दार्चुला जिप दुर्घटनामा एक जनाको मृत्यु, गम्भीर घाइतेलाई धनगढी पठाइँदै

दार्चुलाको नौगाड गाउँपालिकामा बिहीबार बिहान भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

खलंगा– दार्चुलाको नौगाड गाउँपालिकामा बिहीबार बिहान भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार, नौगाड गाउँपालिका–४ होपरीमा दुर्घटना हुँदा गम्भीर घाइते भएकी २५ वर्षीया गर्भवती महिला पार्वती टमटाको मृत्यु भएको हो।

दुर्घटनामा अन्य केही व्यक्तिहरू घाइते भएका छन्। सामान्य घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। तीन जना गम्भीर घाइतेलाई थप उपचारका लागि धनगढी पठाउने तयारी भइरहेको अस्पतालले जनाएको छ।

प्रहरीले जिप चालक लोकेन्द्रसिंह ठगुन्नालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।