाम नगरपालिका–७ का प्रकाश घिमिरेले नगरपालिकाले छुट्टै व्यवस्थापन गरी बृहत् सामुदायिक आँखा अस्पताल सञ्चालन गर्न लाग्नुपर्नेमा सञ्चालन भइरहेको अस्पताल समेत बन्द गरिनु जनस्वास्थ्यमाथि खेलबाड गरिएको टिप्पणी गर्नुभयो । उहाँले अघिल्लो कार्यकालको कामलाई निरन्तरता नदिँदा त्यतिबेला प्रयोग भएको स्रोतसधान खेर जाने भन्दै राम्रो कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

इलाम नगरपालिकाले सिंहबाहिनी खोल्सालाई व्यवस्थित गरेर निस्किएको ठाउँमा आँखा अस्पतालका लागि ६ कोठा भएको एकतले भवन निर्माण गरेको थियो। नगरपालिकाले ५७ लाख ९० हजार रुपैयाँको लागतमा भवन समेत निर्माण र उपकरण जडान गरी आँखा अस्पतालको सेवा शुरू गरेको थियो। अस्पताल बन्द भएपछि अहिले तत्कालीन इलाम सामुदायिक आँखा अस्पतालको भवन प्रयोगविहीन भएको छ।

नगरपालिकाले आँखा अस्पताल सञ्चालन र व्यवस्थापनको लागि स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरेको थियो। कार्यविधिले नगरपालिकाकी उपप्रमुखको अध्यक्षतामा सञ्चालक समिति गठन हुने व्यवस्था गरेको छ।

यता इलाम नगरपालिकाले भने आफैँले सञ्चालन गरेको ‘सामुदायिक आँखा अस्पताल बन्द’ गरेपछि पनि इलाम अस्पतालसँगको सहकार्यमा सेवाग्राहीलाई नियमित सेवा प्रवाह गरिरहेको जनाएको छ। इलाम अस्पतालबाटै सेवा प्रवाह हुने गरी व्यवस्था मिलाइएको अस्पताल सञ्चालक समिति अध्यक्ष समेत रहेकी इलाम नगर उपप्रमुख विष्णुकुमारी लिम्बूले बताए।

“हाम्रो सामुदायिक आँखा अस्पताल बजारबाट अलि टाढा भएकाले सेवाग्राही आउन नै समस्या भयो, सेवाग्राही आउनै समस्या भएपछि अस्पताल सञ्चालन गर्न समस्या भयो,” उपप्रमुख लिम्बूले भने, “हामीले इलाम अस्पतालसँग सम्झौता गरी त्यहीँबाट सबै सेवा प्रवाह गर्ने व्यवस्था मिलाएका छौँ।”

इलाम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले कोही प्रदेश सरकार स्वास्थ्य मन्त्रालयकै अनुमतिमा इलाम अस्पतालसँग सम्झौता गरेर त्यहीँ आँखा अस्पताल सञ्चालन गरिएको बताए। एक जना नेत्र विशेषज्ञको पारिश्रमिक नगरपालिकाले भुक्तानी गर्ने र अन्य सबै इलाम अस्पतालको मातहतमा रहने गरी सम्झौता भएको उनले बताए।

“हामीले एक जना नेत्र विशेषज्ञको पारिश्रमिक हामीले दिने र बाँकीको इलाम अस्पतालले नै दिने गरी सम्झौता गरिएको छ,” प्रमुख प्रशासकीय अधिकृत खड्काले भन्ने, “सम्झौताअनुसार सबै उपकरण इलाम अस्पताललाई हस्तान्तरण गरिसकिएको छ, त्यहीँबाट सेवा प्रवाह भइरहेको छ।”

अहिले इलाम अस्पतालको बहिरंग शाखाको एउटा सानो कोठामा आँखा अस्पताल सञ्चालन हुँदै आएको छ। इलाम अस्पताल ‘इलाम सामुदायिक आँखा अस्पताल’बाट करिब एक किलोमिटरको दूरीमा अवस्थित छ।