साफ महिला च्याम्पियनसिप: नेपाल भारतसँग पराजित

साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग ७–० गोलअन्तरले पराजित भएको हो।

काठमाडौँ– दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित भएको छ। 

भुटानको थिम्पुस्थित चाङिलमिथाङ रंगशालामा आज भएको खेलमा भारतसँग नेपाल ७–० गोलअन्तरले पराजित भएको हो। भारतले खेलको पहिलो हाफमा पाँच गोल गर्यो भने दोस्रो हाफमा दुई गोल थप्यो।

भारतको जितमा अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारीले समान दुई/दुई गोल गरे भने जुलन नोन्गमाइथिमले एक गोल थपिन्।

डबल राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न चार टोलीले सहभागिता जनाएका छन्। जसमा आयोजक भुटानसहित नेपाल, भारत र बांग्लादेश छन्। अब नेपालले शुक्रबार भुटानसँग खेल्नेछ।