बजेट अपुग भएपछि किसानलाई ‘स्यालो ट्युबवेल’ वितरण कार्यक्रम स्थगित

मधेश प्रदेश सरकारले किसानलाई वितरण गर्ने भनिएको स्यालो ट्युबवेलका लागि बजेट अपुग हुने भएपछि हालका लागि कार्यक्रम स्थगित गरिएको छ।

काठमाडाैँ– ‘सुक्खा क्षेत्र सहयोग कार्यक्रम’ मार्फत मधेश प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई वितरण गर्ने भनिएको स्यालो ट्युबवेलका लागि बजेट अपुग हुने भएपछि हालका लागि कार्यक्रम स्थगित गरिएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १८ करोड बजेट विनियोजन गरी एक हजार २०० स्यालो ट्युबवेल वितरण गर्ने योजना बनाएर आवेदन माग गरेको थियो। सो ट्युबवेलका लागि २४ हजार ७७४ किसानले आवेदन दिएका थिए।

मन्त्रालयले सातदिने सूचना प्रकाशित गरी ट्युबवेल प्राप्त गर्न चाहने किसानले कम्तीमा दुई बिघा खेतीयोग्य जमिनको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा बुझाउनुपर्ने प्रावधान राखेको थियो।

किसानको अत्यधिक आवेदन परेपछि बजेट अपुग हुने देखिएकाले कार्यक्रम नै स्थगित गरिएको जनाइएको छ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत अभिनाश झाले आवेदन अपेक्षाभन्दा तीनगुणा बढी आएकाले बजेटले नभ्याउने हुँदा हाललाई कार्यक्रम स्थगित गरिएको जानकारी दिए।

अधिकृत झाले भने, “मागअनुसार बजेट निकै कम छ। अब कसलाई वितरण गर्ने र कसलाई नगर्ने भन्ने दोधारमा छौँ, त्यसैले यस कार्यक्रमका लागि संघीय सरकारसँग थप सहयोग माग्ने योजना रहेकाले हालका लागि स्थगित गरिएको छ।”

एउटा स्यालो ट्युबवेल जडान गर्न एक लाखदेखि तीन लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ। ट्युबवेलमा सौर्य ऊर्जा प्रणाली जडान गर्दा थप लागत लाग्छ भने पानीको सतह कति छ भन्ने कुराले पनि खर्च निर्धारण गर्छ।