जापानिज इन्सेफलाइटिस‍्बाट ६३ जना संक्रमित, ११ को मृत्यु

स्वास्थ्य सेवा विभागका अनुसार सन् २०२५ मा नेपालमा जापानिज इन्सेफलाइटिस‍्बाट हालसम्म ११ जनाको मृत्यु भएको छ र ६३ जना संक्रमित भएका छन्।

काठमाडौँ – सन् २०२५ मा नेपालमा जापानिज इन्सेफलाइटिस‍्बाट हालसम्म ११ जनाको मृत्यु भएको छ र ६३ जना संक्रमित भएका छन्।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, मृत्यु हुनेमा तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक/एक जना, तथा चितवनका तीन जना रहेका छन्। मृतकहरूमध्ये एक जना आठ वर्षका, एक जना १७ वर्षका र बाँकी नौ जना ४० वर्षभन्दा माथिका छन्।

डा. गौतमले ३० प्रतिशतको घरमै र २७ प्रतिशतको अस्पताल पुग्दापुग्दै मृत्यु भएको बताए। सन् २०२४ मा यसबाट ८६ जना संक्रमित भएका थिए भने २५ जनाको ज्यान गएको थियो।

उनले अधिकांश खोप नलगाएका व्यक्तिमा जापानिज इन्सेफलाइटिस् संक्रमण देखिएको बताए। “हालसम्म २४ जिल्लामा ५० वटा स्थानीय तहमा यसको देखिएको छ। २४ वटा स्थानीय तहलाई उच्च जोखिमको रूपमा लिइएको छ। यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ,” डा गौतमले भने।

उनका अनुसार नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफलाइटिस‍्विरुद्धको खोप लगाइ सकिएको छ।

रोग सर्ने माध्यम र जोखिम
चिकित्सकहरूका अनुसार जापानिज इन्सेफलाइटिस् मस्तिष्कमा संक्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो। यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ।

धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा संक्रमणको जोखिम बढी हुने गरेको बताइन्छ।

जापानिज इन्सेफलाइटिस् गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुनसक्ने डा. गौतमले बताए। यसबाट जुनसुकै उमेरका मानिस संक्रमित हुने भए पनि धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिने गर्दछ।

यो संक्रमित हाँस, कुखुराजस्ता चराचुरुंगी र सुँगुर–बंगुरजस्ता जनावरलाई टोकेका संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने गर्दछ। मानिसबाट मानिसमा भने सर्दैन।